पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका वडानम्बर १ गूर्जामा सोमबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अमेरिकाको आयोजना, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको व्यवस्थापन, नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वय तथा आई केयर फाउण्डेशनको सहयोगमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।
गूर्जा स्वास्थ्यचौकीको प्राङ्गणमा सम्पन्न शिविरमा कुल १ सय ३ जनाले आँखा परीक्षण गर्नुका साथै उनीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको नेत्रज्योति संघ म्याग्दीले जनाएको छ । शिविरमा ५९ जना महिला र ४४ जना पुरुषको आँखा चेकजाँच गर्नुका साथै परार्मश सेवा पनि उपलब्ध गराइएको थियो । तीमध्ये विभिन्न ५ जनामा मोतियाविन्दुको समस्या देखिएको पाइएकाले उनीहरुको लमसुङमा आयोजित बृहत शिविरमा शल्यक्रिया गरिने भएको छ ।

शिविरमा नेत्रज्योति संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले सर्वसाधारण बिरामीको आँखा चेकजाँच गरी आवश्यक परामर्श सेवा समेत प्रदान गर्नुभएको थियो । निःशुल्क आँखा परीक्षण शिविरमा गूर्जा स्वास्थ्यचौकीका प्रमुख लक्ष्मणकुमार महर तथा स्वास्थ्यकर्मीद्वय सुस्मिता ओली र जगदेवी घर्तीले बिरामीहरुको नामदर्ता, भिजन चेकजाँच गर्नुका साथै उनीहरुलाई औषधीसहित चस्मा वितरण गर्नुभएको थियो । शिविरमा आँखाको चेकजाँच तथा परीक्षण गर्न आएका ज्येष्ठनागरिक बिरामीलाई नामदर्ता गरेको पूर्जा दिएर गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालबाट औपचारिक रुपमा शिविर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै वडाध्यक्ष छन्त्यालले विगत लामो समयदेखिको प्रयासपछि गूर्जा गाउँमै निःशुल्क रुपमा आँखाका बिरामी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएकाले स्थानीयवासीहरु लाभान्वित भएको बताउनुभयो । उहाँले गूर्जावासीलाई गाउँघरमै आँखा शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्नका लागि वडा र पालिकामार्फत जिल्लास्थित विभिन्न संघसंस्थाहरुसँग आफूले आवश्यक पहल गरेको बताउँदै शिविर सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । आगामी दिनमा पनि गूर्जा गाउँमै आँखा शिविरलगायत स्वास्थ्यसम्बन्धी शिविरहरु समेत सञ्चालनमा निरन्तरता दिइने उहाँको भनाइ छ ।

मोना आईईसीका संरक्षक तथा नेत्रज्योति संघ म्याग्दीका सदस्य सुवासकुमार श्रेष्ठले मोनामार्फत म्याग्दी जिल्लाको विभिन्न स्थानमा शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा सहयोग गरिएको बताउनुभयो । मोनाका प्रतिनिधि भक्त सिंकिजाले विगतमा आफू प्रवासमा रहँदा पनि जिल्लाका लागि धेरै काम गरिएको बताउँदै अहिले दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । नेत्रज्योति संघ जिल्ला शाखाका सभापति अमर बानियाँले समुदायस्तरबाट अन्धोपन निवारण गर्ने उद्देश्यसहित गूर्जामा धेरै लामो प्रयासपछि आँखा सम्बन्धी शिविर कार्यक्रम ल्याउन सफल भएको जानकारी दिनुभयो ।

सभापति बानियाँले मानव शरिरमा रहेका अङ्गहरुमध्ये सबैभन्दा महत्वपूर्ण अङ्ग आँखा भएकाले आँखामा दृष्टिको संरक्षण गर्न गूर्जावासीलाई लक्षित गरेर शिविर ल्याइएको बताउनुभयो । शिविरको उद्घाटनसत्र नेत्र अधिकृत बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरी मुदीमा पनि बुधवार आँखाको स्क्रिनिङ क्याम्प गरी बिरामी पहिचान गरेर लमसुङमा ८ गते हुने शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा मोतियाविन्दुको अप्रेशन गरिने भएको छ ।




