• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

साउन १९, २०८२ सोमबार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सोमबार विद्यालय तहमा अध्यापनरत शिक्षकहरुलाई लक्षित गरेर आधारभूत आँखा स्वास्थ्य सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आयोजना, नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र बेनी नगरपालिकाको सहयोग तथा आईकेयर फाउन्डेशनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

शिक्षकहरुमार्फत समुदायमा आँखाको हेरचाह तथा सुरक्षाको विषयमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । तालिम उद्घाटनको सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत नेत्रज्योति संघ म्याग्दीसँगको सहकार्य तथा समन्वयमा नगर क्षेत्रमा आँखा शिविरलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले मानव स्वास्थ्यको सबैभन्दा महत्वपूर्ण अङ्ग आँखा भएकाले संसार देख्ने आँखालाई स्वच्छ र स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउँदै शिक्षक तथा बालबालिकाहरुको सहयोगमा समुदायमा आँखाको हेरचाहको बारेमा सचेतना फैलाउनुपर्ने बताउनुभयो । तालिममा आँखा सम्बन्धी प्राथमिक चिह्न, सुरक्षाका उपायहरु, प्रारम्भिक परीक्षणका तरिका, उपचारका विधि, आँखा सम्बन्धी समस्या देखिएमा उपचार तथा रिफर गर्ने प्रक्रियालगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँको अध्यक्षता र नेत्रज्योति संघ हिमालय आँखा अस्पताल घारीपाटन पोखराका नेत्र अधिकृत तथा तालिमका प्रमुख प्रशिक्षक गोविन्दनाथ योगीको सञ्चालनमा सम्पन्न तालिमको उद्देश्यमाथि नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका बाह्य कार्यक्रम संयोजक तथा तालिमका प्रशिक्षक सुभास नेपालले प्रकाश पार्नुभएको थियो ।

एक दिनको आधारभूत आँखा स्वास्थ्य तालिम कार्यक्रममा बेनी नगरपालिका क्षेत्र भित्रका विभिन्न २७ जना शिक्षकहरुले सहभागिता जनाएका थिए । नेत्रज्योति संघ म्याग्दी शाखाले जिल्लाको विभिन्न स्थानमा पुगेर आँखा शिविरलगायत तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको आँखा उपचार केन्द्र बेनी म्याग्दीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।