• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असोज २१, २०८२ मङ्गलवार । रुप्से न्यूज

म्याग्दी– म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको १५औं अधिवेशनबाट अध्यक्षमा दिनेश कार्की निर्वाचित हुनुभएको छ । दक्षिण कोरियामा आइतबार सम्पन्न अधिवेशनबाट म्याग्दीको बेनी नगरपालिका–५, डडुवा निवासी कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश बोगटी, उपाध्यक्षमा राहुल छन्त्याल, महासचिवमा प्रेम भण्डारी, सचिवमा अंकित पुनमगर र कोषाध्यक्षमा भगवान कार्की निर्वाचित हुनुभएको मोना दक्षिण कोरियाले जनाएको छ । यसैगरी सदस्यहरुमा राजेन्द्र शाही, आर्यन खड्का, प्रदीप बानियाँ, अर्जुन भण्डारी, कबिता पुन, गंगा पुन, चन्दा घर्तीमगर, मनु पूर्जा र रमेश कार्की सर्वसम्मत चयन हुनुभएको महासचिव भण्डारीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै संस्थाका संरक्षक विनोद कुँवरले कोरियामा मोनामार्फत समस्यामा परेका म्याग्देलीहरुको उद्धार तथा सहयोग गर्ने, खेलकुदसहित विभिन्न रचनात्मक कार्यहरु भैरहेको बताउनुभयो । उहाँले विदेशमा सिकेको ज्ञान, सिप र पूँजीलाई स्वदेशमा लगेर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा विशिष्ट अतिथि खाङ्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययन विभाग प्रमुख प्रा.डा. बोजिन्द्र तुलाचनले कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित मोनाले सबै म्याग्देलीहरुलाई समेट्नुपर्ने बताउनुभयो ।

अधिवेशनको अवसरमा गण्डकी प्रदेश समितिका अध्यक्ष निरकुमार गुरुङसहित कोरियामा रहेका क्रियाशील सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटनसत्र निवर्तमान अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षता, उपाध्यक्ष गणेश बोगटीको स्वागत र महासचिव दिनेश कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो भने सल्लाहकारद्वय सुमन पौडेल र तुल घर्ती मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

निर्वतमान अध्यक्ष भण्डारीले आफ्नो कार्यकाललाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । साथै नवनिर्वाचित अध्यक्ष कार्कीले कोरियामा रहेका सबै म्याग्देलीहरुलाई मोनाको सदस्यता लिन आग्रह गर्दै सबैलाई मिलएर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । सोही क्रममा भलिबल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।