• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कात्तिक १३, २०८२ बिहीबार । रुप्से न्यूज

म्याग्दी– पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्य रोजाइमा परेको म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा पुगेका सबै पर्यटकहरु सकुशल फर्किएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको आधारशिविर गएका सबै पर्यटकहरुलाई फर्काइएका हो ।

पर्यटक आगमनको हव बनेको अन्नपूर्ण प्रथम हिमालको आधारशिविर पुगेका पर्यटकहरुलाई मौसम प्रतिकूल बनेपछि सम्भावित सुरक्षा जोखिमको आँकलन गरी सुरक्षाकर्मी र उद्धारकर्ताको सहयोगमा सुरक्षित स्थानमा फर्काइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । तिहारलगत्तै अन्नपूर्ण आधारशिविरको भ्रमणमा पुगेका आन्तरिक र बाह्य पर्यटकहरुलाई जिल्लास्थित प्रहरी, प्रशासन र पालिकाको समन्वयमा फर्काइएको छ ।

मौसममा आएको परिवर्तनसँगै गएको सोमबारदेखि हिमपात पर्न थालेपछि पर्यटकको उद्धार र सहयोगका  लागि सोमबारै सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर म्याग्दीबाट प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा ७ जना सशस्त्र प्रहरी, ३ जना नेपाल प्रहरी र दानाका उद्धारकर्मी ईन्द्रसिङ शेरचनसहित ११ जनाको उद्धार टोली अन्नपूर्ण आधारशिविरतर्फ गएको थियो । उक्त टोलीले आधारशिविर आसपासको क्षेत्रमा डोरी टाँगेपछि हिउँ पन्छाएर बाटो बनाउँदै भ्रमणमा पुगेका पर्यटकहरुलाई सकुशल फिर्ता गराएको हो ।


म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अन्नपूर्ण आधारशिविर पुगेको उद्धारकर्मीको टोलीले आवश्यक सहजीकरण गरी १७ जना विदेशीसहित कुल १ सय ८२ जनालाई सकुशल फिर्ता गराएर सुरक्षित स्थानमा ल्याइएको जानकारी दिनुभयो । अन्नपूर्णको भ्रमणमा गएका सबै आन्तरिक र बाह्य पर्यटकहरुलाई सकुशल फिर्ता गराएपछि अहिले पदमार्ग र आधारशिविरमा पर्यटक नभएको उहाँले बताउनुभयो । मौसम प्रतिकूल बनेपछि शुक्रवारसम्म जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण आधारशिविरको भ्रमणमा रोक समेत लगाएको छ ।

मौरिस हर्जोग पदमार्ग हुँदै यही कात्तिक १० र ११ गते आधारशिविरको ४ हजार ९० मिटरको उचाइमा अवस्थित पञ्चकुण्डतालमा पुगेका आन्तरिक र बाह्य पर्यटकहरुलाई सकुशल रुपमा फर्काएर सुरक्षित स्थानमा ल्याइएको सहजीकरणमा खटिनुभएका अन्नपूर्ण–३, दानाका पर्यटन व्यवसायी तथा उद्धारकर्मी ईन्द्रसिङ शेरचनको भनाइ छ । तीन दिनदेखिको निरन्तरको वर्षा र हिमपातका कारणले आधारशिविर तथा पदमार्गको विभिन्न स्थानमा समस्या झेलेका पर्यटकहरुलाई सुरक्षाकर्मीसहितको टोलीले आवश्यक सहजीकरण गरी मौरिस हर्जोग पदमार्ग अन्तर्गत सुरुको प्रस्थानविन्दु हुमखोलासम्म ल्याएर छाडेको हो ।

आधारशिविरमा भारी हिमपातको कारणले ४ हजार ९० मिटरको उचाइमा रहेको पञ्चकुण्डताल र ३ हजार ७ सय मिटरको भुस्केटमेलामा रहेका पर्यटकहरु समस्यामा परेका थिएभने पदमार्गमा परेको बाक्लो हिमपातले पदमार्ग पहिचान गर्न समस्या भएपछि उनीहरु बीच बाटोमै रोकिएका थिए । पदमार्गमा डोरी टाँग्ने र बाटोको हिँउ पन्छाएर यात्रालाई सहज बनाइएएको उद्धारकर्मी शेरचनले बताउनुभयो ।

सुरक्षाकर्मी र उद्धारकर्ताको सहयोगले आधारशिविर तथा पदमार्गको विभिन्न स्थानका होटलहरुबाट सबै पर्यटकहरुलाई बिहीबार हुमखोला झारिएको र उनीहरु सबै सकुशल रहेका छन् । वर्षा र हिमपात नरोकिँदासम्म जोमिख मोलेर अन्नपूर्ण आधारशिविरको पदयात्रामा नजान पर्यटकलाई प्रजिअ तिवारीले सुझाव दिनुभयो ।