• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कात्तिक २२, २०८२ शनिवार । रुप्से न्यूज

म्याग्दी– राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा एकराज चापागाईँ सर्वसम्मत निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न २१औं वार्षिक साधारण सभा तथा ८औं जिल्ला अधिवेशनबाट चापागाईँको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा देवी जिसी, द्वितीय उपाध्यक्षमा सुनिल बानियाँ, महिला उपाध्यक्षमा खिमा पुन, सचिवमा करण कँडेल, कोषाध्यक्षमा शंकर पौडेल, सहसचिवमा विजय परियार, सहकोषाध्यक्षमा पञ्चमाया पुन र प्रवक्तामा रमेशबिक्रम रत्न निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा गरिमा परियार, सीमा किसान, कृष्णराज पौडेल, भूवन ल्वागुन, कुलराज शर्मा, दुर्गा रोका, दिलु मगर, मिलन शेरबुजा, निशा भण्डारी, सञ्जु भण्डारी र मनोनित सदस्यमा सञ्जय कुँबर चयन हुनुभएको छ ।

यसअघि ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित आयोजित साधारण सभा तथा अधिवेशनको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि अधिवेशनमा सम्बोधन गर्दै उहाँले म्याग्दी जिल्ला लोक सङ्गीतको उर्वर भूमी भएको बताउनुभयो । कलाकारले आफ्नो क्षेत्रबाट समेत जिल्लालाई चिनाउन सक्ने र चिनाइरहेको बताउँदै संस्थागत विकासका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहालले स्थानीय तहले दोहोरीगीत प्रतिष्ठान म्याग्दीलाई जग्गा व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो । अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशका महिला उपाध्यक्ष मञ्जु विक, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, प्रतिष्ठान म्याग्दीका सल्लाहकार नेत्रबहादुर महत, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय संस्थापक सदस्य एवं लोक गायिका धनकुमारी थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सञ्चारिका समूह म्याग्दीका अध्यक्ष देवी जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभा तथा अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट लोक सङ्गीतको क्षेत्रमा योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतम, शैक्षिक क्षेत्रबाट माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय बेनीका प्रिन्सिपल राजु केसी, लोक तथा गायन क्षेत्रमा चर्चित यूवा गायक प्रकाश दुतराज र गण्डकी लोकतारामा उत्कृष्ट विजय परियारलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको यिथो ।

उद्घाटनसत्रको कार्यक्रममा प्रतिष्ठानको तर्फबाट सहसचिव करण कँडेलले प्रगति र कोषाध्यक्ष शंकर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठान म्याग्दीका अध्यक्ष धुर्व जिसीले आफ्नो कार्यकालमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । कार्यक्रम अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष चापागार्इँको स्वागत र सहसचिव कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतिष्ठान म्याग्दीले गीत सङ्गीतसँगै सामाजिक एवं मानवीय सेवाका साथै विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।