• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस ११, २०८२ शुक्रवार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको डडुवामा सञ्चालित ज्योति आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ । शुक्रवार विद्यालयद्वारा आयोजित अभिभावकहरुको एक भेलाबाट तोकबहादुर कार्कीको अध्यक्षतामा विद्यालयको नयाँ व्यवस्थापन समिति पुनर्गठन गरिएको हो ।

पुनर्गठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सावित्रा भण्डारी, गीता पाईजा, सृष्टि पाईजा, सुस्मिता खत्री, यज्ञबहादुर कार्की, डम्मर बानियाँ, आकाश परियार तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मिनबहादुर खत्री रहनुभएको विद्यालयले जनाएको छ । यसैगरी सोही भेलाले निर्मला बानियाँको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।

संघको सदस्यहरुमा साधना भण्डारी, कञ्चन विक, टिका गिरी, उजेली विक, लालबहादुर दर्जी, शोभा पाईजा, नरमाया पाईजा, अम्मी अर्मजा, पदेन सदस्यमा विव्यस अध्यक्ष कार्की र प्रअ खत्री रहनुभएको छ । वि.सं. २०१७ सालमा स्थापना भएको यस ज्योति आधारभूत विद्यालयमा हाल १० जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । अहिले २८ जना छात्रा, २२ जना छात्रसहित कुल ५० जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको विद्यालयका शिक्षक पशुपति खत्री बानियाँले जानकारी दिनुभयो ।

अभिभावकहरुको भेला तथा कार्यक्रममा विद्यालयका प्रअ खत्रीले आर्थिक, शैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विव्यस पुनर्गठन कार्यक्रममा विद्यालयका पूर्व शिक्षक हाल जनकल्याण मावि पुलाचौरमा अध्यापनरत शिक्षक शिव बानियाँले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम विव्यस अध्यक्ष तोकबहादुर कार्कीको अध्यक्षता र शिक्षक भगवती शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । शिक्षा नियमावली अनुसार हरेक तीन वर्षको अन्तरालमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।