• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

हिमाली जिल्ला म्याग्दीमा यसवर्ष त्रिदिवसीय विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । संविधान दिवस मूल समारोह समिति म्याग्दीको आयोजनामा बिहीबार, शुक्रवार र शनिवार विभिन्न कार्यक्रमहरु आयोजना गरी सविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ मनाइएको हो ।

संविधान दिवसको अवसर पारेर बेनी नगरपालिका ४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय, ५ नम्बर वडा बगुवाखोलाको बालजागृति आधारभूत र रघुगंगा गाउँपालिका ३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत (फरक क्षमता) भएका विद्यार्थीहरुलाई उपयुक्त हुने खालका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको मूल समारोह समितिले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइको समन्वयकारी भूमिकामा बेनी नगरपालिका, एकीकृत सेवा कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको व्यवस्थापनमा उक्त सामग्रीहरु सोही विद्यालयमा पुगेर विद्यार्थीहरुलाई वितरण गरिएको छ । यसैगरी संविधान दिवस तथा राष्ट्रिय दिवस को दिन शनिवार साँझ जिल्ला सदरमुकाम बेनीमा दिप प्रज्ज्वलन गरिएको थियो । बेनी नगरपालिका–७, वीरेन्द्रचोकमा संविधान मूल समारोह समिति र गैरसरकारी संस्था महासंघ म्याग्दीको व्यवस्थापनमा दिप प्रज्ज्वलन कार्यक्रम गरी दिवस मनाइएको हो ।

दिप प्रज्ज्वलन कार्यक्रममा संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा निकाय, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी र गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि र सर्वसाधारणले सहभागिता जनाएका थिए । शनिवार बिहान वीरेन्द्रचोकमा मूल कार्यक्रम गरेपश्चात् विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर संविधान दिवस मनाउने निर्णयअनुसार शुक्रवार सरसफाइ, जिल्लाका तीन सामुदायिक विद्यालयका स्रोत कक्षा र नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा बालबालिकालाई लक्षित गरी खाद्यान्न, शैक्षिक तथा खेलकुदजन्य सामग्रीहरु सहयोग गरेर संविधान दिवस मनाइएको जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख खत्रीले बताउनुभयो । संविधान दिवसको दिन सरकारी तथा गैरसरकारी कार्यालय एवं घरघरमा दिप प्रज्ज्वलन समेत गरिएको थियो ।

दिवसको मुल कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेलले नेपालमा सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई थप संस्थागत गर्न सकिने बताउनुभयो । संविधानको पूर्ण कार्यान्वयन, सुशासन, विकास तथा समुन्नतिका लागि सबैको एकता, सहकार्य र साझा प्रयास आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति म्याग्दीका शाखा अधिकृत अमृत सुवेदीले गर्नुभएको थियो ।