म्याग्दी जेसीजको आयोजनामा हरेक वर्ष हुँदै आइरहेको अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता यसवर्ष पनि आगामी मसिंर महिनामा हुने भएको छ । २४औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिता मंसिरको १४ देखि १९ गतेसम्म सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालन गर्न लागिएको हो ।
म्याग्दी जेसीजको मूल आयोजनामा हुने फुटबल प्रतियोगिताको बारेमा बिहीबार जेसीज सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी समेत गराइएको छ । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका कोषाध्यक्ष प्रतिश श्रेष्ठको मूल संयोजकत्वमा विभिन्न २० वटा उपसमितिहरु गठन गरी प्रतियोगिताको आवश्यक तयारी सुरु गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले बताउनुभयो ।

प्रतियोगितालाई विगतको भन्दा भव्य बनाउने योजनामा रहेको बताउँदै अध्यक्ष विश्वकर्माले खेल प्रतिभालाई प्रोत्साहनसहितका कार्यहरुमा सधैँ सक्रिय रहने बताउनुभयो । प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५५ हजार पाँचसय ५५ र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ३५ हजार पाँचसय ५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, राईजिङ प्लेयर, उत्कृष्ट कोच र अनुशासित टिमलाई नगद दुईहजार पाँचसय र ट्रफीको व्यवस्था गरिएको मुल संयोजक प्रतिश श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सेमीफाईनलिष्ट दुईवटा टिमलाई नगद पाँचपाँच हजार र प्रत्येक खेलमा म्यान अफ् द म्याचको पुरस्कार पनि प्रदान गरिनेछ ।

अन्तरमाविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकोले यसपटक पनि उत्साहजनक उपस्थिति हुने शाखा अध्यक्ष विश्वकर्माले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्नको लागि कुल सातलाख ७४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव गोकुल सुनारले जानकारी दिनुभयो ।
म्याग्दीमा फुटबल खेलका खेलाडीहरु उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेटकिपरको रुपमा लिने गरिएको पाइन्छ । म्याग्दीमा फुटबल प्रतिभाको उत्पादनका लागि म्याग्दी जेसीजको योगदान रहेको छ । जिल्लाका हरेक विद्यालयमा रहेका फुटबल प्रतिभाले जेसीज कपलाई प्राथमिकता दिएर अभ्यास गर्ने गरेका छन् भने विद्यालयले प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।

यसैबीच म्याग्दी जेसीजको आयोजनामा यही असोज १८ गते साविक धौलागिरि अञ्चलस्तरीय १० किलोमिटर दौड प्रतियोगिता पनि सञ्चालन हुने भएको छ । नेपाल जेसीज क्षेत्र (ख)को राष्ट्रिय खेलकुद समितिको समन्वयमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन इच्छुकले असोजको १६ गतेसम्म अनलाइन माध्यमबाट नामदर्ता गराउन सक्ने प्रतियोगिताका संयोजक सुस्मा खत्रीले बताउनुभयो ।




