म्याग्दीको धवलागिरि गाउँपालिकाको मङ्गलवार पालिकाको केन्द्र मुनामा गाउँसभाको २७औं विशेष अधिवेशन सम्पन्न भएको छ । गाउँसभाको विशेष अधिवेशनबाट यसअघि गएको असार महिनामा चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याइएको बजेटमा थपेर पारित गरिएको हो ।
गाउँसभाले पूँजीगततर्फ विभिन्न योजनाहरुमा थप बजेट विनियोजनसहित चालु आवको कुल बजेट ४८ करोड ५२ लाख तीनहजार रुपैयाँबाट बढाएर ५४ करोड ५२ लाख तीनहजार रुपैयाँ पु¥याएको छ । गाउँसभाको विशेष अधिवेशनमार्फत गएको वर्षमा खर्च हुन नसकेको बजेटलाई चालु आर्थिक वर्षमा विभिन्न योजना र कार्यक्रम सञ्चालनका लागि छ करोड २० लाख रुपैयाँ बजेट थप गरी पारित गरिएको गाउँपालिकाले जनाएको छ ।
सभामा गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको संशोधित बजेट र ३ नम्बर वडाका वडा अध्यक्ष देवेन्द्र रोकाले प्रस्तुत गर्नुभएको विनियोजन ऐन संशोधन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । असारको गाउँसभाले पूँजीगततर्फ विभिन्न शीर्षकमा योजना र कार्यक्रमतर्फ १४ करोड छ लाख ८७ हजार रुपैयाँ विनियोजन गरेकोमा मङ्गलवारको विशेष अधिवेशनबाट थपेर त्यसलाई कुल १८ करोड १९ लाख ८७ हजार रुपैयाँ बजेट पु¥याइएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।
संशोधनसहित विनियोजित बजेट बेलिब्रिज तथा वडा कार्यालय भवन निर्माण, ढल व्यवस्थापन, शिक्षा, कृषि, पर्यटन, लक्षित वर्ग, कला, संस्कृतिलगायत क्षेत्रमा परिचालन गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो । उहाँका अनुसार संशोधित बजेट अन्तर्गत गूर्जामा वडा कार्यालय भवन निर्माणमा ५० लाख, दरखोलामा बेलिब्रिजका लागि ६० लाख, मराङको सानो र ठूलोखोलामा कल्भर्ट पुल निर्माणमा ७० लाख, मल्कबाङको खालीखोलामा कल्भर्ट पुलका लागि ६६ लाख, गूर्जाको जनकल्याण माविमा शौचालय निर्माण २० लाख, लुलाङको ढल व्यवस्थापन २५ लाख र मुना स्वास्थ्यचौकी घेराबारमा २५ लाख विनियोजन गरिएको छ ।

यसैगरी मुदी गाउँको ढल व्यवस्थापनमा ४१ लाख, हेम नमुना आवासीय माविको खोल्सामा बाढी नियन्त्रण गर्न ४० लाख, ताकम कोतमा शौचालय, खानेपानी योजना सञ्चालन र स्लेट ढुङ्गा छपाउन चारलाख, पर्यटनलक्षित व्यवसायीलाई तालिम र सामग्री वितरण तथा युवालक्षित सीप विकास तालिमका लागि २०÷२० लाख, गृहणी र आमा समूहको कार्यक्रमलाई २० लाख, कला संस्कृति संरक्षणमा १५ लाख, मागमा आधारित कृषि कार्यक्रम सञ्चालनमा पाँचलाख र नवप्रवर्तन तथा डिजिटल धवलागिरि अभियानमा पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
योजना र कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि तिहारलगत्तै योजनाहरुको सम्झौतासहित कार्यान्वयनको चरणमा अगाडि बढाइने योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षत्री सरुवा भएर पोखरा महानगरपालिका जान लाग्नुभएकोमा उहाँलाई विदाई समेत गरिएको थियो ।





