प्रताप बानियाँ
नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै म्याग्दीका गाउँघरहरु सयपत्री र मखमली फूलले सिङ्गारिएका छन् । तिहार पर्व सुरु हुन अब तीन दिनको समय बाँकी रहँदा गाउँका करेसाबारी, आँगन, खेतबारी, खाली पाखो र घर अगाडिका डिलमा ढकमक्क फुलेका रङ्गीचङ्गी फूलले सौन्दर्य बढाएको छ ।

दसैँ, तिहारजस्ता ठूला चाडपर्व मनाउन रोजगारीका लागि स्वदेश तथा विदेशमा पुगेका नेपालीहरु गाउँ फर्किने क्रम पनि बढ्दो छ । चाडपर्वको आगमनसँगै गाउँघरमा छुट्टै रौनक छाएको देखिन्छ । कतै घरका भित्ताहरु रातो माटो र कतै सेतो कमेरोले पोतेर चिटिक्क पारिएको छ भने गाउँगाउँमा हालिएको लिङ्गेपिङ र रोटेपिङले चाडबाडको उमङ्ग थपिरहेका छन् । बालबालिकादेखि अधबैंसेहरु पिङ खेलेर रमाइरहेका छन् ।

सहरबजारमा झिलिमिली बत्ती र विभिन्न सजावटले तिहारको स्वागत गरिरहँदा म्याग्दीका ग्रामीण वस्ती भने ढकमक्क फुलेका सयपत्री र मखमली फूलहरुले रङ्गिएका छन् । सदरमुकाम बेनीबजारदेखि जिल्लाको माथिल्लो क्षेत्रसम्मै सयपत्री, मखमली, गोदावरी, तिहारे र गुलाबीलगायत फूलहरु फुलेका छन् । फूलको रङ र सुगन्धले गाउँघरको वातावरण नै रमणीय बनेको स्थानीयवासीको भनाइ छ । घरको करेसाबारी, आँगन, फूलबारी, खेतबारीका कान्ला र डिलसम्म फुलेका फूलले प्रकृतिलाई सजाएका छन् ।

नीलो आकाश, सफा भएर खुलेको मौसम र रङ्गीचङ्गी फूलहरुको संयोजनले यतिबेला म्याग्दीका गाउँवस्ती निकै आकर्षक तथा सुन्दर देखिएका छन् । तिहारको आगमनसँगै गाउँघरमा फुलेका फूलले मुग्लान पसेका दाजुभाइ र दिदीबहिनीलाई मात्रै होइन, घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत स्वागत गरिरहेका छन् । यसवर्ष मलमासको कारणले गर्दा तिहार पर्व केही समय ढिलो परेको भए पनि फूलहरु भने समयमै फुलेका छन् ।

तिहारलाई लक्षित गरेर लगाइएका सयपत्री र मखमली फूलहरु अहिले गाउँघरमा ढकमक्क फुलेको म्याग्दीको बेनी नगरपालिका ५ चिप्लेटीकी सरस्वती कार्कीले बताउनुभयो । नेपाली समाजमा तिहारलाई उज्यालो र फूलैफूलको पर्वको रूपमा लिने गरिन्छ । विशेष गरी भाइटीकाको दिन सयपत्री, मखमली, गोदावरी र अन्य फूलहरु गाँसेर बनाइएका माला दाजुभाइ तथा दिदीबहिनीले एकअर्कालाई गलामा लगाइदिने परम्परा छ । सप्तरङ्गी टीका र फूलको मालासँगै मनाइने भाइटीकाले तिहारको सांस्कृतिक महत्वलाई थप उजागर गर्ने गर्दछ ।

तिहारमा फूलसँगै झिनियाँ, सेलरोटी, मिठाईलगायत परिकारहरु बनाउने र परिवार तथा आफन्तसँग बसेर खाने चलन पनि नेपाली समाजमा रहेको छ । देउसीभैलोको रमाइलोसँगै घरआँगनको सजावट, दीपावली र फूलका मालाले तिहारलाई उल्लासमय बनाउँछन् । यसरी दसैँ तिहारलगायत पर्व आउनु अगाडि नै गाउँघरमा फुलेका सयपत्री र मखमलीसहितका फूलहरुले चाडपर्व आगमनको सङ्केत गर्दछन् ।

सहर, बजारमा पनि रङ्गेली रङहरु, झिलीमिली बत्ती, विभिन्न प्रकारका फूलहरु र मालाले तिहार पर्वलाई स्वागत गरिरहेको देखिन्छ । तिहारमा फुलेका फूलहरुले वातावरणलाई सुन्दर बनाउनुका साथै पर्यटकहरुलाई समेत आकर्षित गरेको छ । नेपाली समाजमा तिहार पर्वलाई उज्यलो र फूलै फूलको पर्वको रुपमा लिने गरिन्छ । तिहारको अन्तिम दिन भाइटीकाको दिनमा मखमली, सयपत्री, थुङ्गे, गोदाबरीलगायत फूलहरु गाँसेर बनाएको माला लगाइन्छ । परापूर्वकालदेखि नै तिहारमा यिनै फूलहरुको माला लगाइने कार्यले निरन्तरता पाएको छ ।

यसैगरी नेवारी समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि पनि सयपत्री, गोदावरीलगायत फूलहरु अनिवार्य रुपमा प्रयोग गर्ने गरिन्छ । लक्ष्मीपूजाको दिन घरको मूल ढोकामा सजाउन होस् वा पसल, कार्यालय, व्यावसायिक स्थललगायत क्षेत्रलाई सिँगार्नको लागि पनि तिहारमा सयपत्री, मखमलीलगायत फूलहरुको खेती गर्ने र खरिद–बिक्री समेत हुने गरेको पाइन्छ । यी फुलहरुको माग उच्च हुने गर्दछ । कतिपयले पुष्प खेती गरेरै तिहार पर्वमा फूल बिक्रीबाट मनग्गे आम्दानी समेत गर्दै आइरहेका छन् । तिहार पर्व दाजुभाइहरु र दिदीबहिनीहरुको बीचमा आत्मीयता साटासाट गर्ने तथा सम्बन्ध थप प्रगाढ बनाउने पर्वको रुपमा समेत रहेको छ ।





