असार २४, २०८२ मङ्गलवार । प्रताप बानियाँ
म्याग्दी– ग्रामीण भेगका सर्वसाधारण, नागरिकहरुमा रोग पत्ता लगाउनको लागि म्याग्दीको बेनीमा स्क्रिनिङ क्याम्पलाई प्राथमिकतामा राखिएको छ । बेनी नगरपालिकाले वि.सं. २०७९ साल जेठ महिनाको १५ गतेदेखि समुदायस्तरमा स्वास्थ्यको जोखिम घटाउन सञ्चालन गरेको नसर्ने रोगको स्क्रिनिङ क्याम्पले अहिले पनि निरन्तरता पाएको हो ।

हाल बेनीका सबै स्वास्थ्यसंस्थाहरुमा प्रत्येक महिनाको १५ गतेका दिन नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन भैरहेको छ । खासगरी उमेरले ४० वर्षदेखि माथिका महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको यस क्याम्पबाट ग्रामीण क्षेत्रका अधिकांश सर्वसाधारणहरु लाभान्वित भएका छन् । यसका साथै बेनी नगरपालिकाको सबै वडामा महिलाको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भिआईए जाँच पनि गर्ने गरिएको छ ।

हरेक महिनाको १५ गते स्वास्थ्यसंस्थामा सञ्चालन हुँदै आइरहेको नसर्ने रोगको स्क्रिनिङ क्याम्प समुदायमा रहेका बिरामीहरुको समयमै खोज गरी उपयुक्त उपचार सुरु गर्ने र आवश्यकता अनुसार रिफर गर्ने, नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा नसर्ने रोगबाट हुने व्यक्तिगत खर्च घटाउने उद्देश्यले सञ्चालन गरिएको छ । यसैगरी आधारभूत स्वास्थ्यमा नसर्ने रोग सम्बन्धी कार्यक्रमको सुदृढीकरण गर्ने तथा बढ्दो क्रममा रहेको नसर्ने रोगको भार कम गर्ने उद्देश्य समेत रहेको बेनी नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिकाले सुरु गरेको ‘ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी’ र ‘नसर्ने रोगको स्क्रिनिङ क्याम्प’ अहिले निकै प्रभावकारी रुपमा सञ्चालन भैरहेका छन् । यी दुईवटा कार्यक्रमबाट आम नगरवासीहरु लाभान्वित भैरहेको जनाइएको छ । ४० वर्षभन्दा माथिका सर्वसाधारणहरुलाई लक्षित गरेर सञ्चालन भैरहेको नसर्ने रोगको स्क्रिनिङ क्याम्पका लागि वार्षिक रुपमा छ लाख रुपैयाँ बजेट परिचालन गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले बताउनुभयो । यसैगरी ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्य कार्यक्रमका लागि भने वार्षिक रुपमा सातलाख रुपैयाँ बजेट खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।

२०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पहलमा खासगरी ज्येष्ठनागरिकहरुलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको थियो । बेनी नगरपालिकाको नगर प्रमुखमा निर्वाचित सुरत केसीले पदभारग्रहण गर्ने क्रममा पहिलो निर्णय हरेक महिनाको एकपटक ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी पठाउने र प्रत्येक महिनाको १५ गते नगरका सबै स्वास्थ्यसंस्थाहरुमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने निर्णय गर्दै हस्ताक्षर गर्नुभएको थियो ।

नसर्ने रोगको दीगोपनाका योजनाको रुपमा स्वास्थ्य प्रोफाइल तयार गरी ज्येष्ठनागरिक र नसर्ने रोग लागेका व्यक्तिहरुको डिजिटल हेल्थ अनुगमन गर्ने रहेको छ । यसैगरी ज्येष्ठनागरिक सेवातर्फ रिह्याबिलिटेटिभ र पालिएटिभ हेरचाह तथा नसर्ने रोग सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न, बाहिरी आर्थिक स्रोतको सुनिश्चितता तथा विशिष्टिकृत सेवा सुनिश्चित गरी लागू गर्न सकिने दीर्घकालीन योजना रहेको छ ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले १ नम्बर वडाको लामगरा, २ नम्बर वडाको भकुण्डे, ३ नम्बर वडाको भकिम्ली र ६ नम्बर वडाको छापमा महिलाको पाठेघरको मुखको पहिचान गर्न भिआईए जाँच शिविर आयोजना गरिएको थियो । यसबाट ग्रामीण भेगका महिलाहरु लाभान्वित भएका थिए । स्क्रिनिङ क्याम्पमा खासगरी सुगर, प्रेसर, मोटोपन जस्ता समस्याहरुको चेकजाँच र उपचार गर्ने गरिएको रत्नेचौर स्वास्थ्यचौकीका सिनियर अहेव रुमाकुमारी खत्रीले बताउनुभयो ।


