• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

भदौ १, २०८२ आइतबार । प्रताप बानियाँ

म्याग्दी– एक वर्षको अवधिमा हिमाली जिल्ला म्याग्दीको ३० हजारभन्दा बढी पर्यटकहरुले भ्रमण गरेका छन् । गएको आर्थिक वर्ष २०८१/०८२ मा कुल ३० हजार ८ सय ६५ जना विदेशी पर्यटकहरुले जिल्लाको भ्रमण गरेका हुन् । अघिल्लो आव ०८०/८१ मा भने ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेका थिए ।

गतवर्ष म्याग्दीको भ्रमणमा २३ हजार ८ सय ६९ जना पर्यटकहरु भित्रिएका छन् भने ६ हजार ९ सय ९७ जना पर्यटकले भ्रमण गरेर बाहिरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी कार्यालयका अनुसार गतभन्दा अघिल्लो आवमा भने २५ हजार ३ सय ३४ जना विदेशी पर्यटकहरु भित्रिएकोमा ६ हजार २० जना पर्यटकहरु जिल्लाको भ्रमण सकेर बाहिरिएका थिए ।

गतवर्ष जिल्ला भित्रिने पुरुष पर्यटकहरु १२ हजार ३ सय ९६ र महिला ११ हजार ४ सय ७२ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । यसैगरी भ्रमण सकेर बाहिरिनेमा पुरुष पर्यटक ३६ सय २१ र महिला ३३ सय ७६ जना रहेको तथ्याङ्क छ । म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको संख्यामध्ये पुरुष १६ हजार १७ जना रहेका छन्भने महिलातर्फ १४ हजार ८ सय ४८ जना पर्यटकहरु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

गतवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा ५ हजार ८ सय १३ जना र सबैभन्दा कम असार महिनामा ४ सय ८३ जना विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ । म्याग्दी जिल्लाको भ्रमण गर्न अफ्रिका, अमेरिका, अस्टेलिया, बहराईन, बेल्जियम, ब्राजिल, बेलायत, चिली, चाईना, रसिया, कोलम्बिया, डेनमार्क, फिनल्याण्ड, जापान, फ्रान्ससहित विदेशका विभिन्न मुलुकहरुबाट पर्यटकहरु आएको तथ्याङ्क छ । म्याग्दीको भ्रमणमा अधिकांश पर्यटकहरु कास्कीको घान्द्रुकबाट पुनहिल, घोरेपानी तथा ढोरपाटन शिकार आरक्षबाट पश्चिम म्याग्दी भएर तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत आवतजावत गर्ने गर्दछन् ।

पर्यटकहरु कम आउनुमा खासगरी आर्थिक मन्दी मुख्य रहेको छ भने प्रतिकुल मौसम र सरकारले ल्याउने पर्यटकलक्षित नीतिहरुको कारणले पनि पर्यटक घटेको अनुमान गरिएको छ । तर कोरोना र लकडाउनपछि पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा भने क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । म्याग्दीको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गर्दछन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिमी क्षेत्र दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र मुस्ताङबाट म्याग्दीको भ्रमणमा पर्यटकहरु आउँछन् ।

यसैगरी कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन्भने हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङ भएर पनि पर्यटकहरु म्याग्दी जिल्लामा भित्रिने गर्दछन् । होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सचिव एवं होटल याक बेनी प्रालिका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम)ले कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरुको बसाई लम्ब्याउनको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण गर्नुका साथै नीतिगत सुधार गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थल र क्षेत्रहरुको विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, फुलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि, अन्नपूर्ण र गूर्जा हिमालको आरोहण गर्नका लागि आउने गरेको पाइन्छ । त्यस्तै सिङ्गा, भूरुङ–तातोपानी, पाउद्वारलगायत स्थानमा रहेका तातोपानीका कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, धार्मिक क्षेत्र गलेश्वरधाम, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम, केभहिल, स्वर्गाश्रम एवं मालिका मन्दिर, ताकम कोतलगायत क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट देखिने मनोरम दृष्यावलोकन गर्नका लागि पर्यटकहरु आउने गरेका छन् ।

म्याग्दीमा रहेका विभिन्न ताल र झरनामा पनि पर्यटकहरु पुगेर रमाउने गर्छन् । पछिल्लो समय नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएपछि विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकहरु धेरै घुम्ने गरेका छन् । तर विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरिए पनि स्वदेशी पर्यटकहरुको भने तथ्याङ्क राखिएको छैन । म्याग्दीको भ्रमणमा समेत विदेशीको तुलनामा स्वदेशी पर्यटक धेरै आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । खर्चको हिसाबले पनि विदेशीले भन्दा स्वदेशी पर्यटकहरुले नै धेरै खर्च गर्दछन् ।

कुन महिनामा कति पर्यटक ? (आ.व. ०८१/८२)

महिना                     पर्यटक सङ्ख्या

साउनः                          ८३४

भदौः                             ८७४

असोजः                         ४०२९

कात्तिकः                        ५८१३

मंसिरः                           ३४१४

पुसः                               १६७४

माघः                              १६७५

फागुनः                          २३०४

चैतः                               ५४८७

बैशाखः                          २८३५

जेठः                               १४४३

असारः                           ४८३

जम्माः                       ३०,८६५

भित्रिएकाः                    २३,८६८

बाहिरिएकाः                 ६,९९७

स्रोतः जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।