• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

भदौ २१, २०८२ शनिवार । रुप्से न्यूज

म्याग्दी– यसवर्ष हुने २३औं संस्करण अन्तर्गतको अन्तर माध्यमिक विद्यालयस्तरीय जेसीज कप फुटबल प्रतियोगिता–२०८२ आगामी मंसिर दोस्रो साता हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा हुँदै आइरहेको अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता यसवर्ष मंसिरको ८ देखि १३ गतेसम्म सञ्चालन गर्न लागिएको हो ।

यसैक्रममा म्याग्दी जेसीजको मूल आयोजना र व्यवस्थापनमा जिल्ला सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा सम्पन्न हुने फुटबल प्रतियोगिताको विषयमा शुक्रवार जेसीज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । उक्त पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका कोषाध्यक्ष नवीन पौडेलको मूल संयोजकत्वमा २० वटा विभिन्न उपसमितिहरु गठन गरी आवश्यक तयारी थालिएको म्याग्दी जेसीजले जनाएको छ ।

जेसीज कप फुटबल प्रतियोगिताको टाईटल स्पोन्सरमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको म्याग्दी जेसीजको वर्ष २०२५ का शाखा अध्यक्ष विनोद घर्ती क्षत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५५ हजार पाँचसय ५५ र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथै नगद ३५ हजार पाँचसय ३५ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यस वर्षको प्रतियोगितामा विगतको तुलनामा भन्दा पुरस्कारको राशी समेत बढाइएको छ ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, सर्वाधिक गालकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर, राईजिङ प्लेयर, उत्कृष्ट कोच र अनुशासित टिमलाई जनही दुईहजार पाँचसय र ट्रफीको व्यवस्था गरिएको मुल संयोजक पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको सेमीफाईनलमा दुईवटा टिमलाई नगद पाँचपाँच हजार र प्रत्येक खेलमा म्यान अफ् द म्याचबाट पुरस्कृत गरिनेछ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि विगतमा जस्तै विद्यालयहरुको सहभागिता रहने जनाइएको छ ।

यस वर्षको प्रतियोगितामा कुल आम्दानीतर्फ सातलाख ८० हजार र खर्चतर्फ सातलाख ५७ हजार दुईसय ३१ रुपैयाँ हुने प्रस्ताव गरिएको छ । पत्रकार सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, पूर्व अध्यक्ष विनय श्रेष्ठ, खम थापा, सुमन बानियाँ, वीरेन्द्र श्रेष्ठ, निर्वतमान अध्यक्ष दिनेश बानियाँ लगायतको उपस्थिति रहेको थियो । गतवर्ष २२औँ संस्करणको उपाधि माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको थियो । जिल्लामा फुटबलका खेलाडीहरु उत्पादनमा जेसीज कपको विशेष भूमिका रहेको बताइएको छ ।