• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

चारैतिरबाट पहाडले घेरिएको आकर्षक समथर भूमि, शिरमा धौलागिरि लगायतका दर्जनौं मनोेरम हिमशिखरहरु र पाउमा रहेको नागबेली आकारको म्याग्दी नदीे अनि पुराण प्रसिद्ध ऋषिहरुको तपोभूमि पछै मात्र नभई ऐतिहासिक पर्वत राज्यको राजधानी डढेकोट र ढोलठानको काखमा पुलाचौरको नामबाट सुपरिचित एउटा सुन्दर गाउँ छ । वस्तीमाथिको अनौठो चुचिल ढुङ्गाबाट आफ्नो गाउँको समग्र टोल–वस्तीको राम्रो अवलोकन गर्न सकिन्छ भने पुछारमा रहेको अनुपम चुचिल ढुङ्गोबाट जिल्लाको आधा–आधी वस्ती भनौँ म्याग्दी खोलाको समग्र भेग नै आफ्नो नाङ्गो आँखाले सर्लक्कै देख्न सकिन्छ । मुख्य स्तम्भको रुपमा राता–राता गुलाबी पहराहरुमाथि रहेको स्वर्ग जस्तै सुन्दर वस्ती जहाँ विमान अवतरण गराउन सक्ने कैयन भू–भागहरु छन् । वस्ती मात्रै होइन कि यही वस्तीका मान्छेहरु पनि देवता जस्तै असल छन् भन्ने बालसुलभ बुझाई गरेका कैयन प्रभावशाली व्यक्तित्वहरु यो बुझाइलाई दुनियाँसामु फैलाउँदै कतिजना त जीवनको उत्तरार्धमा हुनुहुन्छ भने कतिपय विश्वको विभिन्न स्थानहरुमा पुग्नुभएको छ । विश्वको जुनसुकै कुनामा रहेपनि यो भूमिलाई सम्झेर सम्भव हुने हर प्रकारको सहयोग पनि गरिरहनुभएको छ । तत्कालीन समयमा गाउँ र गाउँवासीहरुलाई असाध्यै माया गर्ने सामाजिक–राजनीतिक नेतृत्व डेकबहादुर बानियाँ, गाउँलेहरुलाई साक्षर र शिक्षित बनाउन अविरल खटिरहने अनि पुराण–प्रवचनका माध्यमबाट गाउँलाई टाढा टाढासम्म चिनाउने पण्डित तारानाथ रेग्मी, शैक्षिक अभियानका एक स्तम्भ चिनीमाहिलाबाको नामले प्रसिद्ध टिकाराम सुवेदी, सामाजिक अभियन्ता जेमदग्नी पौडेल र रमाइला सवाई अनि कथा सुनाउने “कोटघरे काहिँला”को नामले परिचित जितबहादुर बानियाँ एउटै गाउँका बासिन्दा हुनुहुन्थ्यो ।


म्याग्दीको पुलाचौर कोटघरमा वि.सं. १९८६ साल फागुन १४ गते जन्मिनुभएका मेरा काहिँलाबा जितबहादुर बानियाँ सवाइका रचयिता र लोकगायकका रुपमा सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो । जुनबेला जस्तो परिस्थिति आउँछ त्यति नै बेला सवाई बनाएर गाउन सक्ने भएकोले धेरैले उहाँलाई आशुकवि पनि भन्ने गरेको पाइन्छ । वि.सं. १९९० सालको प्रलयकारी भूकम्प, विभिन्न समयका अनिकाल, २००८ सालमा सलहले बाली नष्ट गरेका घटना, सामाजिक रुढीवादी अनि सामाजिक अगुवाहरु र राजनीतिक दलका नेताहरुका कुकृत्यका कथाहरुको सवाई सिर्जना र गायनमा माहिर मेरा काहिँलाबा जितबहादुर बानियाँले आप्mनो पोल खोलिदिएको भनी धम्की, अपमान र पिटाई पनि खानुपरेको थियो भने कैयन प्रलोभनहरु पनि दिइन्थ्यो । समाजको विकृति, विसङ्गति र अन्धविश्वासको विरुद्धमा साहित्यिक माध्यमबाट समाजको हितार्थ विरोध गर्न कहिल्यै छोड्नुहुन्थेन र कुनै प्रलोभन, अभाव, दवाव र प्रभावले पनि उहाँलाई छुन सक्दैनथ्यो । अझै पनि पुलाचौरको सेरोफेरोमा चैनले जीवन व्यतीत गरेका दुईजना अग्रजहरुको नाम प्रायजसोले लिइरहनुहुन्छ । जीवनको बाल्यकालदेखि युवावस्था र मध्यवस्थासम्म पनि खासै दुःखको महसुस नगरी ऐस–आराम त नभनौँ तर दुनियाँ लोभिने तवरले आफ्नो समकक्षी एवम् आत्मिय हितैषी श्रीलाल शर्माले झैँ चैनको जीवन भने उहाँले बिताउनुभएकै हो । एक उदाहरणीय सर्जक हुँदाहुँदै पनि पारिवारिक व्यवस्थापनमा कम ध्यान, आफ्नो सिर्जनाहरु सुरक्षित र संरक्षण गर्न नसक्नाले तत्कालीन चतुर र छट्टु व्यक्तिहरुले आफ्नो नामबाट प्रकाशन र प्रसारण गरेको जस्ता केही दुःखद र प्राविधिक कारणले उहाँजस्तो सर्र्जकलाई पनि जीवनको उत्तरार्धतिर पारिवारिक जीवनलाई निरन्तरता दिन समेत निकै धौ–धौ नभएको पनि होइन । बाँचुञ्जेल कोठा भाडा तिर्न नसकेका र ३६ वर्षको उमेरमा मृत्युवरण गरेका हल्याण्डका नागरिक विसेन्ट भ्यानगगको मृत्युको ९६ वर्षपछि उनका चित्रहरुमध्ये एउटैलाई दुई अरब बैसठ्ठी करोडभन्दा बढी रुपैयाँमा बिक्री भएझैँ मेरा काहिँलाबाका कृतिहरु पनि यतिबेला समाजको लागि खोजीको विषय बनेका छन् । हाम्रो नेपाली समाजलाई सही ट्र¥याकमा ल्याउनको लागि उहाँजस्तै सर्जकहरुको आवश्यकताको बोध अहिले पनि समाजले गरिरहेको छ । उहाँका सिर्जनाहरु लोककथनका रुपमा रहिरहेका छन् भने फाट्टफुट्ट लिखित रुपमा मुस्किलले सङ्कलन गर्न सकिएको छ । यी अमूल्य सिर्जनाहरुलाई प्रकाशनको लागि गरिएको प्रयासबाट हाम्रो जिल्लालाई मात्र नभई समग्र रुपमा देशको सामाजिक र राजनीतिक नेतृत्व पङ्तिलाई केही हदसम्म भए पनि झकझकाउने छ र सही दिशानिर्देश हुनेछ ।
‘सुनसुन जन हो, म केही भन्छु ।
दुई हजार आठ सालको सवाई कहन्छु ।।
……………….. ।’
म्याग्दीमा सबभन्दा पहिला सवाई रचना गरेर गाउने मेरा काहिँलाबा कोटघरे काहिँला भनेर लोकपरिचित पुलाचौर, कोटघरका जितबहादुर बानियाँ हुनुहुन्थ्यो । १६ वर्षको उमेरमा भीरमुनिबाट गरेको पहिलो विवाह असफल भएपछि २० वर्षको उमेरमा बरङ्जाबाट उहाँले पुनः दोस्रो विवाह गर्नुभएको थियो । काहिँलीआमा शिवकुमारी मल्ल बानियाँबाट जन्मिनुभएका दाजु नरबहादुर बिसी बानियाँ लोकदोहोरीको राष्ट्रिय प्रतियोगितामा म्याग्दीबाट प्रतिनिधित्व गरी प्रथम स्थान हासिल गरी जिल्लालाई राष्ट्रियस्तरमा चिनाउन र आफ्नो राष्ट्रिय पहिचान बनाउन सफल हुनुहुन्छ । रेडियो नेपालबाट स्वर परीक्षा समेत पास गरी रेडियोबाटै गीत गाउने, विभिन्न क्यासेट तथा एल्बमहरु निकाल्ने, विविध कार्यक्रममा हुने लाइभ–दोहोरीमा सहभागी हुने, विभिन्न पुस्तकहरु प्रकाशन गर्ने, म्याग्दी साहित्य समाजको संस्थापक अध्यक्षदेखि जालपा पुस्तकालय काठमाण्डौको स्थापना र हालको अवस्थासम्म ल्याइपु¥याउने मेरो दाजु पनि काहिँलाबा झै म्याग्दी र काठमाण्डौँका विद्यालयहरुमा प्रधानाध्यापकको रुपमा भूमिका निर्वाह गर्नुका साथै लामो समय विद्यालय तथा क्याम्पसहरुमा प्राध्यापन गरेर पनि धेरै सुयोग्य प्रतिभावाशाली व्यक्तिहरु उत्पादन गर्नुभएको छ । अमेरिका, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरुको भ्रमण गरेर उत्कृष्ट साहित्यकार एव गायकको रुपमा पुरस्कृत र सम्मानित हुनुहुने मेरा दाजु नरबहादुर बिसी बानियाँले प्राप्त गर्नुभएको यो गुण मेरा काहिँलाबाको वंशाणुगत गुण नै हो । मेरा काहिँलाबाको मात्र नभई मेरा हजुरबुबा नवलसिँह बानियाँ पनि तत्कालीन समयमा भजन–कीर्तन सिर्जना र गायनमा निकै खप्पिस हुनुहुन्थ्यो र भजने बानियाँ भनी उहाँलाई चिनेका, देखेका र सुनेका व्यक्तित्वहरुले बताउँदै आएको पाइन्छ । मेरो घरमा अझै पनि साक्षी र प्रमाणको रुपमा पूर्वजको चिनोस्वरुप तत्कालीन समयको अर्थात् करिब १ सय ५० वर्ष अघिको ऐतिहासिक खैजडी र मुजुरा रहेको छ, जसलाई मैले आजसम्म संरक्षण गरी प्रयोग गर्दै आइरहेको छु ।


मेरा काहिँलाबाले २४ वर्षको उमेरमा मराङबाट तेस्रो विवाह गर्नुभएको हो । काहिँलीआमा गौमती खत्री बानियाँबाट दिदीत्रय रत्ना बानियाँ भुजेल, टीका बानियाँ गुरुङ र बालु बानियाँ थापा जन्मिनुभएको छ । अहिले तीनवटै दिदीहरुले पनि आ–आफ्नै घरमा राम्रो बन्दोवस्तसँग जीवन बिताइरहनुभएको छ । मेरो काहिँलाबाले तत्कालीन समयमा मुदीको खिबाङमा हाल चन्द्रज्योति माध्यमिक विद्यालयको प्रधानाध्यापकको रुपमा पनि सेवा गर्नुभएको थियो । जिल्ला भित्रका विभिन्न स्थानहरुमा हुने स्थानीय मेलापर्व र महोत्सवहरुमा काहिँलाबालाई निमन्त्रणा गरी बोलाइन्थ्यो भनिन्छ । मेरा काहिँलाबाको कथा, कविता र गीतहरु निकै रमाइला मानिन्थे । कवितामै भाषण गर्ने क्षमताका कारण पनि जिल्लाको नेतृत्व गर्न रुचि राख्ने स्थानीय नेताहरुले ठूलो मात्रामा समूह जम्मा पार्न प¥यो भने पनि काहिँलाबाको प्रतिभा प्रस्तुत गराउने गर्दथे । नेपाली लोकसाहित्यको मुर्धन्य व्यक्तित्व उहाँ जीवनको उत्तरार्धमा समेत आफ्नो प्रतिभा प्रस्तुत गरिरहने सिर्जनाका खानी नै हुनुहुन्थ्यो ।
‘काली म्याग्दी दोभानैमा पुलस्त्यको ढुङ्गो ।
त्यही ढुङ्गो गुल्टेदेखि संसार भयो बुङ्गो ।।
…………… ।’
म्याग्देली लोक साहित्यकासको काव्य विधामा पृथकबान्की, शैली र बनौटका साथ सार्वजनिकीकरण भैसकेको चिरपरिचित नाम हो जितबहादुर बानियाँ अर्थात् कोटघरे काहिँला । मानवीय सेवालाई परम् धर्म र सिर्जनालाई सत्कर्म मान्ने लोक साहित्यसेवी मेरा काहिँलाबा आफ्नो जिन्दगीका थुप्रै मीठा र नमीठा अनुभवका खानी हुनुहुन्थ्यो । व्यापार, कृषि, ठेक्कापट्टा, कलाकारिता, समाजसेवा आदि जस्ता थुप्रै क्षेत्रको भुक्तमान अनुभव थियो उहाँसँग । पुलाचौरको पैतृक सम्पूर्ण सम्पत्ति अर्कैलाई सस्तो मूल्यमा सुम्पिएर मराङमा व्यापार–व्यवसाय समेत गरेपनि निकै खर्चालु र चैनको जीवन बिताउने स्वभावका मेरा काहिँलाबा सो ठाउँको घरजग्गा र व्यापार–व्यवसाय समेत छोडेर लामो समय बेनीबजारको मंङ्गलाघाटमा बसेर आफ्नै घरघडेरीमा व्यापार, व्यवसाय समेत गर्दै आउनुभएको थियो । जन्मभूमिको अगाध माया कति धेरै हुँदोरहेछ भन्ने कुरा जन्मभूमिबाट टाढिएको अवस्थाका मानिसहरुलाई निश्चय नै बढ्ता हुँदोरहेछ । अझ भनौँ, बाध्यताले टाढिनुपर्नेहरुको पीडा त अझ कति हुन्छ भनीसाध्य नै नहुनेरहेछ । मेरा दिदीहरु र अझै बढी दाजुले आफू जन्मेको घर–घडेरी देख्दा र टेक्दा त्यहाँको माटो ढोगेर घण्टौँसम्म अहिलेसम्म पनि रोइरहने कारुणिक दृश्य देख्दा मेरो अव्यक्त मनले पनि भन्छ कि कोही–कसैले आफ्ना सन्ततिको इच्छाबिना जन्मेको घर–घडेरी पराइको नाममा नसुम्पिनु । आफूलाई बाल्यकाल मात्र नभई सारा जीवन बिताउन हुरुक्कै भएको जन्मभूमि गुमाउँदाको अबोध बाल–पीडाले नै होला दाजुले आफ्नो थर पनि बानियाँ नलेखी बिसी लेख्नुभयो । परिस्थिति यस्तो आइदियो कि बानियाँ बन्धु समाज जस्तो गौरवशाली संस्थाको केन्द्रीय अध्यक्षमा दाजु चयन हुनुभयो । अनि बाध्यता आइलाग्यो कि नरबहादुर बिसी “बानियाँ” लेख्नको लागि । मेरो काहिँलाबाको २०६३ चैत २६ गते मृगौलाको रोगले बेनी मङ्गलाघाटस्थित आफ्नै घरमा उहाँको निधन भएको थियो । उहाँको निधन भएको झण्डै दुई दशकपछि अग्रज साहित्यकार, लोकप्रिय गायक, उदाहरणीय समाजसेवी र चर्चित राजनीतिज्ञ दाजु नरबहादुर बिसी बानियाँद्वारा आफ्ना पिताको स्मृतिमा “कोटघरे काहिँला” नामक पुस्तक प्रकाशन गर्न लाग्नुभएको यो शुभ र सुखद समाचार छ । यो महान् कार्यबाट दाजुले आफ्नो जन्मदाताको लागि मात्र पुण्यकार्य नगरी जन्मभूमिको लागि पनि असल योगदान गर्नुभएको छ । यस पुनित क्षणमा दाजु नरबहादुर बिसी बानियाँलाई हार्दिक आभार र धन्यवाद टक्राउँछु । साथै मेरा स्वर्गीय काहिँलाबा जितबहादुर बानियाँप्रति हार्दिक श्रद्धासुमन !!!
                                                                      लेखक बानियाँ, जनकल्याण मावि पुलाचौर म्याग्दीमा अध्यापनरत हुनुहुन्छ ।