• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका वडानम्बर ४ मुदीमा बुधवार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अमेरिकाको आयोजना, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्रको व्यवस्थापन तथा प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वय तथा आईकेयर फाउण्डेशनको सहयोगमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

मुदी स्वास्थ्यचौकीको प्राङ्गणमा सम्पन्न शिविरमा कुल १ सय ७० जनाले आँखा परीक्षण गर्नुका साथै उनीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको नेत्रज्योति संघ म्याग्दीले जनाएको छ । शिविरमा १ सय १४ जना महिला र ५६ जना पुरुषको आँखा चेकजाँच गर्नुका साथै परार्मश सेवा पनि उपलब्ध गराइएको थियो । तीमध्ये विभिन्न १३ जनामा मोतियाविन्दुको समस्या देखिएको पाइएकाले उनीहरुको आगामी दिनमा हुने बृहत शिविरमा शल्यक्रिया गरिने भएको छ ।

शिविरमा नेत्रज्योति संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले सर्वसाधारण बिरामीको आँखा चेकजाँच गरी आवश्यक परामर्श सेवा समेत प्रदान गर्नुभएको थियो । निःशुल्क आँखा परीक्षण शिविरमा मुदी स्वास्थ्यचौकीका प्रमुख ओमकार सुनार तथा स्वास्थ्यकर्मीहरु सुनिता गुर्धामी, ममता पौडेल, चनदेवी गर्बुजा र महिला स्वास्थ्य स्वयंसेविकाहरुले नामदर्ता, बिरामीको आँखामा भिजन चेकजाँच गर्नुका साथै उनीहरुलाई औषधीसहित चस्मा वितरण गर्नुभएको थियो । शिविरमा आँखाको चेकजाँच तथा परीक्षण गर्न आएका ज्येष्ठनागरिक बिरामीलाई नामदर्ता गरेको पूर्जा दिएर मुदीका वडा अध्यक्ष यामबहादुर घर्तीले औपचारिक रुपमा शिविर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै वडाध्यक्ष घर्तीले मुदी गाउँमा आयोजित निःशुल्क आँखा शिविर कार्यक्रमले बिरामी तथा स्थानीयवासीहरु लाभान्वित भएको बताउनुभयो । उहाँले मुदीवासीलाई गाउँघरमै आँखा सम्बन्धी शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्नको लागि आवश्यक सहयोग गर्ने जिल्लास्थित विभिन्न संघसंस्थालाई धन्यवाद दिनुभयो । मोना आईईसीका संरक्षक तथा नेत्रज्योति संघ म्याग्दीका सदस्य सुवासकुमार श्रेष्ठले मोनामार्फत म्याग्दी जिल्लाको विभिन्न स्थानमा शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा सहयोग गरिएको बताउनुभयो ।

मोनाका प्रतिनिधि भक्तबहादुर सिंकिजाले विगतमा आफू प्रवासमा रहँदा पनि जिल्लाका लागि धेरै कामहरु गरेको बताउँदै अहिले दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर ल्याइएको बताउनुभयो । नेत्रज्योति संघ जिल्ला शाखाका सभापति अमर बानियाँले समुदायस्तरबाट अन्धोपन निवारण गर्ने उद्देश्यसहित मुदीमा यसपालि पनि आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले मानव शरिरमा रहेका अङ्गहरुमध्ये सबैभन्दा महत्वपूर्ण अङ्ग आँखा भएकाले आँखामा दृष्टिको संरक्षण गर्न गूर्जावासीलाई लक्षित गरेर शिविर ल्याइएको बताउनुभयो ।

शिविरको उद्घाटनसत्र नेत्र अधिकृत बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरी धवलागिरि २ नम्बर वडा लमसुङमा बिहीबार शिविर आयोजना गरी बिरामीको आँखा चेकजाँच गरी परामर्श सेवा प्रदान गर्ने र निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिने आयोजकले जनाएका छन् ।