• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

गएको भदौ १० गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट धनजनको क्षति बेहोरेका पीडितहरुलाई म्याग्दीको दिच्यामबाट आर्थिक सहयोग भएको छ । मालिका गाउँपालिका ६ दिच्यामको विद्यालयसहित स्थानीय संघसंस्थामार्फत सङ्कलित रकम रसुवा बाढीपीडितहरुलाई सोमबार सहयोग गरिएको हो ।

बाढीबाट प्रभावित बनेका पीडित परिवारलाई भगवती बाल क्लब तथा जुनियर रेडक्रस सर्कलबाट. १० हजार, प्रगतिशिल आमा समूहबाट ३० हजार, मिलीजुली आमा समूहबाट ३० हजार, समाजसेवी गौप्रसाद पुर्जा र पृथकुमारी पुर्जाबाट ३० हजार तथा दिच्याम युवा क्लबबाट पाँचहजार गरी कुल एकलाख पाँचहजार रुपैयाँ सहयोग गरिएको भगवती आधारभूत विद्यालय दिच्यामका प्रधानाध्यापक जगतबहादुर खत्रीले जानकारी दिनुभयो ।

आमा समूहले कृषि पेशा अन्तर्गत किबी, आलु खेती, फलफूल र टिम्मुर बिक्रीबाट जम्मा गरेको रकममध्ये केही हिस्सा सहयोग गरेका हुन् । यसैगरी विद्यार्थीहरूले आफूले खाजा खानका लागि छुट्याएको रकम समेत पीडित परिवारका लागि सहयोग गरेको विद्यालयले जनाएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले विपद्को समयमा पीडितको दुःखमा साथ दिँदै राहतस्वरुप आर्थिक सहयोग गर्ने विद्यालय र स्थानीय संघसंस्थासहित सबै सहयोगदाताप्रति धन्यवादज्ञापन गर्नुभएको छ ।

दिच्याममा सङ्कलित नगद एकलाख पाँचहजार रुपैयाँ रसुवा बाढीपीडितका लागि भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रअ खत्रीले बताउनुभयो । रसुवामा आएको बाढीपहिरोबाट हालसम्म १३ सय ५५ जनाको मृत्यु भएको छ भने करिब ५ हजार जना मानिहरु अझै पनि हराइरहेका छन् । बाढीबाट प्रत्यक्ष पीडित बनेकाहरुको लागि स्वदेश तथा विदेशबाट आर्थिक र जिन्सी सहयोग भैरहेको छ ।