हिमाली जिल्ला म्याग्दीबाट कलाकार प्रकाश दूतराजको नयाँ साङ्गीतिक व्याण्ड सुरु भएको छ । कलाकार दूतराजले आफ्नो जन्मथलो म्याग्दीबाट शनिवार एक विशेष समारोहबीच ‘व्यान्ड’ (सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह)को औपचारिक सुरुआत गरेका हुन् ।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला सदरमुकाम बेनीको खुलामञ्चमा कलाकार दूतराजको ‘दूतराज प्रकाश एन्ड लाईनअप’ सार्वजनिक गरिएको छ । म्याग्दीको मङ्गला गाउँपालिका ५ अर्मनमा जन्मिएर सदरमुकाम बेनीमा बाल्यकाल तथा किशोर अवस्था बिताएका दूतराजले नेपालमै पहिलोपटक लोक साङ्गीतिक समूह बनाएको बताउनुभयो ।

पछिल्लो समय दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेका कलाकार दूतराजले अबको साङ्गीतिक प्रस्तुति ट्र¥याकभन्दा पनि व्यान्डको वाद्यवादनसहित हुने जानकारी दिनुभयो । करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकोमा आफूलाई निकै खुसी लागेको उहाँले अनुभव सुनाउनुभयो । साङ्गीतिक व्याण्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको समूहले जनाएको छ । दूतराज नेतृत्वको समूहमा वाद्यवाधनसहित विभिन्न १२ जना कलाकारहरु आबद्ध छन् ।

व्यान्डले नेपालमा साङ्गीतिक टुरको समेत तयारी गरिरहेको छ । कलाकार दूतराजका मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना झ्यालैमा लगायतका गीतहरु चर्चित मानिन्छन् । यसअघि यही भदौ १२ गते जनैपूर्णिमा पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीका कारण स्थगित भएको थियो । साङ्गीतिक कार्यक्रमको मोना अन्तर्राष्ट्रि«यका उपाध्यक्ष किसान जिसीले आफ्नो जिल्लामा जन्मिएको यूवालाई प्रोत्साहन गर्नका लागि आर्थिक सहयोगसहित संयोजन गर्नुभएको थियो ।

साङ्गीतिक व्याण्ड सार्वजनिक कार्यक्रमको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठले संघद्वारा मेला, महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि साथ दिइएको बताउनुभयो । संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले संघमार्फत आयोजना हुने मेला, महोत्सवलगायत कार्यक्रमबाट जिल्लाको पर्यटन प्रवद्र्धनसँगै नयाँ प्रतिभाको पहिचान र लोकप्रिय प्रतिभाको सम्मान गर्ने गरिएको बताउनुभयो ।

दूतराजको व्यान्ड प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट समेत आएका दर्शकहरूले बेनीको खुलामञ्च भरिएको थियो । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा दर्शकहरू प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरी नाचेका थिए । प्रस्तुति अघि आफ्नो विगतमा सङ्घर्षका दिन र साथ दिनेहरूलाई सम्झिएका दूतराजले आगामी दिनमा पनि साथ र सहयोग गर्न अपिल गरेका छन् । कार्यक्रममा म्याग्देली बाल कलाकार क्रियशन रोका मगरलाई म्याग्दी उद्योग वाणिज्य संघद्वारा सम्मान गरिएको थियो ।



