• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

स्वास्थ्यका गतिविधिलाई थप प्रभावकारी बनाउँछौं– नगर प्रमुख केसी

बेनी नगरपालिका म्याग्दीको आयोजनामा गएको आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्यतर्फका कार्यक्रमहरुको वार्षिक समीक्षा सम्पन्न भएको छ । गतवर्ष सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिता, समस्या पहिचान र समाधान तथा चालु आवको कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले दुई दिनसम्म समीक्षा गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखामार्फत सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा बेनी नगरपालिका अन्तर्गतका सबै स्वास्थ्यचौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख एवं प्रतिनिधिहरूले आ–आफ्नो स्वास्थ्य संस्थाबाट सञ्चालित स्वास्थ्यसँग सम्बन्धी विभिन्न गतिविधिहरु र कार्यक्रमको औसत प्रगति र उपलब्धिहरु, समस्या तथा चुनौतीको पहिचान र समाधान तथा सेवाग्राहीको अपेक्षाबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लिला गौतमले बेनी नगरपालिकाद्वारा गतवर्ष सञ्चालित समग्र स्वास्थ्यका गतिविधिहरु, वार्षिक बजेट तथा कार्यक्रम, कार्यान्वयनको अवस्था र उपलब्धिहरुका बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा, बालबालिकाहरुलाई पोषण, किशोरीलाई आईरन चक्की, नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन, आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम, सुरक्षित मातृत्व तथा गर्भपतन, महिनावारी स्वच्छता दिवस, ग्रामीण अल्ट्रासाउण्ड, महिलामा प्रजनन् परीक्षण शिविर, नसर्ने रोगको स्क्रिनिङ क्याम्प, समुदाय तथा विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रम, विश्व उच्च रक्तचाप दिवस तथा सचेतना, महामारी तथा रोग नियन्त्रण, डेंगुलगायत किटजन्य रोग नियन्त्रण, उपचारात्मक सेवा र ज्येष्ठनागरिक घरभेटलगायत कार्यक्रमबारे प्रस्तुती गरिएको थियो । 

समीक्षाको क्रममा स्वास्थ्यकर्मीहरूले सेवा प्रवाहका क्रममा देखिएका विभिन्न समस्या तथा गुनासाहरु प्रस्तुत गर्दै तिनको समाधानका सम्भावित उपाय समेत सुझाएका थिए । स्वास्थ्य संस्थामा देखिएका व्यवहारिक समस्या, जनशक्ति व्यवस्थापन, सेवा प्रवाह तथा आगामी दिनमा स्वास्थ्यतर्फका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने विषयमा समेत अन्तत्र्रिmया र छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बेनी नगरपालिकाभित्र कुपोषण भेटिनु स्वास्थ्यका हिसाबले राम्रो सन्देश नभएकाले यसको निराकरणका लागि आवश्यक पहल गरिने बताउनुभयो । उहाँले ग्रामीण भेगमा जस्तै बेनीबजारमा पनि ज्येष्ठनागरिकहरुको घरघरमा पुग्नका लागि स्वास्थ्य शाखा र स्वास्थ्यकर्मी लाग्नुपर्ने बताउँदै नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी समाधानका लागि आगामी दिनमा समन्वय र सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले राज्यले लिएको राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेका प्रतिबद्धता र प्रदेश सरकारले लिएका लक्ष्यहरु पुरा गर्नका लागि सशर्ततर्फ प्राप्त बजेट र कार्यक्रमलाई स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमार्फत विकास निर्माणसँगै आधारभूत आवश्यकताहरु पुरा गर्न लगानी गर्नुपर्ने बताउँदै वार्षिक समीक्षा कार्यक्रमले स्वास्थ्य क्षेत्रका उपलब्धि र कमजोरीहरु पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन समीक्षाबाट प्राप्त सुझावलाई क्रमशः कार्यान्वयनको चरणमा लैजाने बताउनुभयो ।

बेनी नगरपालिकाको सहभाहलमा मङ्गलवार र बुधवार दुईदिन सञ्चालन भएको कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । नगर प्रमुख केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जनस्वास्थ्य अधिकृत बालकुमारी पुनले सञ्चालन गर्नुभएको थियो । बेनी नगरपालिका क्षेत्रमा स्वास्थ्यचौकी ७, सामुदायिक स्वास्थ्य केन्द्र ७ वटा र ३५ जनाभन्दा बढी स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् ।