• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा सञ्चालित मार्कण्डेय उद्यमशील सहकारी संस्था लिमिटेडको आइतबार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ८ सय ९४ जना शेयर सदस्यहरु आबद्ध रहेको सहकारीले गएको आर्थिक वर्ष २०८२/०८३ मा सात करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको जनाएको छ ।

साधारणसभामा महिला शेयर सदस्यहरूलाई उद्यमशीलता प्रवद्र्धन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सहकारीले सुलभ व्याजदरमा कर्जा लगानी गर्ने तथा उद्यमशील कर्जामा ३० प्रतिशत अनुदान दिने निर्णय गरेको छ । साथै सदस्यहरूको आवश्यकता र चाहना तथा उद्यमशीलतालाई लक्षित गरेर नयाँ बचत एवं कर्जा योजना पनि सार्वजनिक गरिएको सहकारीले जानकारी दिएको छ ।

शेयर सदस्यहरूमा संस्थासँगको कारोबार बढाउन तथा उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कारोबारको आधारमा मुनाफा वितरण गर्ने अभ्यास समेत सुरु गरिएको छ । यसै वर्षदेखि संरक्षित पूँजी फिर्ता कोष अन्तर्गत सदस्यहरुको बचत र कर्जाबाट संस्थाले प्राप्त गरेको व्याजदरलाई आधार मानेर मुनाफा वितरण गर्न थालिएको संस्थाका सल्लाहकार एवं सामाजिक अभियन्ता जमुना आचार्यले बताउनुभयो । साधारणसभाको ज्येष्ठ शेयर सदस्य ७३ वर्षीया धर्मकुमारी जैसीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान तथा उपलब्धि हासिल गरेका शेयर सदस्यहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नियमित बचततर्फ माया सार्की, मायान्सी सुवेदी, १५ वर्षे बचततर्फ जेनी शर्मा, जमुना दर्जी, गृहलक्ष्मी बचततर्फ निलकुमारी शर्मा, उषा मल्ल, बाल बचततर्फ सद्भाव पौडेल, आयान केसी, दैनिक बचततर्फ दुर्गाकुमारी पौडेल अधिकारी, सामूहिक ऋणतर्फ डिलकुमारी सार्की, गीता दर्जी, धितोतर्फ खिनदेवी दर्जी र पार्वती सार्की रहेका छन् ।

सम्मानका लागि मायाको चिनोका रूपमा सहकारीकै शेयर सदस्यले बनाएको स्थानीय उत्पादन ढाकाको सल प्रयोग गरिएको थियो । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नका लागि आगामी दिनमा पनि आफ्नै शेयर सदस्यहरुले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिने जनाइएको छ । साधारणसभाको अवसरमा उत्कृष्ट उद्यमीका रूपमा टपरी एग्रोका सञ्चालक जमुना आचार्यलाई सम्मान गरिएको थियो ।

सहकारीले बचत र ऋणको कारोबारसँगै शेयर सदस्यहरुलाई उद्यमी बनाउने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने र उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने योजना बनाएको छ । सहकारीले भावि योजना अन्तर्गत दीर्घरोगीलाई आर्थिक सहयोग, एकल महिला तथा उत्कृष्ट सासु–बुहारी सम्मान कार्यक्रम, उत्कृष्ट उद्यमी प्रोत्साहन, आपत्विपद्मा परेकालाई राहत वितरण, सर्वोकृष्ट कर्मचारी र उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्नेलगायत योजनाहरु साधारण सभाबाट पारित गरिएको संस्थाका सल्लाहकार आचार्यले बताउनुभयो ।

टपरी एग्रोको प्राङ्गणमा सम्पन्न साधारणसभा सहकारीका अध्यक्ष कृष्णकुमारी मल्ल सेनको अध्यक्षता, उपाध्यक्ष लक्ष्मीकुमारी हमाल आचार्यको स्वागत र सचिव पूजा केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने शेयर सदस्य भीमकुमारी सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन सचिव पूजा केसी, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक शीतल हमाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रिता दर्जीले प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा सहकारीका सल्लाहकार जमुना आचार्यले सहकारी र उद्यमशिलताको विषयमा सहजीकरण गर्नुभएको थियो ।