नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको नवौं वार्षिक साधारणसभा शुक्रवार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । साधारण सभामा महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले भावी कार्यक्रमसहित संस्थागत, सचिव ठाकुरप्रसाद आचार्यले प्रगति र कोषाध्यक्ष साधन घर्ती राम्जालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नवौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारले गरेको अहिलेको आक्रमण पत्रकारमाथि नभई आम जनता र समुदायप्रति भएको टिप्पणी गर्नुभयो । उहाँले पत्रकार महासंघ केन्द्रदेखि जिल्लासम्म विभिन्न कार्यक्रमसहित चरणबद्ध आन्दोलनको क्रममा रहेको बताउँदै सरकारी विज्ञापन तथा सूचनाहरु निजी सञ्चारमाध्यमहरुले पनि पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, नेकपाका जिल्ला संयोजक सेरबहादुर केसी, राप्रपाका अध्यक्ष विरबहादुर थापा, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, महासचिव जमुना वर्षा शर्मा, महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पर्वत शाखा अध्यक्ष लक्ष्मण सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमहरु बन्द गराउने कुत्सित मनसायबाट सरकारी विज्ञापनमा लगाएको रोकविरुद्ध पत्रकार महासंघले सुरु गरेको दोस्रो चरणको दवावमूलक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर समेत सङ्कलन गरिएको थियो । साधारण सभाको उद्घाटनसत्र महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिव आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच पत्रकार महासंघको साधारण सभाको अवसरमा लामो समयदेखि पत्रिका वितरणमा सक्रिय धवलागिरि गाउँपालिका ६ मराङकी झरना श्रीपाली र जलजला ७ धाईरिङ पर्वतका सन्ते नेपालीलाई नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरी महासंघको कार्यालय सहयोगी मनकुमारी परियारलाई पनि नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ भने महासंघ म्याग्दीका अध्यक्ष गौतमले शैक्षिक प्रोत्साहन पुरस्कारबाट सञ्चारकर्मी दिपा बुढाथोकीलाई सम्मान प्रदान गर्नुभयो ।

मालिका ५ देवीस्थानकी बुढाथोकीले बेनीमा पत्रिका वितरण र हाल म्याग्दीकाली एफएम रेडियोमा प्राविधकको रुपमा काम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत बुढाथोकीको अध्ययनमा केही राहत मिलोस् भनेर महासंघ म्याग्दीका अध्यक्ष गौतमले व्यक्तिगत रुपमा नगद पाँचहजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको सचिव आचार्यले जानकारी दिनुभयो । सोही अवसरमा पत्रकार महासंघ म्याग्दीले मंगला गाउँपालिका ५ नम्बर वडामा रहेको पर्यटकीय क्षेत्र चाङ्गामा क्रियाशील स्थानीय आमा समूहलाई बसाई व्यवस्थापनका लागि आवश्यक कपडाहरु हस्तान्तरण गरेको छ । महासंघले त्यस क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरुलाई लक्षित गरी होमस्टे प्रवर्धनका लागि आमा समूहलाई नगद ३५ हजार रुपैयाँ बराबरको सिरक, डसना, सिरानीलगायत आवासीय सामानहरु उपलब्ध गराएको हो ।

त्यस्तै साधारणसभाकै अवसर पारेर पत्रकार महासंघ म्याग्दीले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुलाई जनही पाँचलाख रुपैयाँ बराबरको पत्रकार दुर्घटना बीमालेख (बीमा पोलिसी) हस्तान्तरण गरिएको महासंघले जनाएको छ । कार्यक्रममा वि.सं. २०८३ सालको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो । सम्मान तथा पुरस्कार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेल, नगर प्रमुख केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी आचार्य, महासंघ गण्डकीका महासचिव शर्मा तथा जिल्ला अध्यक्ष गौतमले प्रदान गर्नुभएको थियो ।




