• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको बेनी नगरपालिका ४ सिङ्गास्थित राक्सेमा सिङ्गा तातोपानी प्रहरीचौकीको नवनिर्मित भवन उद्घाटन भएको छ । कुल तीन करोड ५० लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माणसम्पन्न प्रहरीचौकी भवनको बिहीबार उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि वि.सं. २०८१ साल असारमा तीन करोड ५१ लाख सातसय २९ रुपैयाँको लागतमा प्रहरीचौकी भवनको निर्माण गरिएको थियो । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उक्त भवनको उद्घाटन गर्नुभएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनको एक समारोहबीच उद्घाटन गरिएको जनाइएको छ ।

उक्त समारोहमा बेनी नगरपालिकका नगर प्रमुख सुरत केसी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतको विशेष उपस्थिति रहेको थियो । भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, व्यारेक र शयन कक्षलगायत रहेका छन् ।

स्थापनाकालदेखि नै सिङ्गा तातोपानी प्रहरीचौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन बनेपछि नागरिकहरूलाई सेवा प्रवाह गराउन र कार्यालय सञ्चालनमा सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । भवन निर्माणका लागि सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि राक्सेमा दुई रोपनी जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएको थियो ।

सिङ्गा तातोपानी कुण्ड स्नान गर्नका लागि आएका बिरामीले तिर्ने प्रवेश शुल्कबाट सङ्कलन भएको रकमले जग्गा खरिद गरी प्रहरीलाई उपलब्ध गराइएको थियो । नवनिर्मित प्रहरीचौकी भवनबाट सुरक्षा सम्बन्धी कार्य सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ भने प्रहरीहरुलाई पनि बसाई व्यवस्थापनमा समेत राहत मिलेको छ । यसबाट सेवाग्राहीहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।