• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

शिव बानियाँ
निस्कोट गाउँको समथर उर्वरभूमी र गाउँमाथिको प्राकृतिक टावरको रुपमा रहेको डाँडा केबल ढुङ्गा र माटोको ढिस्को होइन, यो त छिमेकी ओखरबोट र रुमका तस्विरहरु सजाउने एउटा खुल्ला झ्याल हो । यहाँको हावामा यानीमाया र सुनीमायाका पुराना भाकाहरु यसरी मिसिएका छन्, मानौँ समय आफैले यहाँ विश्राम लिइरहेको छ । मगर संस्कृतिको यो उर्वरभूमीमा जब आमा समूहका पाइलाहरु लोकलयमा ठोकिन्छन्, तब लाग्छ– यहाँ ढुङ्गा र माटोले पनि पाहुनाको स्वागतमा मन्त्र जपिरहेछन् । निस्कोट केबल एउटा भूगोल मात्र नभई आतिथ्यको एउटा पाठशाला हो, जहाँ गाउँ फर्किएका लाहुरेका आँखामा खुशीको आँसु र पर्यटकका ओठमा लोक संस्कृतिको मिठास एकैसाथ नाचिरहेको भेटिन्छ । निस्कोटको काखमा एउटा जीवन्त मानचित्र सुतिरहेको छ, जसको कञ्चन हृदयमा धौलागिरि स्वयं श्रृङ्गार गर्न ओर्लने गर्छ । यो ताल केबल जलाशय मात्र होइन, प्रकृतिको त्यो ऐना हो, जहाँ हिमालले आफ्नो अहङ्कार त्यागेर मौनताको प्रतिबिम्ब खोज्ने गर्छ । जब क्षितिजको सेतो हिउँ र निलो पानीको गहिराई एकाकार हुन्छन्, तब लाग्छ कि शायद नेपालको भूगोल यहीँबाट अङ्कुरित भएको हो । यहाँको शान्त लयमा एउटा यस्तो मौन गर्जन छ, जसले भन्छ कि सुन्दरतालाई सधैँ शब्दको बैशाखी चाहिँदैन; कतिपय दृश्यहरु त आत्माले मात्र स्पर्श गर्न सक्छन् । बादलमाथिको गाउँ जहाँ ऐना जस्तै टल्किने बराहतालमा प्रकृतिको यस्तो जादु छ, जो एकपटक पुग्छ, उसले आफ्नो मन त्यहीँ छोडेर आउँछ । बराहतालको यो दृश्य हेर्न नयाँ पर्यटकले पहिलो पाइलोको चाहना राख्छ भने एकपटक पुग्नेहरु पटकपटक जाँदा पनि अघाउँदैनन् । प्राकृतिक सौन्दर्य र दैवी शक्तिको सङ्गम मानिने निस्कोटको बराह क्षेत्र केबल एउटा भूगोल मात्र नभई आस्थाको जीवन्त सङ्ग्रहालय हो । यहाँ कानीबराह र सिद्धथानले पहरेदारझैँ बसेर गाउँको रक्षा गरिरहेका छन् । मन्दिर निर्माणको क्रममा धर्तीको गर्भबाट प्रकट भएका प्राचीन गाग्री र हुक्काहरु यहाँका साक्षी हुन्, यद्यपि हुक्काको चोरीले सभ्यताको एउटा कडी हराएकोमा गाउँलेका बराह देवतालाई चढाइने हाँस र गोरे पाठा (सेतो भेडा)को बलिले यहाँको कठोर विश्वास र बलिदानको परम्परालाई बोल्छ, जसले भक्तहरुको भरोसालाई अझै मजबुत बनाएको छ ।


भीडभाडबाट टाढा, शान्तिको खोजीमा हुनेहरुको लागि २३,०० मिटरको उचाइमा रहेको म्याग्दीको लुकेको रत्न हो निस्कोट र यसको शिरमा सजिएको बराहताल । यहाँ भ्रमण गर्नको लागि असोजदेखि मङ्सिर र फागुनदेखि जेठ महिनासम्म उपयुक्त समय मानिन्छ । लुकेको रत्नभन्दा कम नभएको समथर भूमि निस्कोट एउटा गाउँ मात्र नभई प्रकृतिको अनुपम जीवन्त क्यानभास हो । बराहताल यति सफा छ कि, जहाँ निलो आकाश र सेता हिमालका चुचुराहरु ऐना जस्तै छर्लङ्गै टल्किन्छन् । तालको पानीमा मुस्कुराउने हिमाल र बिहानीको पहिलो किरणको जादुले मात्र नभई मगर संस्कृतिको न्यानोपन र समथर उर्वर बारीको ताजा अर्गानिक स्वाद अनि सहरको भीडभाडबाट टाढा, केबल हावाको सुसाहट शान्ति र हिमालयको सामीप्यले त्यहाँ पुग्नेहरुको थकान मेटाउँछ । बराहताल हिमाल मुस्कुराउँने एउटा अनौठो सुन्दर पर्यटकीय स्थल हो । जहाँ प्रकृतिको काखमा हराउन चाहनेहरुका लागि एउटा उत्कृष्ट गन्तव्य भएकोले एकपटक पुग्नैपर्ने ठाउँ हो । निस्कोट बादलमाथिको गाउँ मात्र होइन, यो त अशान्त मनका लागि एउटा शान्तिको बन्दरगाह हो । जब हामी भन्छौँ– जहाँको तालमा हिमाल मुस्कुराउँछ, तब यसले हिमाल हाँसेको होइन, बरु त्यहाँको वातावरण यति स्वच्छ र जीवन्त छ कि जसमा देवत्वको आभा देखिन्छ । विलियम वर्डस्वर्थले भनेझैँ प्रकृति कहिल्यै पनि उसलाई धोका दिँदैन, जसले उसलाई प्रेम गर्छ । निस्कोटको यात्रा गर्नु भनेको सहरको कृत्रिमताबाट मुक्त भएर प्रकृतिको वास्तविक स्पर्श पाउनु हो । महान दार्शनिक इमानुएल कान्टले भनेका छन् कि प्रकृति नै सुन्दरताको सर्वाेच्च मानक हो । निस्कोटको भौगोलिक अवस्थिति र जैविक विविधताले कान्टको यो भनाइलाई पूर्णतः चरितार्थ गर्दछ । निस्कोट एउटा यस्तो विन्दु हो, जहाँ आकाश र धर्तीको मिलन हुन्छ । मन त्यहीँ छोडेर आउनुको अर्थ मानिस भौतिक रुपमा फर्के पनि उसको चेतना र भावना त्यही प्राकृतिक शुन्यतामा विलिन हुन्छ । महात्मा गान्धीले भनेका थिए कि पृथ्वीसँग हरेक मानिसको आवश्यकता पूरा गर्ने सामथ्र्य छ, तर लोभ होइन । निस्कोटले हामीलाई त्यही सादगी र तृप्तिको सन्देश दिन्छ । यो केबल पर्यटकीय स्थल मात्र नभएर आत्मलाई साक्षात्कार गर्ने एउटा ध्यान स्थल वा मेडिटेसन हव पनि हो, जहाँ बराहतालको ऐनाले हाम्रो अन्तर आत्माको फोहोर पखाल्ने सामथ्र्य राख्छ । निस्कोटको माटोमा ओज छ र बराहतालको पानीमा तेज छ । यो गाउँ प्रकृतिको एउटा यस्तो पाण्डुलिपि हो, जसलाई पढ्न आँखा होइन, हृदयको आवश्यकता पर्दछ । अल्बर्ट आईन्स्टाइनले भनेका छन् कि प्रकृतिको गहिराइमा हेर्नुहोस्, तब तपाईँले सबै कुरा राम्रोसँग बुझ्नुहुनेछ । निस्कोट त्यही गहिराई नाप्ने एउटा दिव्य कसी हो ।


म्याग्दीको निस्कोटस्थित बराहताल केबल एउटा जलाशय मात्र होइन, यो त धर्तीले आकाशलाई हेर्ने एउटा दिव्य चक्षु हो । बराहतालको आकार टाढाबाट हेर्दा दुरुस्तै नेपालको नक्सा जस्तो देखिन्छ । यो संयोग मात्र नभएर प्रकृतिको एउटा राष्टभक्तिपूर्ण कलाकृति हो । यहाँबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो धौलागिरिका साथै गूर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े, मानापाथी लगायतका आधा दर्जनभन्दा बढी हिमालहरु र मनोरम दृश्यको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । महान दार्शनिक अरस्तुले भनेका छन्ः– “प्रकृतिका हरेक कुरामा केही न केही भव्यता लुकेको हुन्छ ।” तालको यो आकार हिमालको सामीप्य त्यही भव्यताको प्रमाण हो । यस ताललाई हिमालको ऐना भनिनुले यसको निर्मलता र स्वच्छ छविलाई बुझाउँछ । जब तालको छातीमा धौलागिरि मुस्कुराउँछ, तब आकाश र धर्तीको सीमा मेटिन्छ । अझ रोचक पक्ष, चराहरुले तालभित्र झरेका पात–पतिङ्गर टिपेर बाहिर फाल्नु प्रकृतिको स्वचालित सरसफाइको जीवन्त नमुना हो । लिओनार्दाे दा भिन्चीले भनेका थिएः– “प्रकृति कहिल्यै पनि आफ्नै नियम उल्लङ्घन गर्दिनन् ।” चराहरुको यो व्यवहारले प्रकृति आफैमा कति अनुशासित र पवित्र छ भन्ने देखाउँछ । यो तालले मानवीय चेतनालाई एउटा सन्देश दिएको छ ।


एउटा सानो चराले ताल सफा राख्न सक्ने तर मानिस प्रकृति प्रदूषित गर्ने विरोधाभासलाई यसले व्यङ्ग्य गर्छ । “जङ्गलको पुछार र गाउँको शिरान” हुनुले यो ताललाई मानव सभ्यता र जङ्गली एकान्तको सेतुको रुपमा व्यञ्जित गर्दछ । राल्फ वाल्डो इमर्सनले भनेझैँः– “प्रकृतिले सधैँ आत्माको रङ धारण गर्छ ।” बराहतालमा देखिने हिमालको प्रतिबिम्बले मानिसको मनभित्र रहेको शान्ति र स्थिरतालाई झल्काइरहेको हुन्छ । निस्कोटको बराहताल एउटा यस्तो मौन गुरु हो, जसले हामीलाई स्वच्छता, सौन्दर्य र समभाव सिकाउँछ । नेपालको नक्सा जस्तो देखिनुले यसलाई राष्ट्रिय गौरवसँग जोड्छ भने चराहरुको सेवाले यसलाई एउटा पवित्र तीर्थस्थलको रुपमा स्थापित गर्दछ । यो दृश्यले पर्यटकलाई मन्त्रमुग्ध मात्र पार्दैन, बरु सृष्टिकर्ताको जादुमयी सामथ्र्यप्रति नतमस्तक हुन बाध्य तुल्याउँछ । रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले सु–सज्जित सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँख्खै अगाडि सेता हिमालहरुको लर्कन देखिने निस्कोटको बराहतालमा पुग्ने पर्यटकहरु मज्जाले रमाउने गर्दछन् । झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्धन गर्नुपर्ने आवश्यकता रहेको छ । हिमालको वरिपरी लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको मनमोहक दृश्यले त्यहाँ पुग्ने जो कसैलाई पनि निकै अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जोसुकै भए पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिँच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको पैदल दूरीमा पर्ने बराहताल झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ ।


निस्कोट केबल म्याग्दीको मालिका र बागलुङको ताराखोला जोड्ने पुल होइन, यो दुई भिन्न भूगोल र संस्कृतिलाई एकै मालामा उन्न खोज्ने सांस्कृतिक धागो हो । यसको भौगोलिक अवस्थितिले यसलाई एउटा यस्तो चौतारी बनाएको छ, जहाँबाट दुई जिल्लाको स्पन्दन सुनिन्छ । मालिका गाउँपालिकाको दक्षिणमा रहेको क्षेत्र ढोकाको रुपमा खडा छ । यहाँको ४९१ घरधुरी मात्र घरहरुको संख्या होइन, यो पहाडको छातीमा कोरिएका ४९१ वटा आँखीझ्याल हुन्, जसले गाउँपालिकाको भविष्य नियालिरहेका छन् । अङ्कहरु बोल्दैनन्, तर तिनीहरुले सुनाउने मौन कथाहरु धेरै शक्तिशाली हुन्छन् । यहाँको जनसंख्याले केही गम्भीर सामाजिक यथार्थलाई व्यञ्जित गर्छ । १,९९४ को कुल जनसंख्यामा १०२६ महिला र ९६८ पुरुष हुनुले नेपालको हिमाली–पहाडी समाजको एउटा कटु यथार्थलाई प्रतिविम्बित गर्छ । वैदेशिक वा सहरी रोजगारीको लागि पुरुषहरुले बाहिरी दुनियाँको खोजी र गाउँको घरआँगन, खेतबारी र सामाजिक संरचना धान्न महिलाहरुले खेलेको मुख्य भूमिका यहाँको तथ्याङ्कको हरफ हरफमा पढ्न सकिन्छ । यहाँ महिलाको संख्या बढी हुनुको अर्थ निस्कोट गाउँको संस्कृति र घरपरिवार महिलाको पौरखमा टिकेको छ भन्ने हो । गाउँपालिकाको जनसंख्याको मुख्य हिस्सा मालिकामा हुनु र निस्कोट त्यसमा पनि एउटा महत्वपूर्ण कडी हुनुले यहाँको विकासको गतिले सिङ्गो पालिकाको मुहार फेर्ने क्षमता राख्छ भन्ने सङ्केत गर्दछ । यसमा दिइएको तथ्याङ्क केबल संख्याको खेल होइन, यो निस्कोटको आत्मा हो । निस्कोट मालिका गाउँपालिकाको त्यो धड्कन हो, जसले बागलुङ्सँगको नाता जोड्दै आफ्नै माटोमा उभिएर भविष्यको सपना बुनिरहेको छ । क्षेत्रफलको हिसाबले सानो देखिए पनि यहाँको धर्तीले दिएको माया र मानिसहरुमा मनको फैलावट निकै विशाल छ । भौगोलिक विकटताका बीच पनि यहाँको जीवन स्पन्दनशील र जीवन्त छ । यसले गाउँको चुलोचौकादेखि खेतबारी र सामाजिक गतिविधिसम्म नारी शक्तिको बाहुल्य र सहनशीलताको कथा बोल्छ । पुरुषहरु रोजगारी वा अध्ययनका लागि बाहिरिँदा पनि गाउँको अस्तित्व, संस्कृति र माटोलाई धानेर राख्ने आमा र दिदीबहिनीको काँधको बलियोपनलाई यसले मार्मिक रुपमा चित्रण गर्दछ ।


तथ्याङ्कको चिसो संख्याभन्दा पर, निस्कोट एउटा यस्तो गाउँ हो जसले भूगोललाई मात्र होइन, मानवीयतालाई जोडेको छ । मालिका गाउँपालिकाको जनसंख्याको भारलाई थेग्ने यो थलो, संख्यात्मक रुपमा सानो भए पनि आत्मीयता र जीवन्तताका दृष्टिले निकै समृद्ध छ । सानो क्षेत्रफलमा २ हजारको हाराहारीमा मानिसहरुको उपस्थिति हुनुले यो ठाउँमा एकाग्रताको भाव बोध गराउँछ । यो भीडभाड होइन, यो त सामुदायिक आत्मीयताको घनत्व हो । जहाँ बागल्ुङ् र म्याग्दीको सिमाना जोडिएर पनि मानिसहरु छुट्टिएका छैनन्, बरु एक–अर्काको दुख–सुखका साझेदार भएका छन् । कुल १७ दशमलव तीन वर्ग किमीमा फैलिएको निस्कोट मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिकाको पुलको रुपमा रहेको यो गाउँ मालिका गाउँपालिकाको दक्षिण भागमा पर्दछ । २०७८ सालको जनगणनानुसार, नेपालको जनसंख्या २,९१, ६४, ५७८ रहेको छ भने गण्डकी प्रदेशमा २४,६६,४२७ जनसंख्या छ । म्याग्दी जिल्लाको जनसंख्या १,०७,०३३ रहेको छ भने बेनी नगरपालिकामा ३२,६९७ जनसंख्या छ । एकमात्र नगरपालिका र ५ वटा गाउँपालिकाहरु रहेको म्याग्दीका गाउँपालिकाहरुमध्ये सबैभन्दा धेरै जनसंख्या रहेको गाउँपालिका मालिका हो । निस्कोट गाउँ समेत रहेको मालिका गाउँपालिकामा १८,३३२ जनसंख्या छ । मालिका गाउँपालिका–१ निस्कोटमा १ हजार ९ सय ९४ जनसंख्यामध्ये महिला १ हजार २६ र पुरुष ९ सय ६८ रहेका छन् ।


नीलो आकाशको ऐना बनेर बसेको निस्कोटको बराहताल यतिबेला वसन्तको सुगन्धसँगै पाहुना कुरिरहेको छ, जहाँ सडकको सञ्जालले दूरीलाई खुम्चाइदिएपछि पाइलाहरु थ्कित हुनुपर्देन । बुटवल वा काठमाडौँदेखि बेनी–दरबाङ् हुँदै मोटरको सुस्साइमा सिधै तालको आँगनमै पुग्न सकिने भए पनि, दरबाङ्बाट उकालो लाग्दा भेटिने पसिनाको स्वाद र मगर संस्कृतिको न्यानोपनको आतिथ्यमा छुट्टै जादु लुकेको छ । स्थानीय उत्पादनहरु कोदो, फापर र सिस्नोको अर्गानिक सुगन्ध आउने स्थानीय होमस्टेहरुमा रात बिताउँदा सहरिया कोलाहल बिर्सिइन्छ भने, एकबिहानै तालको शान्त जलमा हिमालले आफ्नो स्वरुप नियाल्दा लाग्छ– यो यात्रा केबल भूगोलको घुमघाम होइन, प्रकृतिसँगको एउटा मौन अन्तर्वार्ता हो । त्यसैले, झोलामा न्यानो कपडा र मनमा सरसफाइको सङ्कल्प बोकेर हिँड्ने हो भने निस्कोटको यो एकान्त स्वर्गले तपाईँको प्रतीक्षा गरिरहेको छ ।
                                                    लेखक बानियाँ, जनकल्याण मावि पुलाचौर, म्याग्दीमा अध्यापनरत हुनुहुन्छ ।