• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

प्रदेश अस्पताल बेनी म्याग्दीको आयोजना र मिलन म्याग्दीको प्राविधिक सहयोगमा सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण प्रतिवेदन प्रस्ुतीकरण गर्नुका साथै सार्वजनिक सुनुवाइ समेत गरिएको हो ।

कार्यक्रममा सामाजिक परीक्षण गरेको संस्था मिलन म्याग्दीको तर्फदेखि विष्णु रोकामगरले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन अनुसार गएको आवमा प्रदेश अस्पताल बेनी म्याग्दीबाट कुल ८९ हजार १ सय ५५ जनाले सेवा लिएकोमा चालु आवको फागुन मसान्तसम्म कुल ६० हजार ६ सय ४६ जनाले प्रत्यक्ष रुपमा सेवा पाएका छन् ।

यसैगरी चालु आवमा फागुनसम्म ओपिडीतर्फ ५५ हजार २ सय ६३ जना, इमरजेन्सी ५ हजार ३ सय ८३, दन्त सेवा १५ सय ४४, आँखा परीक्षण ११ सय ५३, ल्याव २१ हजार ९ सय ४५, युएसजी ६ हजार ३ सय २०, एक्सरे १३ हजार ८ सय ३३, ईजिसी ४१ सय ४०, खोप ९५५, रिफर ४४ सय ४२, भर्नासहित उपचार १४ सय ९२, डेलिभरी १९५, शल्यक्रिया १ हजार ३३, प्लाष्टर ५८१, ज्येष्ठनागरिक सेवा ६३०, सुरक्षित गर्भपतन २२६ र परिवार नियोजन ३८१ जनाले सेवा लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै अस्पतालमा सामाजिक सेवा इकाइबाट विपन्न, गरिब तथा कैदीबन्दीले सेवा लिएका छन् भने हेमाडायलाईसीस सेवा गएको आवमा ४१ र चालु आवमा ३७ जनाले लिइरहेका छन् । यसका साथै क्षयरोगका ९२, फिजियोथेरापी ४१६ र मानसिक स्वास्थ्यसम्बन्धी ९६८ जनाले सेवा लिएका छन् । गएको आवमा निःशुल्क प्रसुति सेवा लिनेहरु ४१५ जना रहेका छन्भने एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)मा सेवा लिनेहरु गतवर्ष ४६ र चालु आवको फागुनसम्म ४७ जना रहेको प्रतिवेदन प्रस्तुतकर्ता रोकाले जानकारी दिनुभयो । स्वास्थ्य संंस्थामा सामाजिक परीक्षण गर्नुको मुख्य उद्देश्य स्वास्थ्य संस्थालाई आमनागरिक विशेषगरी महिला, गरिब, जोखिममा रहेका, पिछडिएका वर्ग एवं बञ्चितिमा परेका समुदाय र दुर्गम क्षेत्रप्रति उत्तरदायी भएर उनीहरुप्रति संवेदनशील र जवाफेदही बनाउनु रहेको जनाइएको छ ।

सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी म्याग्दी जिल्लाका सरोकारवालाहरुले प्रदेश अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका उनीहरुले अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरी उपलब्ध स्रोतसाधनको प्रयोगमा प्रभावकारी सेवाप्रवाह गर्नुपर्नेमा बताउँदै अस्पतालको सेवाप्रवाह प्रभावकारी भएकाले अन्य सेवासुविधालाई पनि व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले प्रदेश अस्पताल बेनीको नयाँ भवनलाई पूर्ण सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन र आवश्यक सहयोगका लागि जिल्ला समन्वय समितिबाट पहल गरिएको बताउनुभयो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रदेश अस्पताल बेनी म्याग्दीको सेवा प्रवाहलाई आगामी दिनमा थप प्रभावकारी बनाउनको लागि आवश्यक सहयोग गरिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुविन श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापनको लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त बाँस्तोलाले कार्यक्रममा उठाइएका सवालको जवाफसहित अस्पतालको समग्र प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रदेश अस्पताल बेनी म्याग्दीको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले सामाजिक परीक्षण प्रतिवेदनमार्फत आएका सल्लाह तथा सुझावलाई समेटेर कार्ययोजना निर्माण गरी अस्पतालको विकासमा अगाडि बढाइने बताउनुभयो । कार्यक्रम मिलन म्याग्दीको कार्यसमिति सदस्य कमला रामदामको सञ्चालनमा सम्पन्न भएको थियो ।