• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com
फागुन २६, २०८१ सोमबार । रुप्से न्यूज
म्याग्दी– हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार देशैभर द्वितीय हुन सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजामा बेनी नगरपालिकाले देशैभरमा द्वितीय स्थान हासिल गरेको हो ।
सार्वजनिक भएको कार्यसम्पादन मूल्याङ्कन अनुसार बेनी नगरपालिका द्वितीय भई ८१ दशमलव १७ अङ्क पाएको छ भने प्रथम हुने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले ८१ दशमलव ६६ अङ्क पाएको छ । यसैगरी आयोगले गरेको मूल्याङ्कनको नतिजामा ईलामको सूर्योदय नगरपालिकाले ८० दशमलव १५ अङ्कसहित तृतीय र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ८० दशमलव १३ अङ्क पाएर चौथो स्थान कायम गरेको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनको नतिजा अनुसार म्याग्दीको मंगला गाउँपालिकाले ६९ दशमलव ४९, रघुगंगाले ६९ दशमलव ३५, मालिकाले ६८ दशमलव ७५, अन्नपूर्णले ५९ दशमलव ९६ र धवलागिरि गाउँपालिकाले ४० दशमलव ८३ अङ्क पाएका छन् । आयोगले देशभरका स्थानीय तह र सातवटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा गरेका कार्यसम्पादनलाई १७ वटा सूचकहरुको आधारमा रहेर अन्तिम मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको जनाएको छ । सोहीअनुसार आयोगले हरेक वर्ष कार्यसम्पादनको मूल्याङ्कन गरेर अङ्क प्रदान गर्दै आइरहेको छ ।
आयोगले स्थानीय सरकारले हरेक वर्ष असार १० गतेभित्रै आगामी आर्थिक वर्षको लागि आयव्ययसहितको अनुमानित बजेट सम्बन्धित गाउँ तथा नगरसभामा पेश गरे÷नगरेको, आगामी आवको राजश्व र व्ययको अनुमान असार मसान्तभित्र पारित गरे÷नगरेको, स्थानीय तहले सङ्कलन गर्ने घरजग्गा रजिष्टेशन शुल्क, मनोरञ्जन तथा विज्ञापन करवापत उठेको रकममध्ये ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आयव्यय पक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको विषयमा आधारित रहेर कार्यसम्पादनको मूल्याङ्कन गर्ने गर्दछ ।
यसैगरी आयोगले स्थानीय तहले आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यान्वयन वार्षिक समीक्षा गरी त्यसको विवरण कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र राजश्व परिचालनको अवस्था, गत आवमा विनियोजित रकमअनुसार खर्चको अवस्था, आव ०७९÷८० मा कुल लेखापरीक्षणबाट औल्याएका बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)को प्रयोग गरे÷नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी खुद भर्नादर, शैक्षिक सत्र २०८० मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउदर तथा स्वास्थ्यसम्बन्धी विभिन्न सूचकहरुलाई आधार बनाएर मूल्याङ्कन गरको जनाएको छ ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पारित भएको बजेट र आवधिक योजनामा छुट भएको विवरणलाई वित्त आयोगले तोकेको समय सीमाभित्र पेश गरेको आधारमा कार्यसम्पादनको मूल्याङ्कनमा अङ्क बढेको बताउनुभयो । सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले प्रभावकारी कार्यसम्पादन गरेको बताउँदै उनले यसमा जनप्रतिनिधि, कर्मचारी र नगरवासी सबैको सहयोग मिलेको बताउनुभयो ।
आयोगले गरेको मूल्याङ्कनमा उत्कृष्ट अङ्क आएको हुँदा नेपाल सरकारले स्थानीय तहलाई उपलब्ध गराउने समानीकरण अनुदानको बजेटमा वृद्धि हुने बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । समयमा नगर सभामा बजेट पेश तथा समयमै पारित, खर्चको अख्तियारी र आर्थिक अनुशासन कायम गर्दै बेरुजु न्यूनीकरणमा ध्यान दिइएको हुँदा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा आएको उहाँको भनाइ छ ।