फाइल तस्विर
कात्तिक १२, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने विश्वको सातौँ अग्लो चुचुरो धौलागिरि हिमालको आधारशिविर हुँदै हिडन भ्याली पुगेका पर्यटकलाई समस्या भएको छ । मौसम परिवर्तन भएर सोमबार साँझदेखि हिडन भ्याली क्षेत्रमा बाक्लो हिमपात भएपछि उनीहरु अलपत्र परेका हुन् ।
म्याग्दीको मुदी हुँदै पदयात्रामा निस्किएका ३ विदेशी पर्यटकसहित १५ जना राउण्ड धौलागिरिको फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा हिडन भ्यालीमा परेको हिमपातका कारण रोकिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । उनीहरु सोमबार साँझदेखि बुधवार बिहानसम्म हिडन भ्यालीमै रोकिएको भए पनि दिउँसो हिडन भ्यालीभन्दा केही तल झरेको जानकारी प्राप्त भएको मुस्ताङ प्रशासनको भनाइ छ ।
राउण्ड धौलागिरिको फन्को लगाएका ३ जना ब्रिटिस महिला पर्यटक र १२ जना नेपाली गाइड तथा भरियाको टोलीको उद्धार एवं आवश्यक सहयोग गर्नका लागि मुस्ताङबाट १४ जना सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताउनुभयो । हिमपात परेको अवस्थामा उद्धार गर्न सक्ने तालिम प्राप्त दक्ष जनशक्ति नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली हिडन भ्यालीमा रोकिएर तल झरेका पर्यटक तथा गाइडहरुको उद्धार गर्नका लागि त्यसतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो ।
अहिले उक्त सुरक्षाकर्मीको टोली मुस्ताङको याकखर्कस्थित नेपाली सेनाको उच्च शिखर सैनिक शिक्षालयमा पुगेर बास बसेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । ब्रिटिस महिला पर्यटकलाई लिएर नेपालीको टोली सेक्रेट हिमालय टे«ड एण्ड एक्सपीडिसन ट्राभल एजेन्सीमार्फत राउण्ड धौलागिरिको पदयात्रामा निस्किएको थियो । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित इटाली आधारशिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा निस्कने क्रममा सोमबारदेखि परेको निरन्तरको हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र ३ जना बेलायती पर्यटकहरू हिडन भ्यालीमै रोकिएका हुन् ।
बुधवार हिमपात केही कम भएपछि हिडन भ्यालीबाट हिँडेर उनी केही तल आइपुगेको ट्राभल एजेन्सीमार्फत आफूलाई जानकारी आएको मुस्ताङका प्रजिअ भुसालले बताउनुभएको छ । उहाँका अनुसार आफूसहित जिल्लाको सुरक्षा निकायको टोली बुधवार दिउँसो ४ हजार मिटरको उचाई याकखर्कसम्म पुगेर फर्किएको छ । प्रजिअ भुसालले भोलिसम्म पर्यटकसहितको टोली याकखर्क वा मार्फासम्म झर्ने अनुमान गर्नुभयो । हिडन भ्याली आसपासको क्षेत्रमा फोन सम्पर्क हुँदैन भने त्यहाँ बस्नका लागि घरहरु पनि छैनन् ।
ट्राभल एजेन्सी सेक्रेट हिमालय ट्रेड एन्ड एक्सपीडिसनका अनुसार बेलायती नागरिकहरु म्यारी रिप्पे, क्यारिराइन विल्सन र ईमिल्ली क्याट्स राउण्ड धौलागिरि हिमालको पदयात्रामा निस्किएका हुन् । मौसम प्रतिकूल बनेको कारणले गर्दा फोन सम्पर्क र उद्धारमा समस्या भैरहेको छ । मुस्ताङबाट सुरक्षाकर्मी पठाएर उद्धारको तयारी भैरहेको प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
बुधवार बिहानसम्म हिडन भ्यालीमा रोकिएका पर्यटकसहितको टोलीसँग सम्पर्क भएको प्रहरीले जनाएको छ । यसैबीच हिडन भ्याली हुँदै नेपालीसहित जापानी पर्यटक १२ जनाको टोली याकखर्क आएर बसेको र उनीहरुले हिडन भ्यालीबाट ब्रिटिस पर्यटकसहितको टोली सुरक्षितसाथ तल झरेको बताएका छन् ।



