• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

निःशुल्क दन्त शिविरमा ९५ जना लाभान्वित

पुस १६, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बुधवार क्याम्पस परिसरमा निःशुल्क दन्त परीक्षण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ३५औं वार्षिकोत्सवको अवसरमा क्याम्पसको आयोजना र निलगिरी डेन्टल केयर हुलाकचोक बेनीबजार म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी, अध्ययनरत विद्यार्थी, सञ्चालक समिति तथा अभिभावकहरु गरी कुल ९५ जनाको दन्त परीक्षण गर्नुका साथै आवश्यक परामर्श सेवा प्रदान गरिएको छ । शिविरको निलगिरी डेन्टल केयरका डेन्टल सर्जन डाक्टरद्वय सोनु पौडेल र महिमा पौडेलसहित अन्य प्राविधिक टिमले सहभागीहरुको दाँतको चेकजाँच गरी समस्या पहिचान गरेर उपचार गर्नुभएको थियो ।

उक्त शिविरमा डेन्टल सर्जनसहितको प्राविधिक टिमले सहभागीहरुमा दन्त परीक्षण गर्नुका साथै आवश्यक सल्लाह तथा परामर्श सेवाको साथमा समय समयमा दाँतको परीक्षण गरी उपचार गर्न सुझाव समेत दिएको थियो । म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न निःशुल्क दन्त शिविर कार्यक्रममा प्राविधिक टिमसहित दन्त परीक्षण गरी सहयोग पु¥याएको भन्दै निलगिरी डेन्टल केयरलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

यसैगरी दन्त परीक्षण शिविरका डाक्टरसहितको प्राविधिक टोलीलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ । यसअघि मङ्गलवार क्याम्पसको वार्षिकोत्सवकै अवसरमा प्रदेश अस्पताल बेनी म्याग्दीको परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ईको क्लब म्याग्दी बहुमुखी क्याम्पस बेनीको आयोजनामा अस्पताल परिसर क्षेत्रमा सरसफाइ गरिएको थियो । उक्त सरसफाइ कार्यक्रम अन्तर्गत प्रदेश अस्पताल बेनीमा रहेको फोहोरलाई एकीकृत रुपमा सङ्कलन गरी उचित तरिकाले व्यवस्थापन गरिएको थियो ।

क्याम्पस प्रमुख श्रीधर सुवेदीको अध्यक्षता, प्रदेश अस्पताल बेनी म्याग्दीको व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँको प्रमुख आतिथ्य, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्त बाँस्तोला, म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र सहायक क्याम्पस प्रमुखद्वय नारायणप्रसाद सुवेदी र भोलानाथ घिमिरेको विशेष उपस्थितिमा अस्पताल परिसरमा सरसफाइको कार्यक्रम सम्पन्न भएको थियो । आउँदो शुक्रवार मूल कार्यक्रम आयोजना गरेको म्याग्दी बहुमुखी क्याम्पसले गएको आइतबारदेखि विविध कार्यक्रमहरुको आयोजना गरेर ३५औं वार्षिकोत्सव मनाइरहेको छ ।

यसअघि म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बेनी नगरपालिका ५ पुलाचौरको जनकल्याण माध्यमिक विद्यालय र ७ नम्बर वडा बेनीमा सञ्चालित बेनी सामुदायिक माविमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर सामाजिक सञ्जालको प्रयोग सम्बन्धी विषयमा साईबर सेक्युरिटी वर्कशप कार्यक्रम सम्पन्न गरेको सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

म्याग्दी क्याम्पसको आयोजना, रिक म्याग्दीको आर्थिक सहयोग र आईसिटी क्लबको प्राविधिक सहयोगमा उक्त वर्कशपअन्तर्गत विद्यार्थीहरुलाई सामाजिक सञ्जालको प्रयोग, यसका फाइदा र बेफाइदा, प्रयोग गर्ने तरिका, साईबर अपराध र बच्ने उपायसहित विभिन्न विषयमा सहजीकरण गरिएको थियो ।

समुदायको अगुवाइमा वि.सं. २०४८ साल पुस १८ गते म्याग्दी बहुमुखी क्याम्पसको स्थापना भएको थियो । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अहिले ८ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । धौलागिरि क्षेत्रमै पहिलोपटक २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट म्याग्दी क्याम्पसले क्युएए प्राप्त गरेको थियो ।