असोज २८, २०८२ मङ्गलवार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क दन्त शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेलम्बो नेपाल र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको संयुक्त आयोजनामा विद्यालयको प्राङ्गणमा दन्त शिविर सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।

गएको शुक्रवारदेखि मङ्गलवार पाँच दिनसम्म सञ्चालित दन्त शिविरमा तीनसय भन्दाबढी स्थानीयवासीले प्रत्यक्ष रुपमा दन्त सेवा पाएका छन् । बेनीको ४ नम्बर वडाको सिङ्गा, तातोपानी, पखेरसहित आसपासका स्थानबाट शिविरमा दन्त सेवा लिनका लागि दाँतका बिरामी तथा सर्वसाधारणहरु आएका थिए । शिविरमा कुल ३ सय २५ जनाले सेवा लिएको आयोजक संस्था नेलम्बो नेपालले जनाएको छ ।

उक्त शिविरमा सेवा लिन आएकामध्ये ६४ जनाको दाँत भरिएको छ भने १ सय २१ जनामा किराले खाएको दाँत निकालिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार शिविरमा १ सय ६० जनामा दाँतको एक्सेर गरिएको थियो भने ९८ जनाको दाँत सफा गरिएको छ । तीमध्ये ५ जनामा दाँतको आरसिटी गर्नुका साथै अन्यको जरैदेखि दाँत भर्ने र सरसफाइ तथा नमिलेका दाँतलाई मिलाइएको कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो ।

दन्त शिविर तथा सचेतनामूलक कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मानव स्वास्थ्यमा सबैभन्दा दाँत संवेदनशील अङ्ग भएकाले दाँतको सुरक्षा र सरसफाइमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा शिविर अत्यन्तै राम्रो भएकाले आयोजक संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा बेनी नगरपालिकाको पहलमा दन्तलगायत अन्य स्वास्थ्य शिविरहरु सञ्चालन गरिने जानकारी समेत दिनुभयो । दन्त शिविरमा पहिचान भएका गम्भीर प्रकृतिका बिरामी तथा विपन्नको उपचारमा आवश्यक पहल गरिने नगर प्रमुख केसीको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेलम्बो नेपालका कार्यक्रम संयोजक भण्डारीले संस्थामार्फत म्याग्दीको अन्नपूर्ण, रघुगंगा र मंगलाका विभिन्न ७ जना विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्नका लागि सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले दन्त शिविरमा खर्चको हिसाबले नौलाख २० हजार रुपैयाँ बराबरको सेवा प्रदान गरिएको बताउँदै गाउँमा सञ्चालित शिविरले स्थानीयवासीको पैसा र समयको बचत समेत भएको बताउनुभयो ।

कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का र सेवाग्राहीको तर्फबाट सहभागी मिना जुग्जालीले मन्तव्य व्यक्त गर्दै दन्त शिविर अत्यन्तै फलदायी र प्रभावकारी बनेकाले आगामी दिनमा यस्ताखाले शिविरहरु सञ्चालनलाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो । दन्त शिविरमा दन्तरोग विशेषज्ञ डाक्टर दिक्षा क्षत्री, डेन्टल हाईजेनिष्ट अस्मिता खाँड शाही, वर्षा थापामगरसहितको टोलीले दाँत सम्बन्धी समस्याको उपचार गर्नुका साथै सर्वसाधारणहरुलाई परामर्श सेवा उपलब्ध गराउनुभएको थियो ।

समापनसत्रमा आयोजक संस्थाको प्राविधिक टोली र स्थानीय सहयोगी संघसंस्थाहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाका सभापति सुमन बानियाँको अध्यक्षता र उपसचिव रमेशप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । गतवर्ष दन्त शिविर बेनी नगरपालिका ४ नम्बर वडाको डाँडाखेतमा सञ्चालन गरिएको थियो ।

समाजकल्याण परिषद, जिल्ला प्रशासन कार्यालय म्याग्दी, बेनी नगरपालिका, ४ नम्बर वडा कार्यालय समन्वय रहेको दन्त शिविरमा तातोपानी कुण्ड व्यवस्थापन समिति, रेडक्रस म्याग्दी शाखा, सरस्वती मावि, तातोपानी होटल तथा रेष्टुरेण्ट इकाई समिति, तातोपानी तल्लो र उपल्लो बजार टोल विकास संस्था, जलमाई भगवती आमा समूह, हटस्प्रिङ युवा क्लब, सिङ्गा स्वास्थ्यचौकी र लायन्स क्लब अफ तातोपानीले विशेष सहयोग गरेका थिए ।



