• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

‘सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने मूल नारासहित आइतबार ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । गणेशथान आमा समूह जलजला–७, पर्वतको आयोजना र जलजला गाउँपालिकाकाको सहयोगमा मिलनचोकमा एक कार्यक्रम गरी दिवस मनाइएको हो ।

अन्तर्राष्ट्रिय नारी दिवसमा ‘उद्यमशिलतामार्फत महिला सशक्तिकरण विषयक’ अन्तर्क्रिया र छलफल समेत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले समाज रुपान्तरण तथा परिवर्तनका लागि रचनात्मक र सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेकाले गाउँपालिकामार्फत यस्ता लक्षित कार्यक्रमहरुमा जोड दिइएको बताउनुभयो ।

महिला हिंसा न्यूनीकरण तथा अन्त्य गर्नका लागि महिला दिदीबहिनीहरु आर्थिक उपार्जन र उत्पादनका क्षेत्रमा जोडिन आवश्यक रहेको बताउँदै उत्पादित सामानको बजारीकरणमा आवश्यक सहयोग गर्ने गाउँपालिकाका उपाध्यक्ष आचार्यको भनाइ छ । आर्थिक परनिर्भरता कम गर्न सकेको खण्डमा महिलामाथि हुने सबै प्रकारका हिंसाहरुको समेत न्यूनीकरण हुने बताउँदै समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख विन्दु शर्मा, शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक शिक्षा, देवी रिजाल, म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीका अध्यक्ष सुगम श्रेष्ठ, मार्कण्ड्य उद्यमशील सहकारी संस्थाका कोषाध्यक्ष रिता दर्जी र फर्से धाईरिङ माध्यमिक विद्यालयका शिक्षक आकृति सुवेदीले मन्तव्य व्यक्त गर्दै आफूहरु उच्च तहमा पुगेको भए पनि महिला भएकै कारण भोग्नुपरेका विभिन्न समस्या र चुनौतीको बारेमा आ–आफ्नो अनुभव समेत सुनाउनुभएको थियो ।

कार्यक्रमको अवसरमा महिला उद्यमीहरु शर्मिला जोशी श्रेष्ठ, कुमकुमारी हमाल र अम्बिका श्रेष्ठले बाटेको धुप बनाउने सिप सम्बन्धी विषयमा सहभागी महिला दिदीबहिनीहरुलाई सिकाउनुभएको थियो । कार्यक्रम गणेशथान आमा समूहका अध्यक्ष सुनिता बरुवाल जिसीको अध्यक्षता, उपाध्यक्ष सीता थापाको स्वागत र सचिव जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जलजला ४ लामाखेतदेखि ८ फर्सेसम्मका विभिन्न आमा समूह तथा महिला सहकारीका करिब १ सयजना महिलाहरुले सहभागिता जनाएका थिए । सहभागीहरूले मोहनचोक र मिलनचोक बजारमा प्लेकार्ड र नारासहित ¥याली निकालेका थिए । बजार परिक्रमापश्चात् कार्यक्रमस्थलमा पुगेपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई स्थानीय कृषकहरूले उत्पादन गरेको लोकल मोही र महिला उद्यमीले भुटेको मकै खाजास्वरुप वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति गाउँपालिकाका उपाध्यक्ष आचार्यलाई मायाको चिनो समेत भुटेको मकै दिँदै आगामी दिनमा पालिकाले लोकल उत्पादनको प्रयोगमा ध्यान दिन अनुरोध गरिएको थियो । आफूले सिप सिकेर घरमा प्रयोग गर्ने धुप आफै बनाउन सकेमा खर्च कम हुनुका साथै उद्यमी समेत बन्न सकिने साथै मञ्चभरी महिलाहरुलाई अथितिको रुपमा देख्दा र उहाँहरुको अनुभव सुन्दा सहभागीले खुशी व्यक्त गरेका थिए ।