• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

सङ्घीय नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने हिमाली जिल्ला म्याग्दी नेपालको कान्छो हिमाली जिल्ला हो । देशको सङ्घीय राजधानी काठमाडौँदेखि २ सय ८१ किलोमिटर टाढाको दूरीमा रहेको यस म्याग्दीमा सङ्घीयताको कार्यान्वयनसँगै विभिन्न ६ वटा पालिका गठन भएका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिकामध्ये म्याग्दीको मंगला गाउँपालिका पनि एक हो । साविकको कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मन गाविसलाई विभिन्न ५ वटा वडाहरुमा विभाजन गरी मंगला गाउँपालिकाको स्थापना गरिएको छ । जिल्लाको कुल क्षेत्रफलमध्ये ८८ दशमलव ८४ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकाको वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार कुल १४ हजार ६ सय ८८ जनसङ्ख्या रहेको छ । मंगला गाउँपालिकाले पनि स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिएर आफ्ना कार्यक्रमहरु अगाडि बढाइरहेको छ । यसै सन्दर्भमा स्वास्थ्य सम्बन्धी समग्र विषयमा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालसँग जगन्नाथ मिडिया प्रालिद्वारा सञ्चालित रुप्से न्यूज डटकमका लागि सम्पादक प्रताप बानियाँले गरेको कुराकानी  :

मंगला गाउँपालिकाले जनताको स्वास्थ्य सुधारका लागि के कस्ता योजना वा कार्यक्रमहरू अगाडि सारेको छ ? 

मंगला गाउँपालिकाले विशेष गरेर स्वास्थ्य सबैभन्दा महत्वपूर्ण धन भएको हुनाले जनताहरूलाई स्वस्थ राख्नको लागि विभिन्न पहलहरु गरेको छ । मानव स्वास्थ्यलाई विशेष ध्यान दिएर दैनिक रुपमा योगाभ्यास गर्ने, गराउने पनि गरेको छ भने खानपानकै कारणले गर्दा विभिन्न खालका रोगहरू सिर्जना हुने भएको हुँदा योग, ध्यान गर्नेतर्फ पनि विशेष रुपमा हामीले ध्यान दिएका छौँ । अर्कोतर्फ के हो त भन्दा, योग, ध्यान गरेर मात्रै भएन । त्यसकारणले गर्दा हामीहरूले व्यवस्थित ढङ्गले जे गर्न सक्छौँ, त्यो जनतालाई चाहिँ स्वास्थ्य सेवाको पहुँच पु¥याउनको लागि सङ्घीय सरकारबाट प्राप्त बजेटहरूलाई, सशर्तका बजेटहरू जस्तै पोषण सम्बन्धीका कुराहरू, खोप सम्बन्धीका कुराहरू यी जति पनि छन्, ती सबैलाई सशक्त ढङ्गबाट हामीले कार्यान्वयन गरिरहेका छौ । यसका साथै औषधीहरूको व्यवस्थापनतर्फ पालिकाले औषधीहरू किनेर औषधीहरूको अभाव नहुने गरी सबै स्वास्थ्यचौकीहरूमा औषधीहरूको पर्याप्त व्यवस्थापन र त्योबाहेक अलि विकट क्षेत्रहरूमा जहाँ कि स्वास्थ्यको पहुँच नपुग्ने, स्वास्थ्य सेवा प्राप्त गर्न नसकेका, पहुँच नपाएका, पहुँच नपुगेका व्यक्तिहरूका लागि जोड दिएका छौं । हालै मात्र पनि हामीले ओएनएम गरेर मंगला गाउँपालिका वडानम्बर २ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ । पूर्णगाउँमा स्थानीय माग र चाहना अनुसार गाउँघर क्लिनीक सञ्चालनका लागि कुँहुँ स्वास्थ्यचौकीको कर्मचारीहरूलाई त्यहाँ खटाएर गाउँघर क्लिनीकमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने हामीले लक्ष्य राखेका छौँ । अब त्यही अनुसारको प्रक्रियाहरू पनि अगाडि बढिराखेको अवस्था छ ।

गाउँपालिकाले विशेष गरी गर्भवती र सुत्केरी महिलाहरुलाई लक्षित गरेर कस्तो खालका कार्यक्रमहरु सञ्चालन गरेको छ ?

गर्भवती र सुत्केरी महिलाहरू जो आर्थिक रुपमा विपन्न वर्गका छन्, उनीहरुमा सुत्केरी महिलाहरूलाई यातायात खर्च उपलब्ध गराउने, निःशुल्क औषधी वितरण गर्ने र अन्य आवश्यक सहयोगहरु गर्दै आएको अवस्था छ । यसका साथै संस्थागत सुत्केरीलाई चाहिँ प्रोत्साहन गर्नको लागि यातायात खर्च र सुत्केरी पोषणमा सहयोग जस्ता क्रियाकलापहरू हामीले गरेका छौँ भने, अर्कोतर्फ उनीहरूलाई पोषणको अभाव रहन सक्छ जस्तै विपन्न परिवारहरू, त्यस्ता व्यक्तिहरूलाई पनि हामीले पोसिलो खानाको लागि उपाध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत कुखुराको भालेलगायत पौष्टिक आहारमा सहयोग गर्र्दै आइरहेका छौं । उनीहरुलाई सुत्केरी भैसकेपछि पौष्टिक तत्व र आहारविहारका लागि आवश्यक सहयोग र पैरवी गर्ने गरिएको छ ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्रको व्यवस्थापन कसरी गर्नुभएको छ र यसका चुनौतीहरू के–के छन् ?

स्वास्थ्यको व्यवस्थापनतर्फ विशेष गरेर समस्या भन्नुपर्दा सामुदायिक स्वास्थ्य इकाइहरू जनताको पहुँच नपुग्ने ठाउँहरूमा छन् । जस्तै हाम्रो ४ नम्बर वडा, सिङ्गो स्वास्थ्यचौकी हुनुपर्ने तर अहिलेसम्म पनि स्वास्थ्यचौकीको अनुमति प्राप्त भएको छैन । त्यहाँ हामीले सामुदायिक स्वास्थ्य इकाइमार्फत जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराइराखेका छौँ । त्योबाहेक अन्य ठाउँहरू, जस्तै धारा, हिदी, जहाँ कि हाम्रो सामुदायिक स्वास्थ्य इकाइहरू छन् । ती ठाउँहरुमा पनि कर्मचारी खटनपटन गर्दाखेरी अब स्थानीय सरकारले नै व्यहोर्नुप¥यो । त्यसकारणले गर्दा त्यस्ता निम्न आयस्रोत भएको कारण आम्दानीका स्रोतहरू कम हुँदा आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापनमा निकै कठिनाई परिरहेको छ । संघीय सरकार र प्रदेश सरकारको आश गर्नुपर्ने अवस्थामा यस्ता स्वास्थ्य सेवाको पहुँच नपुगेको ठाउँहरूमा स्वास्थ्य सेवा सञ्चालन गर्न हामीहरूलाई कर्मचारी व्यवस्थापन, उनीहरूलाई तलब भत्ताको उपलब्ध गराउन हामीलाई यो आन्तरिक आम्दानीको स्रोतहरू पनि अत्यन्तै कमी भएको हुनाले गाह्रो भैरहेको छ ।

गाउँपालिकाको आफ्नै अस्पताल बन्ने अभियान कहाँ पुगेको छ ?

हाम्रो गाउँपालिकामा १० शैया क्षमताको जुन आधारभूत अस्पताल बन्ने क्रम अहिले पनि निर्माणाधीन अवस्थामै रहेको छ । स्वास्थ्य सेवा अझै अब गुणस्तरीय दिनको लागि आधुनिक उपकरणसहित उच्च कोटिको कम्तीमा राम्रो ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन निर्माण भैरहेको १० शैयाको अस्पताल हो यो करिब–करिब अलपत्रमा पर्छ कि भन्ने त्यो खालको अवस्था पनि सिर्जना भैराखेको अवस्था छ । यो सबै कारण के हो त भन्दा ठेकेदार जो निर्माण व्यवसायी वा निर्माण कम्पनी छ, यो निर्माण कम्पनीको इमानदारिता नहुँदा, वेवास्ता र लापरवाहीको कारणले ढिलाई भैरहेको छ । यसमा गाउँपालिकाको तर्फबाट जति प्रयास गर्दागर्दै पनि, भवन निर्माणको कामले गति लिन सकेको छैन । समयमा नै भवनको निर्माणसम्पन्न गरेर त्यसैबाट स्वास्थ्य सेवा प्रवाह गर्ने जुन खालको सोच थियो, त्यो पुरा नहुँदा गाह्रो भैरहेको छ । भवन निर्माणको जिम्मा लिएका ठेकेदारलाई भने हामीले नियमित रूपमा घच्घच्याइराखेका छौँ ।

दुर्गममा स्वास्थ्य सेवा कसरी प्रवाह गरिरहनुभएको छ ?

हामीले स्वास्थ्यचौकीहरु नभएको स्थानमा सर्वसाधारण नागरिकहरुका लागि सामुदायिक स्वास्थ्य इकाइमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौं । मङ्गला–४ बुकेनीमा चाहिँ सामुदायिक स्वास्थ्य इकाइको लागि नयाँ भवन निर्माण गरेर पनि हामीले त्यसलाई सञ्चालनमा ल्याइसकेका छौँ । स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्नु हाम्रो कर्तव्य हो । हामी जे गर्न सक्छौँ, हाम्रो क्षमता जति छ, त्यही अनुसार इमानदारितापूर्वक स्वास्थ्य सेवा उपलब्ध गराउन हामी प्रयासरत रहेका छौँ । स्वास्थ्यचौकी नभएको ठाउँमा सामुदायिक स्वास्थ्य इकाइमार्फत स्वास्थ्य सेवा दिइएको हुँदा तिनको क्षमता विस्तारका लागि पनि सम्बन्धित निकायमा पहल गरिरहेका छौं ।

गाउँपालिकामा स्वास्थ्यका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं : प्रमुख प्रशासकीय अधिकृत अर्याल

मङ्गला गाउँपालिकामा चालु आर्थिक वर्ष ०८२/८३ मा गाउँपालिकाको तर्फबाट विनियोजित बजेट र सङ्घीय सरकारबाट सशर्तमा प्राप्त बजेटका स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रमहरू र सँगसँगै प्रदेशबाट आएका केही कार्यक्रमहरू सम्पन्न भैसकेका छन् । यसमा विशेष गरिकन नियमित रूपमा हुने कार्यक्रमहरूमध्ये अलि विशेष फोकसिङ गरेर यसपालि हामीले गरेका केही कार्यक्रमहरू के हो भन्दा, जस्तो सबैभन्दा पहिला बिरामीको लागि औषधीको व्यवस्थापन गर्नुपर्ने । त्यसको लागि हामीसँग दुईटा शीर्षकमा गरेर २० लाख ६२ हजार बजेट थियो र हामी चाहिँ इ–बिडमार्फत यसलाई ठेक्का ग¥र्यौं र ठेक्काचाहिँ छ लाख २३ हजारमा ठेक्का सम्झौता भयो र सोहीअनुसार पालिकाका सबै स्वास्थ्यचौकीहरू र सामुदायिक स्वास्थ्य इकाइको लागि एक आर्थिक वर्षलाई चाहिने औषधी हामीले खरिद गरेका छौँ । अहिले सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा तोकिए बमोजिमका औषधीहरू पर्याप्त मात्रामा उपलब्ध रहेको छ । सँगसँगै हरेक वर्ष जस्तै यसवर्ष पनि हामी सिङ्गो पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकेका छौँ र हामी पूर्णखोप पालिका सुनिश्चिततामा चाहिँ म्याग्दी जिल्लामा पहिलो भएका हौँ । म्याग्दी जिल्लाका छ वटा स्थानीय तहहरूमध्ये सबैभन्दा पहिलाचाहिँ हामीले मङ्गला गाउँपालिकालाई यो आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका छौं ।

गर्भवती तथा सुत्केरी महिलाहरुको उपचार कसरी भैरहेको छ, वा विपन्न समुदायका महिलाहरुले यो सुविधा कसरी पाउन सक्छन् ?

अर्कोतर्फ संस्थागत सुत्केरीलाई प्राथमिकता दिनको लागि, उनीहरूलाई सुरक्षित बनाउन हामीले म्याटरनिटी वेटिङ रुमको पनि व्यवस्था गरेका छौँ । यसमा सुत्केरी तथा गर्भवती महिला सुत्केरी हुनुभन्दा एक हप्ता अगाडि नै आएर त्यहाँ बस्न सक्नुहुन्छ र उहाँलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर आफूलाई सुरक्षित महसुस गर्न सक्नुहुन्छ । अघिल्लो आर्थिक वर्षमा चाहिँ अर्मन स्वास्थ्यचौकीमा यो सुविधा थियो भने हामी यो आर्थिक वर्षबाट बराङ्जा स्वास्थ्यचौकीमा पनि यसलाई सुरुवात गर्ने चरणमा छौँ । त्यसैगरी अब सुत्केरी महिलासँगै उपाध्यक्ष कार्यक्रम अन्तर्गत सुत्केरी भएका महिलाहरुलाई पोषणको व्यवस्था गर्न हामीले एकवटा भाले उपहार दिने व्यवस्था गरेका छौँ । यो एउटा सुत्केरी महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गतको व्यवस्था हो । जो सुत्केरी हुनुहुन्छ उहाँको चाहिँ घरमै गएर उपाध्यक्ष म्याडम र उहाँ जान भ्याउनुभएन भने त्यहाँको महिला जनप्रतिनिधि ज्यूमार्फत यो व्यवस्था कार्यान्वयन गरेका छौँ ।

तपाईँको गाउँपालिकामा स्वास्थ्यका संरचनाहरु कस्तो रहेको छ वा कति वटा स्वास्थ्य संस्थाहरु छन् ?

हाम्रो मङ्गला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षसम्म चारवटा स्वास्थ्यचौकी, तीनवटा सामुदायिक स्वास्थ्य इकाई भएकोमा यो आर्थिक वर्षमा कुकुरबिसौनामा एकवटा सामुदायिक स्वास्थ्य इकाई थप गरी सेवालाई विस्तार गरेका छौँ । पूर्णगाउँमा गाउँघर क्लिनिक सञ्चालनको लागि हामीले विज्ञापन गरिसकेका छौँ र विज्ञापन गरेअनुसार कर्मचारी नियुक्ति लिन नआएको र पुनः विज्ञापन गरेका छौँ । अब कर्मचारी आउनुभयो भने त्यहाँ पनि हामी सेवा सुचारु गर्ने तयारीमा छौं । अब हाम्रो स्वास्थ्यका संरचनाहरूको कुरा गर्दै गर्दा मङ्गला गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाइ, स्वास्थ्यचौकीहरू सँगसँगै हाम्रो निर्माणाधीन अस्पताल भवन पनि रहेको छ । १० शैया क्षमताको अस्पताल भवन यो लामो समयदेखि अलपत्र अवस्थामा थियो र यसलाई हामीले निरन्तरता दिनुपर्छ, यसलाई कसरी हुन्छ अगाडि बढाउनुपर्छ भन्ने भैसकेपछि, म आएपछि हामी स्थलगत रूपमा गयौँ, त्यहाँ निरीक्षण ग¥र्यौँ, यसमा भएका केही विवादित पक्षहरूलाई पनि हामी केलायौँ र यसलाई अगाडि बढाउनको लागि अथवा कारवाहीमा जाने सन्दर्भमा चाहिँ कार्यपालिकामा पनि पटक–पटक छलफल ग¥र्यौँ । यसको भुक्तानीको विषय थियो, त्यो भुक्तानीलाई पनि त्यहाँ स्थलगत नापजाँच गरेर अगाडि बढाएका छौँ । अहिले दोस्रो ग्राउन्ड फ्लोरपछिको पहिलो तलाचाहिँ ढलानको लागि प्रक्रियामा गएको छ ।

नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवालाई मङ्गला गाउँपालिकाले कसरी अगाडि बढाएको छ र यसमा कस्ता कानुनी तथा व्यवहारिक अड्चनहरू देखिएका छन् ?

स्वास्थ्यलाई चाहिँ मौलिक हकको रूपमा संविधानले प्रत्याभूत पनि गरेको छ र नागरिकले स्वास्थ्य सेवा पाउनु उहाँहरूको अधिकार पनि हो । सोही सन्दर्भमा हामीले स्थानीय सरकार, नजिकको सरकार भैसकेपछि जनतालाई नजिकबाट स्वास्थ्य सेवा दिनको लागि गाउँघर क्लिनीक, सामुदायिक स्वास्थ्य इकाइहरू पनि स्थापना गर्न यहाँ पालिकामा र कार्यपालिकामा छलफल हुन्छ । सोही अनुसार हामी निर्णय गर्न प्रक्रियामा पुग्छौँ । तर, माथिल्लो निकायबाट, सङ्घीय सरकारबाट स्वीकृत संरचनाबाहेक अरु संरचनाहरू स्थापना गर्दैगर्दा त्यहाँ दरबन्दीको विषय, अनि ओएनएम सर्वेका विषयलगायत यी विषयहरूले गर्दा कतिपय विषयहरूमा चाहिँ कार्यान्वयनको सन्दर्भमा अलिकति समस्या पनि सिर्जना हुन्छ ।

गाउँपालिकाको निर्माणाधीन अस्पतालको कार्यान्वयनको अवस्था कस्तो छ ?

निर्माणाधीन अस्पतालको सन्दर्भमा पनि यो लामो समयसम्म अलिकति नियमित रूपमा अगाडि बढ्न सकेन । गाउँपालिकालेँ एउटा निर्माण व्यवसायीसँग सम्झौता गर्छौँ । निर्माण व्यवसायीले विभिन्न ठाउँमा विभिन्न ठेक्कामा हात हालेको हुन्छ । अनि हामीले पटक–पटक चाहिँ उसलाई ताकेता गर्छौँ, कारवाहीको लागि चिठी काट्छौँ र अनि उसको चाहिँ जफत गर्न मिल्ने विषयहरू पनि जफत गर्छौँ । तर पनि उनीहरू चाहिँ समयमा आएर काम गरिदिँदैनन्, जसले गर्दाखेरी कार्यालयले ताकेता दिएन, कार्यालयले अलि चासो दिएन कि भन्ने देखिन्छ । तर यो विषयमा चाहिँ हामीले पटक–पटक छलफल गरिराखेका छौँ । अब भवन निर्माणको कामले द्रुत गति लिन्छ भन्ने हाम्रो विश्वास छ ।