• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

प्रताप बानियाँ

म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा पशुपालन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । गाउँपालिका अन्तर्गत ८ वटै वडाका किसानहरुलाई लक्षित गरेर पशुपालनका कार्यक्रमहरु सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

चालु आवमा पशुपालनतर्फ कुल ३९ लाख रुपैयाँ बजेट रहेकोमा संघबाट सशर्त अनुदानतर्फ आठलाख रुपैयाँ बजेट थियो । यसवर्ष रघुगंगामा निःशुल्क कुकुर बन्ध्याकरण शिविर सञ्चालनका लागि कुल सातलाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्न चारलाख र घुम्ती गोठका भेडाबाख्रालाई आन्तरिक तथा बाह्य परिजीवि विरुद्ध औषधी खरिदमा पाँचलाख रुपैयाँ बजेटबाट कार्यक्रम गरिएको छ ।

यसैगरी पशुलाई औषधी तथा औषधीजन्य सामग्रीहरु खरिद गर्नका लागि १५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा सिमेन नाईट्रोन खरिद तथा ढुवानीका लागि ५० हजार, हिउँदे घाँस खरिद तथा वितरण गर्नका लागि दुईलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै पशु प्राविधिकहरुलाई तालिम तथा गोष्ठीलगायत कार्यक्रमहरु पनि रहेका छन् । पशुपालनका कार्यक्रम अन्तर्गत सामुदायिक र घरपालुवा कुकुर बन्ध्याकरण शिविरमार्फत २ सय ५६ वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाको पशु विकास शाखाले जनाएको छ ।

उक्त शिविर रघुगंगा गाउँपालिकाको १ नम्बर वडा तिप्ल्याङ, २ नम्बर वडा भगवती, ३ नम्बर वडा मौवाफाँट र ५ नम्बर वडा झिँमा शिविर सञ्चालन गरिएको थियो । चालु आवमै दुईलाख रुपैयाँको बजेटबाट जै घाँसको बिउ खरिद गरी ८ वटै वडाका किसानहरुलाई वितरण गरिएको छ । त्यस्तै परजीवि विरुद्ध औषधीहरु खरिद गरेर पनि वितरण गरिसकिएको पशु विकास शाखाका पशु सेवा प्राविधिक स्तुति पौडेलले जानकारी दिनुभयो । घुम्ती गोठ कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडाहरु १, २, ४, ६, ७ र ८ मा भेडाबाख्रालाई आन्तरिक तथा बाह्य परिजीवि विरुद्धको कार्यक्रम सञ्चालन गरिएको छ ।

व्यावसायिक पशुपालन गरेका किसानहरुको आयआर्जनमा सुधार गर्नको लागि बंगुरपालनको गोठ सुधार गर्न ७ नम्बर वडा चिमखोलामा दुईजना किसानहरुलाई छनोट गरी ५० हजार रुपैयाँको दरले सहयोग गरिने भएको छ । किसानहरुलाई समय समयमा आवश्यक परामर्श, अनुदान सहयोग, पशुमा समस्या परेको अवस्थामा किसानहरुको गोठमै पुगेर पशुको उपचार गर्नुका साथै सहयोग गरिएको छ । चालु आवमै गाउँपालिकाले ३ जना किसानले पालेका बाख्रामा वन्यजन्तु जनावरको आक्रमण तथा अचानक बाख्राको मृत्यु भएकोले राहत एवं क्षतिपूर्ति उपलब्ध गराउनको लागि सिफारिस गरिएको पशु सेवा प्राविधिक पौडेलले बताउनुभयो ।

रघुगंगा गाउँपालिकामा पशु चौपायाको तथ्याङ्क हेर्दा गाउँपालिकाले दिएको जानकारी अनुसार गाईको संख्या ३९ सय ५५, भैंसी ३९ सय १२, बाख्रा ९ हजार ३ सय ६७, भेडा ५२ सय २९, बंगुर ७ सय २४, कुखुरा १२ हजार ८ सय १३, खरायो ३ सय ८३, कुकुर तथा बिरालो ६ सय ९२ र माछा १८ सय रहेका छन् । यस गाउँपालिकामा चालु वर्षमा कृषि तथा पशु सेवातर्फ विनियोजित बजेट र समेटिएका कार्यक्रमहरुमा कुकुरको बन्ध्याकरण, परजीवि विरुद्ध औषधी वितरण, किसान पुरस्कृत, घाँस खरिद र बंगुर प्रवद्र्धन जस्ता कार्यक्रमहरुले ग्रामीण अर्थतन्त्रलाई सुधार गर्नको लागि सकारात्मक सहयोग पुग्ने देखिन्छ ।

पछिल्लो समय स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेशिएका युवाहरु समेत आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि खेती, पशुपालन र फलफूल खेतीतर्फ आकर्षित भएका छन् । विभिन्न ८ वटा वडाहरु रहेको रघुगंगा गाउँपालिकामा व्यावसायिक कृषि, पशुपालन, फलफूल खेतीलगायत लोपोन्मुख र नगदेबालीको समेत उच्च सम्भावना रहेको छ । रघुगंगाको झिँ, पाखापानी र रायखोर क्षेत्रमा मात्रै विभिन्न २५ जना किसानहरु व्यावसायिक रुपमा भेडापालनमा लागेका छन् ।

तर सरकारले ल्याएको यस्ता किसानलक्षित कार्यक्रमहरु सञ्चालनमा भौगोलिक विकटता, दक्ष प्राविधिक जनशक्तिको अभाव, परम्परागत पशुपालन शैली, बजारीकरणको समस्या जस्ता कारणले कार्यक्रम कार्यान्वयनमा चुनौती थपिएको पाइन्छ । यद्यपि विभिन्न समस्याका बाबजुद पनि कार्यक्रम र नीतिको प्रभावकारी कार्यान्वयन तथा स्थलगत रुपमा अनुगमन र निरीक्षण गर्न सकेमा स्थानीय किसानहरुले राहत पाउन सक्ने देखिन्छ ।