म्याग्दीको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा सोमबार श्रद्धालु भक्तजनहरुले पूजाअर्चना गरेका छन् । बेनी नगरपालिका ९ स्थित रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले पूजाआजा गरेका हुन् ।
पहिलो सोमबार म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौं, बाँकेलगायत जिल्लाहरुबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबार गलेश्वर शिवालयमा पूजा गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर विभिन्न २५ वटा उपसमितिहरु गठन गरी उनीहरुलाई सहज रुपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।
यसपटक साउन महिनामा चारवटा सोमबार परेको भए पनि गाउँघरमा खेतीपातीको काम तथा प्रचण्ड गर्मी र वर्षायामको समयका बाबजुद पनि भक्तजनहरु गलेश्वरधाम शिवालय पुगेका थिए । यसवर्ष पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट ५ हजारभन्दा बढीको हाराहारीमा भक्तजनहरु आएर गलेश्वरधाममा पूजाअर्चना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य–सचिव सम्मरबहादुर थापाले बताउनुभयो ।
आफ्नो मनोकांक्षासहित परिवारमा सुख, शान्तिको कामना गर्नको लागि गलेश्वर शिवालयको दर्शन गर्न आउने गरेको भक्तजनहरुको भनाइ छ । सोमबारको दिनमा विशेष गरी महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पुजाअर्चना गर्ने गर्दछन् । देशैभरका शिव मन्दिरहरुमा सोमबार बिहानैदेखि खासगरी ब्रतालुहरुको भीड लागेको थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिलाहरू बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ । गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धाराहरु समेत जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालिगण्डकी नदीको गङ्गाजलले गौमुखी धारामा स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा पछिल्लोपटक भक्तजनहरुको संख्यामा वृद्धि हुँदै गएको छ ।
पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेको गलेश्वरधाम पश्चिम नेपालको पशुपतिनाथको नामले समेत परिचित छ । हिन्दु धर्मग्रन्थहरुका अनुसार भगवान् शिवले सतिदेवीको मृत शरिर बोकेर पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वर आइपुग्दा सतीदेवीको गलापतन भएकाले गलेश्वर नाम रहन गएको किम्बदन्ती रहेको पाइन्छ ।

गलेश्वरमा जडभरत ऋषिले तपस्या गरेको ओढार पनि रहेको छ । हरेक वर्षको साउन महिनाको सोमबार, बालाचर्तुदशी र महाशिवरात्रि पर्वको अवसरमा यहाँ विशेष पूजाआजा हुुनुका साथै दैनिक नित्य पूजाअर्चना र दर्शन गर्न सकिन्छ । कालिगण्डकी नदी किनारमा एउटै विशाल शिलामाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । गलेश्वर शिवालयको दर्शन तथा पूजाअर्चनाको साथै १०८ शिवलिङ्गमा कालिगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
यस वर्षको पहिलो सोमबार गलेश्वर शिवालयमा पूजा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी बल, बेनी नगरपालिकाको नगर प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, गलेश्वरधाम आमा समूहले स्वयंसेवा गरेका थिए । यसैगरी म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)ले भक्तजनहरुलाई लक्षित गरेर निःशुल्क रुपमा पिउने पानीको व्यवस्था समेत मिलाएको थियो ।




