• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

सङ्घीय नेपालको मध्य भागमा पर्ने गण्डकी प्रदेश भित्रको एक हिमाली जिल्ला म्याग्दीको पश्चिम उत्तर क्षेत्रमा अवस्थित मालिका गाउँपालिका म्याग्दीमा रहेका विभिन्न छ वटा पालिकाहरुमध्ये एक हो । साविकका निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरबाङ र विम गरी ६ वटा गाविसहरु समावेश गरेर मालिका गाउँपालिकाको स्थापना भएको हो । यहाँ विभिन्न ७ वटा वडाहरु कायम गरिएको छ । गाउँपालिकाको सबैभन्दा उच्च भागमा पर्ने समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको प्रसिद्ध मालिका मन्दिरको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ । जिल्लाको कुल क्षेत्रफलमध्ये १४७ दशमलव १७ वर्ग किलोमिटर ओगटेको यस गाउँपालिकाको जनसंख्या १८ हजार ३ सय ३२ रहेको छ । शैक्षिक हिसाबले पनि यस गाउँपालिका अगाडि नै रहेको पाइन्छ । गाउँपालिकाको समग्र शैक्षिक अवस्था, नतिजा सुधार, शिक्षकहरुलाई तालिम तथा गोष्ठी सञ्चालन, विद्यालयलाई अनुदान तथा भौतिक पूर्वाधार निर्माणमा सहयोगका साथै शिक्षा सम्बन्धी विभिन्न विषयमा आधारित रहेर मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालसँग जगन्नाथ मिडिया प्रालिद्वारा सञ्चालित रुप्से न्यूज डटकमका लागि सम्पादक प्रताप बानियाँले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

मालिका गाउँपालिकामा समग्र शैक्षिक अवस्था कस्तो रहेको छ ?

यहाँको शैक्षिक अवस्था हेर्दाखेरी चाहिँ, मैले अलिकति निराशाजनक नै पाएँ । किनभने शैक्षिक मूल्याङ्कन गर्ने भनेको एसईई (SEE) परीक्षाको रिजल्टले नै हो । एसईईको रिजल्ट हेर्दाखेरी यस गाउँपालिकामा करिब ३७ प्रतिशत पास भएको अवस्था छ । यो अवस्थामा गाउँपालिकाले विद्यालयहरूलाई धेरै सहयोग गरेको अवस्था पनि हो । र हामीले चाहिँ शैक्षिक सुधार योजना अन्तर्गत अब बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरू खरिद गरेर वितरण गरेका छौँ । यस कार्यक्रमलाई एउटा सङ्गम म्याग्दीले पनि सहयोग गरेको अवस्था छ । हामीले बेलाबेलामा सबै प्रधानाध्यापकहरुको बैठक बोलाएर उहाँहरूलाई पनि यस बारेमा अलि झकझकाउने कामचाहिँ गरिरहेका छौँ । अनि यसैपालि हामीले गाउँपालिकाको तर्फबाट स्थानीय पाठ्यक्रम पनि तयार गरेर लागू गर्ने चरणमा रहेका छौँ । खासगरी स्थानीय पाठ्यक्रम अन्तर्गत यहाँ मगर समुदायको खाम भाषालाई नेपाली भाषामा पुस्तकहरू प्रकाशन गरेर विद्यालयमा पु¥याउने चरणमा छौँ । अहिलेसम्म खाम भाषाको पुस्तक लेख्ने काम सकिएको छ, अब छपाई गरेर सबै विद्यालयहरुमा पु¥याउने छौं । त्यस्तैगरी अब बेलाबेलामा शिक्षकहरूलाई तालिम दिने कार्यक्रम पनि भैराखेकै छ । हामीले नसके पनि अब हाम्रो सहभागितामा विभिन्न संघसंस्थाहरूबाट विद्यालयहरुलाई तालिम दिने कार्यक्रम अगाडि बढेको छ ।

यहाँले भन्नुभयो, मगर समुदायमा बोलिने खाम भाषाको पुस्तक प्रकाशन गरेर विद्यालयमा पु¥याउने, यसको बारेमा थप जानकारी गराइदिने पो हो कि ?

खाम भाषा भन्नाले खासगरी मगर समुदायमा बोलिने उहाँहरुको मातृभाषा हो । म्याग्दीको मालिका गाउँपालिकामा पनि जनजातिहरुको बाहुल्यता रहेको छ भने त्यसमा पनि मगर समुदायको धेरै हुनुहुन्छ । त्यसैले विद्यालय तहबाटै मगर खाम भाषाको बारेमा जानकारी गराउनको लागि हामीले गाउँपालिकामार्फत स्थानीय पाठ्यक्रममा आधारित मगर खाम भाषाको पुस्तक प्रकाशन गरेर विद्यालयहरुमा पु¥याउने तयारी गरेका छौं । यसबाट स्थानीय कला, संस्कृतिको प्रचारप्रसार हुनुका साथै संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा छ ।

अहिले ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी संख्या घट्दो क्रममा छ । निजी विद्यालयमा अलिकति आकर्षण र सहर केन्द्रित बढी देखिन्छ । यो सबैतिर समस्याको रुपमा रहेको छ । त्यसकारण यसलाई रोक्न यहाँको गाउँपालिकामार्फत केही त्यस्ता नीतिहरू वा योजना अगाडि बढाउनुभएको छ ? 

अब हामीले खासगरी गाउँका विद्यालयहरूको पढाई र पढाइमा सुधार गरेर गाउँका बच्चाहरू गाउँमै पढाउने नीति गाउँपालिकाले अङ्गीकार गरेको छ । तर अब हाम्रो चाहिँ भनौँ न सेवाग्राहीहरू वा सर्वसाधारण, जनताहरूले सक्दो अवस्थामा आफ्ना बालबच्चाहरूलाई राम्रो ठाउँमा लगेर पढाउने भन्ने उहाँहरूको नै कुरा रह्यो । शिक्षा मौलिक अधिकार भित्रकै एक महत्वपूर्ण क्षेत्र हो । तर पछिल्ले समय गाउँगाउँबाट युवाहरू रोजगारी गर्नको लागि विदेशतिर जाने, युवाहरू विदेश गैसकेपछि अब उहाँहरुको परिवार दरबाङलगायत बजारमा झरेर यहीँ बस्ने र पढाउने क्रम पनि बढेको छ । अब यसलाई हामीले रोक्न चाहिँ सकिएको छैन । अब यहाँ दरबाङ मात्रै नभएर कोही पोखरा, काठमाडौँ पनि गइरहनुभएको छ । तर मालिका गाउँपालिकाबाट विद्यालयमा दिवा खाजा, अनि विद्यार्थीलाई शैक्षिक सामग्रीलगायत जुन दलित समुदायका बालबच्चाहरू हुनुहुन्छ, उहाँलाई पोसाकलगायत आवश्यक सामग्रीहरु पनि किनेर वितरण गरेको अवस्था छ । अब त्यति हुँदाहुँदै पनि हामीले गाउँबाट बजार झर्ने यो क्रमलाई रोक्न सकेको अवस्था नभएकाले विद्यालयहरुमा विद्यार्थीहरू घट्ने क्रम जारी रहेको तथ्याङ्क छ ।

सरले अघि पनि भन्नुभयो, अब यो एसईईको नतिजा अलिकति खस्किएर ३७ प्रतिशत आयो । अब यसलाई सुधार गर्नको लागि के गर्नुपर्ला, के लाग्छ सरलाई यस बारेमा ? 

अब यसको लागि त सर्वप्रथम विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई नै उत्प्रेरित गर्नुपर्छ । त्यसपछि विद्यार्थीहरूको अभिभावकहरूलाई पनि यस विषयमा अलिकति भए पनि सचेत गराउनुपर्ने नै हुन्छ । हामीले अहिले एसईईको समयमा विद्यार्थीहरुलाई बरु होस्टेलको व्यवस्था गरेर राख्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने र नतिजामा सुधार गर्न आवश्यक प्रयत्न चाहिँ गरेका छौँ । सो अनुसार विद्यालय तथा शिक्षकहरु पनि लागिरहनुभएको अवस्था छ । तर समस्या के हुँदोरहेछ भने अलिकति ग्रामीण भेग, पिछडिएको अवस्था र अभिभावकहरूको चाहिँ आर्थिक क्षमता जस्ता कारणले गर्दाखेरी केही समस्या छ । अर्कोतर्फ यहाँको मुख्य समस्या के हो भन्नुहुन्छ भने यो मेला पर्वहरु लाग्ने भएकाले शैक्षिक संस्था अर्थात् विद्यालय खोल्ने जुन शैक्षिक दिनहरू हुन्छन्, शैक्षिक क्षेत्रको त्यसमा चाहिँ २५–३० दिन त मेलापर्वमै जानेरहेछ । फेरि यहाँको चलन के रहेछ भने मेला लाग्यो भने सर्लक्कै चाहिँ पढाइ छोडेर जाने अवस्था पनि रहेछ । यसलाई चाहिँ हामीले बरु मेलापर्वलाई कम गराउन सकिन्छ कि भनेर यसपालिको गाउँसभाबाटै एउटा कुनै नीति नै बनाएर अगाडि बढ्ने लक्ष्य राखेका छौँ ।

यहाँको गाउँपालिकामार्फत विद्यालयहरूलाई त्यस्तो कुनै सहयोग तथा अनुदान दिनुभएको छ ? अनि अर्कोतर्फ यो शिक्षक दरबन्दीका कुराहरू पनि जताततै उठिरहेको सुनिन्छ । यो विषय मालिकामा चाहिँ कस्तो छ ? 

तपाईँले भनेजस्तो चाहिँ शैक्षिक सहयोगमा हामी किसानी माध्यमिक विद्यालय विमलाई करिब १५ लाख रुपैयाँको शैक्षिक सहयोग गरेका छौँ । भीम मावि देवीस्थान र राष्ट्रिय मावि रुमलाई चाहिँ शिक्षक अनुदान भनेर ६-६ लाख रुपैयाँ बजेट छुट्ट्याइएको अवस्था छ । त्यसैगरी जनप्रिय माविलाई विद्यालयको कम्पाउन्डमा टायल लगाउनको लागि भनेर १० लाख रुपैयाँ बजेट छुट्ट्याइएको अवस्था छ । यीलगायत अब विभिन्न विद्यालयहरूको विद्यालय मर्मतदेखि लिएर शैक्षिक सामग्रीहरू खरिद, अनुदान सहयोग र खेलकुदजन्य कार्यक्रमहरुमा हामीले आवश्यकता अनुसार बजेट छुट्ट्याएको अवस्था छ । विभिन्न विद्यालयहरूको मर्मत गर्ने, रङरोगन गर्ने काम पनि भैराखेकै छ । विभिन्न विद्यालयहरूको कम्पाउन्ड घेराबार गर्ने काम पनि हामीले गरेकै छौँ । अब मलाई लाग्छ धेरै विद्यालयहरूको कम्पाउन्ड चाहिँ घेराबार भैसकेको अवस्था छ । र एउटा हामीलाई समस्यामा रहेको ओखरबोट माध्यमिक विद्यालयको चाहिँ त्यो पहिलाको भवन अलिकति यो भू–क्षय (भूस्खलन)को कारणले गर्दा त्यहाँ अलिकति खतरनाक अवस्था भएको हुँदा हामीले अर्को ठाउँमा सारेका छौँ । त्यसलाई चाहिँ अलि व्यवस्थित गर्न सकिरहेको अवस्था छैन, नत्र अन्य विद्यालयलाई हामीले करिब–करिब व्यवस्थित बनाइसकेको अवस्था छ ।