हिमाली जिल्ला म्याग्दीमा तीनवटा तह (संघ, प्रदेश र स्थानीय) सरकार मातहत रहेका सरकारी कार्यालयहरूको बिहीबार वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा गएको आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित कार्यक्रम तथा योजनाको प्रगति समीक्षा गरिएको हो ।
गतवर्ष सञ्चालित विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र विभिन्न प्रशासनिक कार्यक्रमहरूको उपलब्धि तथा चुनौतीको बारेमा छलफल र मूल्याङ्कन समेत गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न वार्षिक प्रगति समीक्षा कार्यक्रममा म्याग्दी जिल्लामा कार्यक्षेत्र रहेका र बाहिरी जिल्लामा कार्यालय रहेका कार्यालयहरुले आ–आफ्नो प्रस्तुती गरेका थिए ।

विभिन्न ४० वटा सरकारी कार्यालय तथा संस्थानले गरेको प्रस्तुतीकरणमा वार्षिक प्रगति, चुनौतीका साथै बेरुजु अवस्थाको बारेमा समीक्षा तथा फस्र्यौटका लागि थप कार्ययोजना बनाएर अगाडि बढ्ने बारेमा छलफल केन्द्रित भएको थियो । प्रजिअ आचार्यले वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान गरी नयाँ आर्थिक वर्ष ०८३/८४ मा सर्वसाधारण, नागरिकहरुका लागि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा निर्धारित कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।
वार्षिक समीक्षा कार्यक्रममा विविध कारणले अनुपस्थित भएकालाई प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । समीक्षामा कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनउपर छलफल समेत गरिएको थियो । प्रतिवेदनसहित प्रस्तुतीकरण गरेका कार्यालयहरुको योजना तथा कार्यक्रमको सञ्चालन अवस्था भने तुलनात्मक रुपमा सन्तोषजनक देखिएको प्रजिअ आचार्यले बताउनुभयो । जिल्लाका संघीय सरकार, ६ वटै स्थानीय तह, जिल्ला समन्वय समितिसहित सरकारी कार्यालयहरु सहभागी भएर प्रस्तुतीकरणले आगामी दिनमा सार्वजनिक सेवा प्रवाह तथा योजनालाई प्रभावकारी रुपमा सञ्चालनमा समेत सहज हुने, नियमित कार्यालय प्रमुख र सूचना अधिकारीको वैठकमा छलफल गरिने उहाँले बताउनुभयो ।

यसैबीच संघीय र प्रदेशतर्फ ९४ प्रतिशतसम्म वित्तीय प्रगति भएको देखिएको छ । संघीय चालु शीर्षकमा विनियोजित कुल तीन अर्ब ६० करोड छ लाख ८८ हजार आठसय ७० रुपैयाँमध्ये ९४ दशमलव ४२ प्रतिशत रकम खर्च भएको छ । संघीय पुँजीगत (विकास)तर्फ तीन करोड ७५ लाख ९२ हजार रुपैयाँ विनियोजन भएकोमा ८० दशमलव ७६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । त्यस्तै प्रदेश सरकार मातहतका कार्यालयतर्फ चालु बजेटमा ७३ दशमलव १६ प्रतिशत र पुँजीगततर्फ कुल ७९ करोड ६४ लाख ७० हजार रुपैयाँ विनियोजन भएकोमा ६९ दशमलव ६६ प्रतिशत खर्च भएको छ । भौतिक प्रगतितर्फ संघीय योजनाहरूले ८२ प्रतिशत र प्रदेशका योजनाहरूले ७१ प्रतिशत लक्ष्य हासिल गरेको जनाएका छन् ।
यता आर्थिक वर्ष ०८२/८३ सम्मको कुल बेरुजु २० करोड ८१ लाख २० हजार तीनसय ८८ रुपैयाँ पुगेको छ । चालु आवको अवधिमा कुल बेरुजुमध्ये जम्मा ६२ लाख ५० हजार पाँचसय ९० रुपैयाँ मात्र सम्परीक्षण (फस्र्यौट) भएको छ । म्याग्दीमा अझै १४ करोड ५६ लाख १४ हजार चारसय आठ रुपैयाँ बेरुजु फस्र्यौट हुन बाँकी रहेको तथ्याङ्कले देखाउँछ । वार्षिक समीक्षा कार्यक्रममा कतिपय सरकारी कार्यालयहरुको बेरुजु घटेको, केहीको बढेको, पूँजीगत खर्च बढाउनुपर्ने, कार्यक्रम सञ्चालन गर्ने क्रममा जिल्लास्थित सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्नुपर्ने लगायतका सुझावहरु दिइएको छ ।



