• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

हिमाली जिल्ला म्याग्दीको पश्चिमी भेगलाई जोड्ने बेनी–दरबाङ सडकखण्डको फापरखेतमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । शनिवार साँझदेखि सडक बन्द हुँदा दसैँ मनाउन घर फर्किएका यात्रुहरू समस्यामा परेका छन् ।

बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२, सिमलचौरको सिमानामा पर्ने फापरखेतमा पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहिरो खसेर बेनीदेखि दरबाङ जोड्ने सडकको फापरखेतमा करिब दुईसय मिटर खण्डमा सडक अवरुद्ध बनेको जनाएको छ । फापरखेतमा सडकभन्दा माथिबाट निरन्तर पहिरो खसिरहेको छ ।

पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । पहिरो खस्न रोकिएपछि डोजर परिचालन गरी पहिरोको अवरोध पन्छाएर अवरुद्ध सडक खुलाइने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । सडक अवरुद्ध भएपछि तातोपानी–पखेर–बरंजा–सातबिसे हुँदै बाबियाचौर निस्किएर दरबाङ पुग्ने वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको उहाँले जानकारी दिनुभयो । पहिरो खस्ने जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म फापरखेत सडकखण्ड बन्द रहने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

दसैँका लागि घर फर्किएका यात्रुहरूलाई सडक बन्द भएपछि निकै सास्ती भएको छ । बेनीसहित देशका विभिन्न स्थानबाट दरबाङतर्फ छुटेका यातायातका सवारीसाधनहरु तातोपानी र दरबाङबाट बेनी तथा अन्य ठाउँका लागि छुटेका यात्रुवाहक र मालवाहक सवारीसाधनहरु सिमलचौर क्षेत्रमा रोकिएका छन् । पश्चिम म्याग्दीलाई जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुमसँग जोड्ने बेनी–दरबाङ सडकलाई जिल्लाको महत्वपूर्ण सडकका रूपमा लिने गरिन्छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा समेत मानिने बेनी–दरबाङ सडक अन्तरजिल्ला आवागमनका लागि रणनीतिक महत्वको भएकाले निर्माणकार्य अगाडि बढाइएको छ ।

तर, फापरखेतमा पटकपटक पहिरो खस्दा बेनी–दरबाङ सडकखण्ड अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ । दसैँको मुख्य समयमा सडक बन्द भएपछि यात्रुहरूलाई थप सास्ती भएको छ । यसैबीच अवरुद्ध सडक खुलाउन र पहिरोको अवस्था अवलोकनका लागि आइतबार बिहान गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रजिअ गैरेसहितको टोलीले स्थलगत रुपमा अनुगमन गरेको थियो ।

त्यस्तै बेनी–दरबाङ सडकको फापरखेत खण्ड पहिरोले अवरुद्ध बनेपछि यसको सट्टा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन गरिएको छ । शनिवारदेखि खसेको पहिरो नरोकिएपछि मंगला गाउँपालिकाले पखेर–बरंजा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरेको जनाएको छ । यो सडकखण्ड पनि मर्मत गरेर आइतवार दिउँसोबाट मिनीबस, जिप, मोटरसाईकल, स्कुटर, ट्याक्सी र ट्याक्टर गुड्न मिल्ने बनाइएको छ ।