प्रताप बानियाँ
म्याग्दीको बेनी नगरपालिका ९ घतानस्थित रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोलठान दरबार क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकको दूरी, दरबार क्षेत्रसम्म पुग्नको लागि सहज पदमार्ग र सडकको विस्तार तथा दरबार परिसरमा पर्यटकलक्षित विभिन्न भौतिक संरचनाहरु निर्माण भएसँगै ढोलठान दरबारको भ्रमण गर्नका लागि पर्यटकको संख्या बढ्दै गएको हो ।

आजभन्दा २ सय ४१ वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ढोलठान दरबार क्षेत्र समुन्द्री सतहदेखि १९ सय मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रेलगायत मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । म्याग्दीको साविकका १६ वटा गाविसहरु प्रत्यक्ष देख्न सकिने यस ठाउँबाट छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, धाईरिङ, पाङ तथा बागलुङ जिल्लाको धार्मिक क्षेत्र पञ्चकोट लगायतका स्थान तथा ग्रामीण वस्तीहरुको सौन्दर्यताको अवलोकन गर्न पाइन्छ । नेपालमा रहेका तत्कालीन बाईसे–चौबीसे राज्यहरुमध्ये ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठानमा रहेको किम्बदन्ती भेटिन्छन् ।

अहिले दरबार परिसरमा बेनी नगरपालिका, ९ नम्बर वडा कार्यालय, साविकको पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, भू–तथा जलाधार कार्यालय पर्वतबाट पर्यटकहरुलाई लक्षित गरेर विभिन्न संरचनाहरु निर्माण गरिएको छ । खासगरी ढोलठान दरबार क्षेत्रमा ढुङ्गे कलात्मक प्रवेशद्वार बनाइएपछि आन्तरिक पर्यटकहरु यसैमा बसेर फोटो, भिडियो र सेल्फी लिन तथा टिकटक बनाउनका लागि आउने गरेको स्थानीयवासीको भनाइ छ । ढोलठान दरबार बेनीबाट ११ किलोमिटर दूरीमा पर्दछ ।





