• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

दसैँमा गाउँघरका घरआँगन सरसफाइ गर्ने, घरका भित्तामा रातो माटो र सेतो कमेरो पोत्ने तथा झ्यालढोकामा रङ लगाउने पुरानो चलन थियो । घटस्थापनादेखि घरलाई लिपपोत गरेर चिटिक्क पार्ने यो परम्परा दसैँको तयारीसँगै जोडिएको ग्रामीण जीवनशैलीको मौलिक पहिचान हो । तर, पछिल्लो समय म्याग्दीका गाउँघरमा रातो माटो र सेतो कमेरोले घर पोत्ने चलन हराउँदै जान थालेको छ ।

दसैँमा घरको भित्तामा रातो माटो र सेतो कमेरो पोत्ने, झ्यालढोका तथा कठोबारमा कालो पदार्थ वा रङ लगाउने चलनले गाउँघरमा चाडपर्वको छुट्टै रौनक थप्थ्यो । घरका भित्ताको तल्लो भागमा रातो माटो र माथिल्लो भागमा सेतो कमेरो पोतेर सजाइएका घरले गाउँको स्वरूपलाई आकर्षक बनाउँथे । आँगन, करेसाबारी र घर वरिपरीको सरसफाइसँगै गरिने लिपपोतले दसैँको अनुभूति गराउँथ्यो ।

घर सजाउने यो परम्परासँगै गाउँमा हालिने लिङ्गेपिङ र रोटेपिङ, गाउँघरमा बज्ने मालश्री धुन तथा पञ्चेबाजाले दसैँको उल्लास थपिन्थ्यो । दसैँमा मीठो खाने, नयाँ लुगा लगाउने र घरपरिवारसँगै चाडपर्व मनाउने चलनसँग जोडिएको रातो माटो र सेतो कमेरोको प्रयोग भने पछिल्लो समय घट्दै जान थालेको छ । युवापुस्ता रोजगारी, अध्ययन र अवसरको खोजीमा सहर तथा विदेश जाने क्रम बढ्नु र बजारमा उत्पादित निर्माण सामग्री सहजै उपलब्ध हुनाले परम्परागत लिपपोतको अभ्यास घट्दै गएको देखिन्छ ।

अहिले म्याग्दीका ग्रामीण वस्तीमा समेत वनपाखाबाट माटो खोजेर ल्याउनेभन्दा हार्डवेयर पसलबाट चुना, गेरु र ईनामेललगायत रङहरु किनेर घर सिँगार्ने क्रम बढेको छ । पहिले घर पोत्न रातो माटो र सेतो कमेरो खोज्न वनपाखा पुग्नुपथ्र्यो । अम्लिसोको कुचोबाट भित्तामा माटो छ्यापेर पोत्ने गरिन्थ्यो । झ्यालढोका र कठोबारमा लगाउन अङ्गार वा टर्चलाइटको व्याट्रीमा हुने कालो पदार्थ तोरीको तेलमा मिसाएर प्रयोग गर्ने चलन थियो । स्थानीय स्रोतसाधनबाट गरिने यस्तो लिपपोतमा श्रम र समय बढी लाग्ने भए पनि यसको आफ्नै मौलिकता थियो ।

अहिले बजारमा पाइने चुना, गेरु र विभिन्न रङको प्रयोग गर्न सजिलो हुनुका साथै घरलाई आकर्षक देखाउने भएकाले उपभोक्ताको रोजाई फेरिएको छ । यसले गर्दा परम्परागत रूपमा प्रयोग हुँदै आएका रातो माटो, सेतो कमेरो र कालो पदार्थको प्रयोग क्रमशः कम हुँदै गएको स्वयं प्रयोगकर्ताहरु बताउँछन् । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीकी यामकुमारी खत्री बजारमा पाइने सामग्रीको प्रयोग बढ्नुमा सहजता र समयको बचत मुख्य कारण रहेको बताउनुहुन्छ । वनपाखामा पुगेर माटो खन्ने, बोकेर ल्याउने र भित्तामा पोत्नेभन्दा बजारबाट चुना तथा गेरु किनेर लगाउँदा छिटो र सजिलो हुने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाको रत्नेचौर र अवेचौर कुनै समय रातो माटोका लागि निकै परिचित थिए । त्यस्तै पुलाडाँडा नजिकै रहेको सेतो कमेरो पाइने भएकाले स्थानीयवासीले पहिलेदेखि त्यहीँबाट कमेरो लगेर घर पोत्ने गरेका थिए । रातो माटोको उपलब्धताको कारण रत्नेचौर नाम रहन गएको भन्ने स्थानीयको भनाइ पनि छ । तर, अहिले ती ठाउँमा पुगेर माटो खन्ने र घर लिपपोतका लागि प्रयोग गर्ने चलन निकै कम भएको छ ।

ग्रामीण क्षेत्रमा सडकको पहुँच विस्तार भएसँगै घर निर्माणको शैली पनि फेरिएको छ । परम्परागत माटोले बनेका घरको सट्टा रड, सिमेन्ट, कङ्क्रिट र आरसिसी ढलानसहितका घरहरु बन्न थालेका छन् । घरको सजावटमा आएको परिवर्तनसँगै बजारमा पाइने चुना, गेरु तथा अन्य रङको खपत बढेको छ । म्याग्दीका विभिन्न समुदायमा घर पोत्ने शैली र प्रयोग गरिने रङमा पनि विविधता पाइन्छ । कार्की, घर्ती र खड्कालगायत थरका क्षत्री समुदायमा सेतो कमेरो, चुना वा प्राईमर प्रयोग नगरी रातो तथा पहेँलो माटो वा गेरुको प्रयोग गर्ने चलन छ ।

अन्य समुदायमा भने रातो माटो र सेतो कमेरो दुवै प्रयोग गर्ने चलन रहेको छ भने जिल्लाका लेकाली वस्तीमा सेतो कमेरोले मात्रै पनि घर पोतिन्छ । वनपाखामा घर पोत्न आवश्यक माटो खन्ने निश्चित ठाउँलाई स्थानीय भाषामा ‘मटकिलो’ भनिन्छ । कुनै समय दसैँ आउनुअघि मटकिलोमा माटो खन्ने र घर पोत्ने चटारो हुन्थ्यो । अहिले बजारका उत्पादनले त्यसको स्थान लिन थालेपछि घर लिपपोत गर्ने परम्परासँग जोडिएको मटकिनो र गृहिणी बीचको सम्बन्ध पनि बिच्छेद भएको छ ।