• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीमा क्रियाशील गैरसरकारी संस्था मिलन म्याग्दीको शनिवार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आजभन्दा २८ वर्ष पहिले वि.सं. २०५६ सालमा स्थापना भएको मिलन म्याग्दीले स्थापनाकालदेखि नै जिल्लामा समाजमा सचेतनालगायत कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

२२औं साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष तिलकुमारी रानाले भावि कार्यक्रमसहित अध्यक्षको प्रतिवेदन, सचिव बालकुमारी पुनले संस्थाको वार्षिक प्रगति र कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँ (केसी)ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनसत्रमा प्रस्तुत भएका तीनवटै प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको छ ।

साधारणसभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष एवं मिलन म्याग्दीका पूर्व अध्यक्ष दिवाकुमारी तिलिजा पुनले जिल्लाको सामाजिक क्षेत्रमा मिलन म्याग्दीले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले पछिल्लो समय बाहिरी सहयोग प्राप्त नभएको अवस्थामा पनि स्वयंसेवी रुपमा मिलन म्याग्दीमार्फत सामाजिक गतिविधिका साथै समुदायस्तरमा विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैरहेकोमा प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन उहाँले सुझाव दिनुभयो ।

मिलन म्याग्दीका पूर्व अध्यक्ष विनय श्रेष्ठले संस्थामा अहिले कुनै कार्यक्रम नभएको अवस्थामा पनि जिल्लाको हरेक ठाउँमा क्रियाशील रुपमा मिलनको उपस्थिति भैरहेको बताउनुभयो । जिल्लास्थित स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा मिलन म्याग्दीले विविध क्षेत्रमा काम गरिरहेको बताउँदै उहाँले समुदायस्तरमा सञ्चालित कार्यक्रमहरुको नतिजा विस्तारै देखिँदै जाने बताउनुभयो ।

मिलन म्याग्दीका संस्थापक सदस्य अमर बानियाँले संस्थामा कार्यक्रम र स्रोत नभएको अवस्थामा पनि विभिन्न क्षेत्रसँगको समन्वय तथा सहकार्यमा कार्यक्रम सञ्चालन भैरहेको हुँदा संस्थाको गतिशिलता बढेको बताउनुभयो । जिल्लामा स्थापनाकालदेखि नै मिलन म्याग्दीले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, झोलुङ्गे पुल तथा सामुदायिक वनलगायत क्षेत्रमा काम गर्दै आइरहेको छ ।

साधारणसभाको उद्घाटनसत्र संस्थाका अध्यक्ष तिलकुमारी रानाको अध्यक्षता, उपाध्यक्ष मिना राम्जालीको स्वागत र सचिव बालकुमारी पुनको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले आगामी दिनमा पनि जिल्लामा शिक्षा, स्वास्थ्य र सचेतनामूलक सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनमा जोड दिने जनाएको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिव बानियाँ, कमला थापासहित पदाधिकारीहरु, आजीवन र साधारण सदस्यको उपस्थिति रहेको थियो ।