• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

च्याङ्ग्रा प्रतिगोटा ४० हजार रुपैयाँभन्दा माथि

नेपालीहरूको मुख्य चाड बडादसैँलाई लक्षित गरी यसवर्ष मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा देशका विभिन्न बजारमा निकासी भएका छन् । दसैँमा मासुको खपत धेरै हुने भएकाले मुस्ताङसहित डोल्पा, मुगु, जुम्ला तथा चीनको तिब्बततर्फ कोरला नाकाबाट समेत भेडा–च्याङ्ग्रा नेपाली बजारमा ल्याइएको हो ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाए अनुसार कार्यालयबाट स्वास्थ्य परीक्षण र आवश्यक प्रक्रिया पूरा गरी यसवर्ष १३ हजार ८ सय १७ गोटा भेडा–च्याङ्ग्रा निकासी भएका छन् । तीमध्ये ११ हजार ७ सय २ गोटा च्याङ्ग्रा र २ हजार १ सय १५ गोटा भेडा रहेका छन् । कार्यालय प्रमुख डा. लालमणि अर्यालले मुस्ताङबाट मात्रै ९ हजार १ सय ६८ गोटा भेडा–च्याङ्ग्रा निकासी भएको बताउनुभयो ।

यसैगरी डोल्पाबाट ३ हजार ५ सय ५१, कोरला नाकाबाट ४ सय ३८, मुगुबाट ३ सय ६० र जुम्लाबाट ३ सय गोटा भेडा–च्याङ्ग्रा मुस्ताङ हुँदै बेनी–जोमसोम सडकमार्फत देशका विभिन्न बजारमा पठाइएको छ । कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी निकासी गरिएका बाहेक किसान तथा व्यापारीले प्रत्यक्ष रूपमा करिब २ हजार गोटा भेडा–च्याङ्ग्रा बजारमा पठाएको जनाइएको छ । योसँगै दसैँका लागि मुस्ताङबाट बाहिरिने भेडा च्याङ्ग्राको संख्या १५ हजारभन्दा बढी पुगेको हो ।

गत वर्षको दसैँमा मुस्ताङबाट करिब १८ हजार भेडा–च्याङ्ग्रा विभिन्न बजारमा निकासी भएका थिए । यसवर्ष पनि दसैँ नजिकिएसँगै भेडा च्याङ्ग्राको कारोबार बढेको छ । कार्यालयले निकासी गरिएका भेडा च्याङ्ग्राको पशु प्राविधिकहरुको टोलीले स्थलगत निरीक्षण तथा स्वास्थ्य परीक्षण गरी आवश्यक प्रमाणपत्र जारी गरेको जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा स्वस्थ देखिएका भेडा–च्याङ्ग्रा उपभोगका लागि योग्य रहेको कार्यालय प्रमुख डा. अर्यालले जानकारी दिनुभयो ।

दसैँको समयमा हरेक वर्ष डोल्पा, मुगु, जुम्ला, मुस्ताङलगायत उच्च हिमाली क्षेत्र तथा तिब्बतबाट समेत ठूलो सङ्ख्यामा भेडा–च्याङ्ग्रा नेपाली बजारमा आउने गरेका छन् । म्याग्दीसहित देशका विभिन्न जिल्लाका व्यापारीहरू भेडा–च्याङ्ग्रा खरिद गर्न उपल्लो मुस्ताङ तथा तिब्बतको सीमावर्ती क्षेत्रसम्म पुग्ने गर्दछन् । यसवर्ष पनि भेडा– च्याङ्ग्रा खरिद गर्न व्यापारीहरू उपल्लो मुस्ताङका किसानको गोठमै पुगेका थिए । उपल्लो मुस्ताङबाट सात दिनसम्म पैदलयात्रा गरी म्याग्दी आइपुग्नुभएका धनप्रसाद कुमाईले पाँच जनाको समूहले खरिद गरेका ४ सय ६० गोटा भेडा च्याङ्ग्रालाई जोखिमपूर्ण यात्राको बीचमा खेदाउँदै ल्याएको बताउनुभयो ।

मुगु, डोल्पा, जुम्ला, उपल्लो मुस्ताङको लोमन्थाङ, छोसेरसहित उच्च हिमाली क्षेत्रका लेक तथा तिब्बतमा भेडा च्याङ्ग्राको व्यावसायिक रुपमा पालन हुँदै आएको छ । हिमाली क्षेत्रमा पाइने विभिन्न बुट्यान, झाडी र जडीबुटीजन्य वनस्पतिहरु खाएर हुर्कने भएकाले भेडा च्याङ्ग्राको मासु निकै स्वादिलो तथा स्वास्थ्यका लागि लाभदायक हुने स्थानीयको भनाइ छ । पछिल्लो समय नेपाली बजारमा भेडाको तुलनामा च्याङ्ग्राको माग बढ्दै गएको व्यापारीहरू बताउँछन् । दसैँमा मासुको खपत उच्च हुने र उपभोक्ताले समेत भेडाको तुलनामा च्याङ्ग्राको मासु धेरै मन पराउने भएकाले च्याङ्ग्राको माग बढी हुने गरेको पाइन्छ ।

यसवर्ष बजारमा च्याङ्ग्राको मूल्य प्रतिगोटा ४० हजार रुपैयाँभन्दा माथि पुगेको छ । भेडाको मूल्य भने प्रतिगोटा ३० हजार रुपैयाँभन्दा बढी रहेको व्यापारीहरूले बताएका छन् । दसैँमा माग बढेसँगै भेडा च्याङ्ग्राको कारोबार र मूल्य दुवै बढ्ने गरेको छ । भेडा च्याङ्ग्राको पालन व्यावसायिक बन्दै जानुका साथै नेपाली बजारमा माग बढ्दै गएपछि गोठमै मूल्य बढ्न थालेको व्यापारीहरूको भनाइ छ । दसैँ पर्व सुरु भएसँगै म्याग्दीको सदरमुकाम बेनीबजारसहित आसपासका क्षेत्रमा पनि भेडा–च्याङ्ग्रा, खसी–बोका र बाख्रा पाठाको खरिद–बिक्री समेत बढेको छ ।