• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

(एक व्यक्ति, व्यक्तित्व र कृतित्वको समीक्षा)

शिव बानियाँ

१. पृष्ठभूमि र संघर्षको जगः

म्याग्दीको शैक्षिक, सामाजिक र सांस्कृतिक गगनमा फौज बहादुर चोखाल एउटा यस्तो ओझिलो नक्षत्र हुनुहुन्छ, जसले आफ्नो जीवनका कठोर उकाली ओरालीहरूलाई कर्मको साधना बनाउनुभयो र आफ्नो निष्ठापूर्ण उपस्थितिले सिङ्गो समाजलाई उज्यालो छर्नुभयो । वि.सं. २०१६ साल भदौ १० गते बुधवार जन्मिनुभएका चोखालको ६ दशकभन्दा लामो जीवनयात्रा केबल समयका पानाहरूको सङ्ग्रह मात्र होइन, यो त संघर्षबाट सफलता, निष्ठाबाट प्रतिष्ठा र समर्पणबाट समाज रूपान्तरणको एउटा अजम्बरी महाकाव्य हो । चोखालको बाल्यकाल छातीमा वियोगको गह्रौँ शिला बोकेर सुरु भयो । जम्मा ११ वर्षको कोमल र चञ्चल उमेरमै आमा तिल कुमारी खत्री चोखाल (पुला गाजने)लाई गुमाउनुपर्दा उहाँको बाल मस्तिष्कमा टुहुरोपनको नीरव अँध्यारो छायो । ६ भाइ मामा र ४ बहिनी छामा÷ठूली आमाहरूको अगाध मायाँले भने निरन्तर सान्तवना दिलाइरह्यो । त्यसपछि सानीमा जमुना भण्डारी चोखाल (मल्लाज फड्केढुङ्गा)को न्यानो हेरचाहले उहाँलाई मातृत्वको ओत दियो, तर नियतिको कठोर प्रहारले २०४६ सालमा सानीमालाई पनि खोसिदियो । २०६३ सालमा ४७ वर्षको उमेरमा बुबा कर्ण बहादुर चोखाललाई समेत गुमाउनुपर्दा उहाँका अभिभावकीय छत्रछाया पूर्णतः खस्किए ।

२. वियोग र सङ्कल्पः

आमा, सानीमा र बुबाको असामयिक वियोग चोखालका लागि केबल व्यक्तिगत क्षति मात्र थिएन, त्यो त उहाँको जीवन–वृक्षको फेदमै परेको अनपेक्षित बज्रपात थियो । तर उहाँले त्यो आँसुको सागरलाई आफ्नो संकल्पको इन्धन बनाउनुभयो र संघर्षकै जगमा उभिएर आफूलाई एक दरिलो पहरा साबित गर्नुभयो । मामाघरको भावनात्मक टेको र आफ्नै भित्री धैर्यले उहाँलाई जीवनको कठोर गोरेटोमा दह्रोसँग उभिन सिकायो । दुःखका यी श्रृङ्खलाहरूले उहाँको मनोबल ढाल्न सकेनन्, बरु उहाँलाई जीवनप्रति अझ बढी जिम्मेवार र अडिग बनाए ।

३. अक्षरको ज्योति र शिक्षा सेवाको श्रीगणेशः

राष्ट्रिय प्राथमिक विद्यालय नेप्टेचौर हालको माविबाट अक्षरारम्भ गरी प्रकाश माध्यमिक विद्यालय, बेनीबाट कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएका चोखालको मेधावी क्षमता सानैदेखि लोभलाग्दो थियो । २०३६ साल फागुनको एस.एल.सी. परीक्षामा कुल ४६ जना परीक्षार्थीमध्ये जम्मा ३५ जना मात्र उत्तीर्ण भएको त्यो कठिन समयमा सफलता हासिल गरी उहाँले आफ्नो बौद्धिक प्रखरता सिद्ध गर्नुभयो । पढाइमा अब्बल भएकै कारण एस.एल.सी. लगत्तै २०३६ साल चैत्र १ गते प्रभा निम्न माध्यमिक विद्यालय (हालको मावि), नारच्याङबाट उहाँले शिक्षणको पवित्र चौतारीमा पाइला टेक्नुभयो । २०३९ साल मङ्सिर १५ गते स्थायी सेवामा प्रवेश गर्नुभएका चोखाल २०४१ साल वैशाख ४ गते आफूले अक्षराम्भ गरेकै राष्ट्रिय प्राथमिक विद्यालय हालको मावि, नेप्टेचौरमा सरुवा भई फर्किनुभयो ।

४. संस्थागत कायाकल्प र नेतृत्वः

राष्ट्रिय प्रावि हालको मावि नेप्टेचौरमा उहाँको आगमन केबल एक शिक्षकको सरुवा मात्र थिएन, त्यो त सो विद्यालयको इतिहासमै कायाकल्पको स्वर्णिम अध्याय थियो । पूर्व प्रअ कृष्ण चोखालपछिको जिम्मेवारी सम्हाल्दै उहाँले २०५२ देखि २०६६ सम्म (१३ वर्ष) लगातार प्रधानाध्यापकको ओझिलो भूमिका निर्वाह गर्नुभयो । प्राथमिक तहमा सीमित विद्यालयमा निमावि तह सञ्चालन गरी स्तरोन्नति गराउनुभयो । आजको उत्कृष्ट माध्यमिक विद्यालयको रूपमा खडा भएको सो संस्थाको निमावि तहका संस्थापक प्रअ उहाँ नै हुनुहुन्छ । उहाँले नेतृत्वमा एकाधिकार जमाउनुभएन, बरु तारा चोखाल बानियाँ जस्ता सक्षम महिला नेतृत्व तयार गरी सहज रूपमा नेतृत्व हस्तान्तरण गर्नुभयो र आफू निरन्तर अभिभावकीय सहयोगमा रहिरहनुभयो— जो समावेशी र आधुनिक नेतृत्वको गतिलो उदाहरण हो ।

५. कला, सङ्गीत र पेशागत उत्कर्षः

उहाँ केबल चक र डस्टरमा सीमित हुनुभएन, कुशल मादल वादक र साङ्गीतिक कार्यक्रमका सफल संयोजक बनेर उहाँले गाउँका प्रतिभाहरूलाई कलाकारको रूपमा मञ्च दिनुभयो । साङ्गीतिक कार्यक्रमहरूमार्फत आर्थिक सङ्कलन गरी विद्यालयमा निजी स्रोतका विषयगत शिक्षकहरूको व्यवस्थापन र सञ्चालन गर्ने उहाँको मौलिक र सिर्जनशील कला अद्वितीय थियो । चोखालले मादलका प्रत्येक ताल र लयमा गाउँको शिक्षाको उज्ज्वल भविष्य बजाउनुभयो । उहाँको सङ्गीत केबल मनोरञ्जन थिएन, त्यो त विद्यालय बचाउने र शिक्षकहरूलाई टिकाइराख्ने ‘अर्थ–संवाद’ थियो । उहाँले बालेको ज्ञानको दीपले नेप्टेचौरका कैयौँ पुस्तालाई बाटो देखाइरहनेछ । २०५५ सालमा द्वितीय श्रेणी र २०६८ सालमा प्रथम श्रेणी (फस्ट क्लास टिचर)मा बढुवा हुनु उहाँको उच्च कार्यकुशलता र निष्ठाको स्वभाविक प्रतिफल थियो । २०७६ साल भदौ १५ गते अनिवार्य अवकाश लिँदासम्म साढे ३५ वर्षको स्थायी सेवा अवधिमा उहाँले हजारौँ विद्यार्थीको जीवनमा चेतनाको उज्यालो भर्नुभयो ।

६. सामाजिक उत्तरदायित्व र संस्थागत नेतृत्वः

अवकाशपछिको जीवनलाई विश्रामको चौतारी नबनाई उहाँले झनै सक्रिय सामाजिक नेतृत्वमा आफूलाई होम्नुभयो । २०७८–२०८० सम्म ३ वर्ष चोखाल बन्धु समाज म्याग्दीको अध्यक्ष भई बन्धुत्व, सङ्गठन र सांस्कृतिक एकतालाई मजबुत बनाउनुभयो । त्यसैगरी, २०७७–२०७९ सम्म स्यालीखेत आधारभूत विद्यालयको विव्यस अध्यक्ष बनेर पुनः शैक्षिक पुनरुत्थानको अभियानमा खट्नुभयो । हाल राष्ट्रिय मावि नेप्टेचौरको शिक्षक अभिभावक संघ (शिअसंघ)को अध्यक्ष (२०८१–२०८३) को भूमिकामा रहेर उहाँले शिक्षक र अभिभावक वर्गको अधिकार, मर्यादा र पेशागत हकहितका लागि नेतृत्वदायी अभिभावकत्व प्रदान गरिरहनुभएको छ ।

७. सु–संस्कृत पारिवारिक चौतारी र उत्तराधिकारः

२०४१ साल फागुन २२ गते जमुना बानियाँ चोखालसँग वैवाहिक बन्धनमा बाँधिनुभएका चोखालको पारिवारिक वृत्त सुखी, समृद्ध र अनुकरणीय छ । समाजकी अग्रणी र सामाजिक कार्यमा उत्तिकै सक्रिय धर्मपत्नीको दर्बिलो साथले उहाँको यात्रालाई सधैँ ऊर्जा प्रदान ग¥यो । उहाँका तीनै जना सुपुत्रहरू समाजका गहना बनेका छन् । ज्येष्ठ सुपुत्र पोखरा जस्तो सुन्दर सहरमा आफ्नै घरघडेरी जोडी वैदेशिक रोजगारीका माध्यमबाट योगदान दिँदै हुनुहुन्छ । माहिलो सुपुत्र मेकानिकल सब–ओभरसियरको अध्ययन पूरा गरी नेप्टेचौरको मूल सडकले छोएको आफ्नै जन्मभूमिको घरघडेरीमा बसोबास गर्दै माटोप्रतिको मोह जीवित राख्नुभएको छ भने कान्छो सुपुत्र प्राणीशास्त्र (Zoology) र ग्रामीण विकास (Rural Development) गरी दुई विषयमा स्नातकोत्तर (Masters) उत्तीर्ण गरी उच्च शिक्षाको क्षेत्रमा उपप्राध्यापक (Assistant Professor) र अन्नपूर्ण प्राविधिक शिक्षालय पोखराको प्राविधिक प्रशिक्षकको रूपमा प्राज्ञिक सेवामा समर्पित हुनुहुन्छ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा लेखहरू प्रकाशित छन् । चोखालले विद्यालयमा अरुका सन्तानलाई मात्र ज्ञानको डोरीले बाँध्नुभएन, आफ्नै आँगनमा पनि संस्कार, विद्या र कर्मको यस्तो बिउ रोप्नुभयो जसको छायामा आज तीनै जना सुपुत्रहरू आत्मनिर्भर र सु–संस्कृत बनेका छन् ।

८. निष्कर्षः

समग्रमा, फौज बहादुर चोखाल साढे ३५ वर्ष स्थायी सेवा गरेका प्रथम श्रेणीका पूर्व शिक्षक, उत्कृष्ट माविका निमावि संस्थापक प्रअ, कला अनुरागी र बहुआयामिक सामाजिक र शैक्षिक अभियन्ता हुनुहुन्छ । उहाँ बाल्यकालका पितृ–मातृ र पारिवारिक वियोगका पहाडहरूलाई जितेर, अभाव र संघर्षलाई सफलताको सिँढी बनाउने धैर्यवान् कर्मयोगी बन्नुभएको छ । उहाँ मादलको तालमा गाउँको शिक्षाको भविष्य कोर्ने, महिला नेतृत्व विकास गरी सहर्ष हस्तान्तरण गर्ने र आफ्ना सन्तानलाई प्राज्ञिक उचाई दिने एक जीवन्त धरोहर हुनुहुन्छ । फौज बहादुर चोखाल केबल एक व्यक्ति वा पूर्व शिक्षक मात्र हुनुहुन्न । उहाँ निष्ठा, कला, शैक्षिक दूरदर्शिता, सौहार्द नेतृत्व र पारिवारिक सफलताको एउटा सिङ्गो पाठशाला समेत हुनुहुन्छ ।

                                                    लेखक बानियाँ, जनकल्याण मावि पुलाचौर म्याग्दीमा अध्यापनरत हुनुहुन्छ ।