• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

प्रताप बानियाँ

हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न र किसानहरुको जीवनस्तरमा सुधार ल्याउनको लागि कृषि क्षेत्रको विकासमा प्राथमिकताका साथ जोड दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत यसवर्ष कुल ५९ लाख रुपैयाँको बजेटबाट कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

गाउँपालिकाको आफ्नै आन्तरिक स्रोत, सङ्घीय सरकार तथा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत गाउँपालिका क्षेत्रभित्र कृषि क्षेत्रमा क्रियाशील किसानहरुलाई लक्षित गरेर कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । जस अन्तर्गत तीन लाख रुपैयाँको बजेटमा फलफूल खेती प्रवद्र्धन कार्यक्रमतर्फ सुन्तलाजात फलफूलका विरुवाहरु खरिद गरेर किसानहरुलाई वितरण गरिएको छ । गाउँपालिकाले चालु वर्षमा २९ सय गोटा सुन्तला र ६ सय ५० गोटा कागतीका विरुवाहरु खरिद गरी किसानहरुलाई वितरण गरेको हो । यस कार्यक्रम सञ्चालन गर्नका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

खरिद गरिएका सुन्तलाका विरुवाहरुतर्फ सबैभन्दा धेरै वडानम्बर ४ नारच्याङका किसानहरुले २ हजार तथा कागतीका सबै ६ सय ५० वटा विरुवाहरु लगेका छन् भने यस कार्यक्रमबाट सबैभन्दा धेरै ४ र ६ नम्बर वडा तथा १ र ७ नम्बर वडामा सुन्तलाका विरुवाहरु वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ । यसैगरी ग्रामीण भेगका किसानहरुलाई माटो र कृषि चुन सम्बन्धी विषयमा अभिमुखीकरण गरिएको छ । यस कार्यक्रमका लागि पनि तीन लाख रुपैयाँ बजेट विनियोजन भएकोमा माटो शिविर भने आयोजना गरिएको छैन । त्यस्तै कृषि सम्बन्धी कार्यक्रम अन्तर्गत सुन्तला खेती प्रवद्र्धन गर्नका लागि विभिन्न ५ वटा तालिमहरु सम्पन्न भएका छन् । अन्नपूर्णको ४ नम्बर वडा नारच्याङमा २ वटा, २ नम्बर वडा भूरुङ–तातोपानीमा २ र ६ नम्बर वडा घारमा १ वटा तालिम आयोजना गरिएको थियो । यो स्थलतगत तालिमका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

गाउँपालिकाकाले आफ्नो क्षेत्रभित्र कृषिको वास्तविक अवस्था पत्ता लगाउनको लागि दुई लाख रुपैयाँको लागतमा गाउँपालिकास्तरीय कृषि तथ्याङ्क सङ्कलन कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस्तैगरी परम्परागत खेतीबाली अर्थात् रैथाने बाली प्रोत्साहन गर्ने उद्देश्यले गाउँ कार्यपालिकामा भएको निर्णय अनुसार अन्नपूर्ण क्षेत्रका विभिन्न १४ वटा रैथाने बाली तोकिएकोमा रैथाने बाली उत्पादन गर्दै आइरहेका विभिन्न ९ जना किसानहरुलाई छनोट गरी प्रति किसान १५ हजार रुपैयाँको दरले उनीहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । रैथाने बालीतर्फ पनि कुल तीन लाख रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक सम्झना खत्रीले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्र भित्रका किसानहरु आफूले लगाएको बालीमा लाग्ने रोग तथा किराको नियन्त्रण गर्नका लागि प्रयोग गरिने रासायनिक विषादीले मानव जीवनमा पार्ने असर तथा विषादी प्रयोग गर्दा कस्तो खालको विषादी प्रयोग गर्ने भन्ने विषयमा किसान स्वयं आफू कसरी सुरक्षित रहने सम्बन्धी सचेतनाका लागि वडा नम्बर ६ मा रासायनिक, जैविक विषादी र सुष्म तत्व खरिद सम्बन्धीको कार्यक्रम सम्पन्न गरिएको छ । यसमा पनि एक लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । गाउँपालिकामार्फत चालु आवमा चार लाख रुपैयाँको बजेटबाट विभिन्न तरकारीहरु जस्तै आलु, काँक्रा, गाजर, मुला, घिरौंलासहित हिउँदे तथा वर्षे तरकारी बालीको बिऊबिजन खरिद गरी वितरण गरिसकिएको कृषि शाखाले जनाएको छ ।

गाउँपालिकामार्फत पाँचलाख रुपैयाँको लागतमा बिउ आलु खरिद गरी ७५ प्रतिशत अनुदानमा माग अनुसार  गाउँपालिकाको सबै वडाका किसानहरुलाई वितरण गरिएको गाउँपालिकाको नायव प्राविधिक सहायक खत्रीले बताउनुभयो । यसमा आलुको बिउ माग गर्ने किसानहरुलाई प्रथम पुस्ताको १६ सय केजी आलु खरिद गरी वितरण गर्नुका साथै अनुगमन समेत गरिएको छ । यस कार्यक्रमबाट ४ सयजना स्थानीय किसानहरु लाभान्वित भएका छन् ।  स्थानीय किसानहरुलाई व्यावसायिक बनाउनको लागि तीनलाख रुपैयाँको बजेटमा साना व्यावसायिक स्थापना तथा विस्तार कार्यक्रम अन्तर्गत अन्नपूर्ण १ नम्बर वडा दोवामा रहेको अन्नपूर्ण कृषि तथा पशुपन्छी फर्म, अन्नपूर्ण ३ दानामा रहेको रुप्से कृषि तथा पशुपन्छी फर्म र ५ नम्बर वडा शिखस्थित मणि बराही कृषि तथा पशुपन्छी फर्म छनोट भई रुप्से कृषि तथा पशुपन्छी फर्म र मणि बराही कृषि तथा पशुपन्छी फर्मलाई मौरीपालन विस्तार कार्यक्रम तथा दोवाको अन्नपूर्ण कृषि तथा पशुपन्छी फर्मले सुन्तला खेती विस्तार गरेको कृषि शाखा प्रमुख कृषि अधिकृत योजना अधिकारीले जानकारी दिनुभयो ।

कृषि क्षेत्रमा यान्त्रिकरण गर्ने प्रयोजनका साथ किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीटेलर हलो तथा बगैंचा गोडमेल गर्नका लागि सानो मिनीटेलर मेसिन पनि खरिद गरी वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस कार्यक्रमबाट १७ जना किसानले मिनीटेलर हलो तथा ५ जनाले बगैंचा गोडमेल गर्ने मेसिन पाउने भएका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई प्लाष्टिक टनेल निर्माण गर्नको लागि आवश्यक टनेल प्लाष्टिकमा सहयोग गरेको छ । यस कार्यक्रम अनुसार पाँच लाख रुपैयाँको बजेटबाट अन्नपूर्ण गाउँपालिका ६ नम्बर वडा घारमा सञ्चालित बरुवाल हरियाली तरकारी फर्म, जयराम कृषि तथा पशुपन्छी फर्म, रोश्री कृषि तथा पशुपन्छी फर्म, वडा नम्बर ४ नारच्याङमा रहेको वसन्ती कृषि तथा पशुपन्छी फर्म र वडा नम्बर ८ मा रहेको पूर्जा कृषि तथा पशुपालन फर्म छनोट भई कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो ।

फलफूल बगैंचा सुदृढीकरण गर्नका लागि कृषि सामग्री खरिद गर्ने गरी तीन लाख रुपैयाँको बजेटबाट विभिन्न १ सय ८३ जना किसानहरुलाई अन्नपूर्ण गाउँपालिकाको १ नम्बर वडादेखि ७ नम्बर वडासम्मका कृषक तथा कृषि फर्म, कृषक समूहलाई ५० प्रतिशत लागत साझेदारीमा फलफूल बगैंचा सुदृढीकरणका लागि कपर पेष्ट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले गएको आर्थिक वर्ष ०८१/८२ मा स्थापना भएका तकारी पकेट कार्यक्रमलाई निरन्तरता दिएको छ । यसतर्फ अन्नपूर्ण ७ नम्बर वडामा रहेको हरिमूल कृषि तथा पशुपन्छी कृषक समूहले सञ्चालन गरेको जसमा तरकारी उत्पादनका लागि तरकारीको बिउ खरिद तथा यान्त्रिकरण खरिद र सिँचाइका लागि आवश्यक सामग्रीहरु खरिद गर्ने कार्यक्रमहरु भएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा व्यावसायिक सुन्तला खेती गर्ने किसानहरुलाई लक्षित गरेर सुन्तला खेती सम्बन्धी विषयको विभिन्न ४ वटा तालिमहरु सञ्चालन गरिएको छ । सो तालिमबाट गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ का १ सयजना किसानहरु लाभान्वित भएका थिए । यस तालिममा सुन्तला खेती गर्नका लागि आवश्यक प्राविधिक ज्ञानसँगै कृषि सम्बन्धी सामग्रीहरु पनि वितरण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाभित्र रहेका कृषक, कृषि फर्म र कृषक समूहलाई निःशुल्क रुपमा तरकारीजन्य बिऊबिजन खरिद गरी वितरण गरिँदै आइएको छ । तरकारीको बिउ खरिद र वितरण कार्यक्रमबाट हालसम्म विभिन्न ५ सयजना किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ग्रामीण भेगका किसानहरुलाई विभिन्न कार्यक्रममार्फत आवश्यक सहयोग गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउने र कृषि क्षेत्रको विकास र प्रवर्धनबाट गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउने अभियानमा लागेको छ ।

सरकारले कृषि खेतीको विस्तार तथा प्रवद्र्धन गर्नका लागि मुख्य गरी सिँचाइको सुविधा उपलब्ध गराउनुपर्ने र साना किसाहरुको उत्थानका लागि आवश्यक कार्यक्रम तथा बजेटमा सहयोग गर्नुपर्ने अन्नपूर्ण ८ राम्चेका किसान कुमार पूर्जा पुनले माग गर्नुभयो । आर्थिक क्षेत्रको विकास भएको खण्डमा मात्रै गाउँपालिकाले अगाडि सारेको ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार : दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नाराले सार्थकता पाउने देखिन्छ ।