असोज ३०, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– ७०औं प्रहरी स्थापना दिवस–२०८२ को अवसर पारेर बुधवार म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी, आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयको परिसरमा सम्पन्न आँखा परीक्षण शिविरमा ५० जना प्रहरी तथा कर्मचारीको निःशुल्क रुपमा आँखा परीक्षण गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी तथा कर्मचारीलाई लक्षित गरेर आँखा परीक्षण एवं आँखा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

कार्यक्रममा आगामी दिनमा पनि नेत्रज्योति संघले जिल्ला प्रहरी कार्यालयसँग आवश्यक समन्वय तथा सहकार्य गरेर आँखा चेकजाँच शिविर तथा आँखा स्वास्थ्य सचेतनामूलकलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो । शिविरमा आँखा उपचार केन्द्र बेनी म्याग्दीका प्रमुख दिनेश बानियाँसहितको प्राविधिक टिमले प्रहरी र कर्मचारीहरुको आँखा परीक्षण गर्नुका साथै परामर्श सेवा उपलब्ध गराएको थियो ।

नेत्रज्योति संघले जिल्लाको विभिन्न स्थानमा पुगेर आँखा परीक्षण शिविर समेत सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा लगायतको विशेष उपस्थिति रहेको थियो । प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले जिल्लामा विभिन्न रचनात्मक क्रियाकलापहरु आयोजना गरेको जनाएको छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत म्याग्दीमा सचेतनामूलक कार्यक्रमहरु पनि निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।



