कात्तिक २९, २०८२ शनिवार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा आयोजित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बिहीबारदेखि सुरु भएर शनिवार बेनीको खुलामञ्चमा सम्पन्न बेनी नगरपालिका भित्रका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो ।
प्रतियोगितामा वेष्ट प्वाइन्टले कुल २१ स्वर्ण १५ रजत र १६ कास्यपदक ल्याएर उपाधि हात पारेको आयोजक बेनी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा द्वितीय भएको प्रकाश माविले २१ स्वर्ण ११ रजत र ५ कास्यपदक जितेको छ भने तृतीय भएको बेनी सामुदायिक माविले ११ स्वर्ण १५ रजत र १२ कास्यपदक जितेको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल २७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५१ हजार, द्वितीय र तृतीयले क्रमशः ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डीसहित चारवटा विद्यामा कुल ६६ स्वर्णपदकका लागि २० सामुदायिक र ७ संस्थागत विद्यालयका ८ सयजना भन्दाबढी विद्यालयहरुको बीचमा प्रतिस्पर्धा भएको थियो । विजेता विद्यालयहरुलाई बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र सामाजिक विकास समिति संयोजक चक्र केसीले पुरस्कार वितरण गर्नुभएको थियो ।

‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित यस वर्षको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा हरेक वर्ष पालिकाभित्र रहेका अन्तर विद्यालयहरुबीच प्रतिसर््पर्धा हुने गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

विगतमा वीरेन्द्र शिल्डको नाममा सञ्चालन हुने यस प्रतियोगिता नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि अहिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा परिणत भएको हो । विभिन्न पालिकाहरुमा हुने यस्ता खेलकुदजन्य प्रतियोगिताहरुले विद्यार्थीको प्रतिभा प्रस्फूटन हुनुका साथै नयाँ प्रतिभा पहिचान समेत हुने गरेको छ ।


