• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

मंसिर ६, २०८२ शनिवार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनीको अध्यक्षमा पुनः गोरखनाथ सुवेदी चयन हुनुभएको छ  । शनिवार रत्नेचौरमा सम्पन्न सहकारीको १४औं वार्षिक साधारणसभा तथा पाँचाँैँ अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट सहकारीको उपाध्यक्षमा रवीप्रसाद शर्मा, सचिवमा उमानाथ शर्मा, सहसचिवमा अमित श्रेष्ठ र कोषाध्यक्षमा दिनेश शर्मा चयन हुनुभएको छ । यसैगरी सञ्चालक समितिको सदस्यहरुमा विपिन श्रेष्ठ, दण्डपाणि शर्मा, फमायाँ तिलिजा, धनकुमारी पाण्डे, नवीन थापामगर र दिपेन्द्र न्यौपाने चयन हुनुभएको संस्थाका सचिव शर्माले जानकारी दिनुभयो । त्यस्तै साधारण सभाले सहकारीको लेखा समिति र ऋण उपसमिति पनि पुनर्गठन गरेको छ ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले असल अभ्यास गर्ने सहकारीहरु डराउन नपर्ने बताउनुभयो । “नेपालको कानुन र संस्थाको विनियम अनुसार असल अभ्यास गर्ने सहकारीहरु कसैसँग डराउन आवश्यक छैन” उहाँले भन्नुभयो, “नेपालका ३४ हजार सहकारीहरुमध्ये ३३ हजार सहकारीले राम्रो अभ्यास गरिरहेका छन् भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।” बेनी नगरपालिकाभित्र सञ्चालित सहकारीहरुमा विभिन्न समस्या रहेको स्वीकार गर्दै नगर प्रमुख केसीले अहिलेसम्म साहारा सहकारीको बारेमा नगरपालिकामा कसैको पनि गुनासो नआएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै संस्थाका शेयर सदस्य एवं बैँकर्स क्लब, म्याग्दीका अध्यक्ष नारायण सापकोटाले पछिल्लो समय सहकारीहरुमा तरलता थुप्रिने क्रम बढ्दै गएको भन्दै लगानीका लागि स्पष्ट मापदण्ड बनाएर अगाडि बढ्न सुझाव दिनुभयो । “नागरिकले बचत गरेको रकममा मनलाग्दी गर्दा समस्या आउने हो” सापकोटाले भन्नुभयो, “त्यसैले लगानीको लागि स्पष्ट मापदण्ड बनाएर अगाडि बढ्दा समस्या आउँदैन ।”

साहारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोरखनाथ सुवेदीको अध्यक्षता, सचिव उमानाथ शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रवीप्रसाद शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रममा वर्षभर उत्कृष्ट कारोबार गरेका १२ जना शेयर सदस्यलाई नगद र उपहारसहित सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०८१ मा कक्षा १२ उत्तीर्ण गरैका शेयर सदस्य र तिनका सन्ततिलाई नगद, प्रमाणपत्र र खादासहित सम्मान गरिएकौ थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ मा सहकारीले दुई करोड ६१ लाख ८४ हजार पाँचसय ५६ रुपैयाँ बचत एवं दुई करोड ५९ लाख २८ हजार आठसय २० रुपैयाँ ऋण लगानी गरेको जानकारी गराइएको थियो । कुल १ करोड १२ लाख शेयर पुँजी रहेको साहारा सहकारीले विभिन्न शीर्षकमा ४६ लाख रुपैयाँ जगेडा कोष व्यवस्थापन गरेको संस्थाका कोषाध्यक्ष दिनेश शर्मालै जानकारी दिनुभयो ।