• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

मंसिर १७, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधवार अन्नपूर्ण गाउँपालिका–१ दोवामा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित लैङ्गिक तथा विद्युतीय हिंसा र बालविवाह न्यूनीकरण सम्बन्धी विषयमा स्थानीयवासीलाई सचेतीकरण गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका, सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको आयोजना, शिक्षाका लागि राष्ट्रिय अभियान, मानव अधिकार एलायन्स र महिला अधिकारका लागि राष्ट्रिय अभियानको समन्वय एवं सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर समेत गरिएको थियो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले विगतमा चुलोचौकोमा सीमित हुने महिलामाथि धेरै हिंसा हुने गरेकोमा अहिले समय परिवर्तन भई सचेतना फैलिँदै गएको बताउनुभयो । उहाँले समाज परिवर्तन र रुपान्तरणमा राजनीतिमा लागेका महिलाहरुको कारणले गर्दा आज हरेक क्षेत्रमा महिलाको सहभागिता वृद्धि भएको बताउँदै यसलाई अब संस्थागत बनाएर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय महिला र पुरुष दुवै हिंसामा परिरहेकाले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि व्यक्ति, परिवार तथा समुदायस्तरबाट पहल गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले लैङ्गिक तथा विद्युतीय हिंसा र बालविवाह न्यूनीकरण, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको वर्तमान परिवेश, अवस्था र चुनौती तथा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको इतिहास र उद्देश्यमाथि सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि महिला र पुरुष दुवैको समान सहभागिता आवश्यकता रहेकोमा जोड दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले कार्यक्रममा स्वागतसहित जानकारी गराउँदै पछिल्लो समय विभिन्न तथ्याङ्क अनुसार महिला तथा बालिकाहरुमाथि हिंसा भैरहेको बताउनुभयो । उहाँले महिला र बालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न विभिन्न नारासहित कार्यक्रमहरु गर्ने गरिएको बताउँदै गाउँपालिकामार्फत वडा, टोल र वस्तीस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिइएको बताउनुभयो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सविना थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, कैलाश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र आमा समूह लगायतले उल्लेख्य सहभागिता जनाएका थिए । सोही अवसरमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पनि मनाइएको थियो ।