• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयद्वारा आयोजित जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक र राष्ट्रिय मावि रुमले जितेका छन् । आइतबार सम्पन्न ‘प्रथम बिसिएसएस’ कप भलिबल प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिका–२, रुमको राष्ट्रि«य माविले न्यू वेष्ट पोइन्ट आवासीय माविलाई सोझो तीन सेटले पराजित गदैं उपाधि जितेको हो । प्रतियोगितामा छात्रतर्फ विभिन्न १६ वटा विद्यालयहरु सहभागी भएका थिए ।

यसैगरी छात्रातर्फ आयोजक बेनी सामुदायिक माविले प्रकाश माविलाई लगातार तीन सेट जित्दै उपाधि हात पारेको छ । छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रछात्रा दुवै विजेता र उपविजेतालाई क्रमशः ६० हजार, ४० हजार नगदसहित ट्र«फी, मेडल र प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर घर्तीले जानकारी दिनुभयो । जिल्लामा हुने हरेक प्रतियोगिताहरुमा छात्राभन्दा छात्रको पुरस्कार राशी धेरै हुने भए पनि बेनी सामुदायिकले खेलाडीलाई समान अवसर र समान पुरस्कार दिएको जनाएको छ ।

प्रतियोगितामा छात्रतर्फ सेटरमा राष्ट्रि«य माविका छकबहादुर पुन, स्पाईकर योजन पुन, प्रशिक्षकमा युगेश पुन र उत्कृष्ट खेलाडीमा भीमबहादुर विक घोषित हुनुभएको थियो । त्यस्तै छात्रातर्फ उत्कृष्ट खेलाडी बेनी सामुदायिककी क्याप्टेन समीक्षा थापा, सेटर बेनी सामुदायिककै अस्मिता पुन, स्पाईकरमा प्रकाश माविकी प्रिया पुन र प्रशिक्षक प्रविण श्रेष्ठ, उत्कृष्ट घोषित हुनुभएको आयोजकको भनाइ छ । बेनी सामुदायिकले जिल्लामा पहिलोपटक छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

विजेतालाई गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सोही अवसरमा बेनी सामुदायिक माविले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि पठनपाठनमा सहयोग गर्नेगरी २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । हालसम्म कोषमा ७० हजार सङ्कलन गरिएको छ । विद्यालयका प्रअ घर्तीले अक्षयकोषमार्फत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पठनपाठनमा सहयोग गरिने जानकारी दिनुभयो ।