११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनी–२०८२ को आयव्यय सार्वजनिक भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिद्वारा आयोजित मेलाको बुधवार म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको हो ।
म्याग्दीको सदरमुकाम बेनीमा गएको पुस ३० देखि माघ ३ गतेसम्म सञ्चालित ११औँ माघेसङ्क्रान्ति मेलामा कुल २१ लाख ४९ हजार तीनसय ८७ रुपैयाँ आम्दानी भएको मेलाको मूल आयोजक महिला उद्यम विकास समिति म्याग्दीले जनाएको छ । यसैगरी उक्त मेलामा विविध शीर्षकमा गरी कुल २० लाख ९७ हजार सातसय रुपैयाँ खर्च भई ५१ हजार छ सय १७ रुपैयाँ बचत भएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

त्यस्तै माघेसङ्क्रान्ति मेलाका लागि आम्दानीतर्फ आर्थिक सहयोगस्वरुप १३ लाख छ हजार तीनसय ८७, स्टलहरुबाट आठलाख २६ हजार पाँचसय र विभिन्न प्रतियोगिताबाट दर्ता शुल्क १६ हजार पाँचसय रुपैयाँ आम्दानी भएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी मेलामा कलाकार खर्च चारलाख ९५ हजार, म्याग्दी उद्योग वाणिज्य संघको व्यवसायी हितकोषमा दुईलाख रुपैयाँ सहयोग, प्रतियोगिता पुरस्कार तथा भत्ता एकलाख ७३ हजार सातसय ५०, साउण्ड सिस्टम र जेनेरेटरतर्फ एकलाख ५० हजार र चमेना गृह सञ्चालनमा एकलाख १३ हजार पाँचसय रुपैयाँ खर्च भएको छ ।
मेलाका लागि फ्लेक्स पिन्ट तथा मायाको चिनो छपाई खर्च ९५ हजार आठसय, प्रचारप्रसार खर्च ९० हजार, अतिथि सत्कार ८५ हजार सातसय ५०, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन ८५ हजार पाँचसय, विद्युत खर्च ७५ हजार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीलाई ५० हजार, कला कार्यशालामा ४८ हजार पाँचसय, कृषि उपजहरु प्रदर्शनी कार्यक्रममा ४८ हजार पाँचसय, सरसफाइ तथा ट्याक्टर खर्च ४७ हजार पाँचसय, सचिवालय तथा मसलन्दतर्फ ४६ हजार तीनसय ५०, मञ्च सजावट ४५ हजार र बाद्यवादन व्यवस्थापनतर्फ ४० हजारसहित विभिन्न शीर्षकमा खर्च भएको आयोजकले जनाएका छन् ।
बेनीको खुलामञ्चमा चार दिनसम्म सञ्चालित ११औं संस्करणको माघेसङ्क्रान्ति मेलामा दर्शकहरुलाई यसपालि निःशुल्क प्रवेशको सुविधा उपलब्ध गराइएको थियो । महिला उद्यम विकास समितिले मेलामा भएको सम्पूर्ण खर्च कटाएर पनि केही रकम बचत गर्न सफल भएकाले मेला शान्तिपूर्वक पूर्ण रुपमा सफल भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले मेलालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सबै सरोकारवाला निकायलाई धन्यबाद समेत दिनुभएको छ ।
म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेङ्सक्रान्ति मेलाको निरन्तरता, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला लगाइएको थियो । मेलामा जिल्लाभरबाट कृषिजन्य उपजहरुको प्रदर्शनीसँगै स्थानीय उत्पादन र उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद बिक्री समेत भएको थियो । उक्त मेलामा खुल्ला लोकनृत्य, खाना खाने प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी, बच्चाको टोपी बुन्ने र बाटेको धुप बनाउने प्रतिस्पर्धा, खुल्ला अन्धनिशान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालयस्तरीय खुल्ला पेन्टिङ प्रतियोगिता, छेलो फ्याँक्ने, उद्यमशिलता एवं व्यावसायिक योजना प्रस्तुत लगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दैै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित विगतमा जस्तै यसवर्ष पनि माघेसङ्क्रान्ति मेलाको निरन्तरतास्वरुप ११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजनामा जिल्ला सदरमुकाम बेनीको खुलामञ्चमा सञ्चालित माघेसङ्क्रान्ति मेला–२०८२ को गत शनिवार समापन गरिएको थियो ।
चार दिनसम्म बेनीको खुलामञ्चमा लागेको यसपालिको माघेसङ्क्रान्ति मेलामा म्याग्दीसहित पर्वत, बागलुङ र पोखरालगायत स्थानबाट आएका करिब ५० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको आयोजकको भनाइ छ । मेला अवधिभर खुलामञ्चमा रहेका व्यापारिक स्टल तथा होटल र रेष्टुरेण्टमा गरेर तीन करोड ५० लाख रुपैयाँको कारोबार भएको अनुमान गरिएको छ । मेलाको अवसरमा स्टलबाहेक बाहिर बजारका होटल तथा रेष्टुरेण्ट र पसलहरुमा पनि आर्थिक कारोबार भएको जनाइएको छ ।


