• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

‘मेरो जित सुनिश्चित छ’

आउँदो बिहीबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा नेकपा एमाले म्याग्दीले पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठले बितेका साढे चार दशकमा म्याग्दीको राजनीति, समाजसेवा र विकास निर्माणको काममा आफुलाई समर्पित गर्दै आउनुभएको छ । सबैसँग घुलमिल भएर काम गर्न सक्ने, स्पष्ट वक्ता र इमान्दार व्यक्तित्वका रुपमा उहाँ म्याग्दीको राजनीतिमा स्वच्छ छवि भएका पारदर्शी नेताको रुपमा निकै लोकप्रिय हुनुहुन्छ । नेकपा एमालेको सर्वसम्मत उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनुभएका श्रेष्ठले म्याग्दीमा नेपाली काँग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापा, स्वतन्त्र उम्मेदवार महाविर पुन लगायतसँग चुनावी प्रतिस्पर्धामा भाग लिनुभएको छ । चुनावी आमसभा, घरदैलो अभियान र प्रचारप्रसारमा व्यस्त रहनुभएका उम्मेदवार श्रेष्ठसँग निर्वाचन प्रचारप्रसारको अन्तिम समयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

जिल्लाको सबै वडामा पुगेर निर्वाचनको कार्यक्रम गर्नुभयो, जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले दिएको समय सीमाभित्र रहेर मतदाता भेटघाट सम्पन्न गर्ने कार्यतालिका अनुसार हामीले जिल्लाको सबै वडामा पुगेर कार्यक्रम सम्पन्न गरेका छौं । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीको सबै ठाउँमा पुग्दा नेकपा एमाले र म प्रति आम म्याग्दीवासीहरुको उत्साहजनक समर्थन पाएको छु । मैले सबै वडा र टोल वस्तीमा पुगेर मत मागेर आएको छु । आशा छ सबै जनताले नेकपा एमाले र मलाई मत दिनुहुनेछ । विगतमा जस्तै यसपटक हामीहरु जनताको घरदैलोमा पुगेर आफ्ना प्रतिबद्धता र एजेण्डा सुनाएर भोट मागेका छौं । जनताबाट मैले साथ र समर्थन दुवै पाएको छु, त्यसैले आउँदो निर्वाचनमा मेरो जित सुनिश्चित देख्छु ।

मतदाताहरुले तपाईंलाई के–कस्ता प्रश्नहरु गरेका छन् ?

आम मतदाताहरुले खासगरी विकास निर्माणसँग सम्बन्धित प्रश्नहरु धेरै गर्नुभएको छ । मतदाताहरुसँग कुराकानी गर्ने क्रममा नेकपा एमालेलाई आशा र विश्वासको नजरले हेरिरहेको पाएका छौं । म्याग्दीको विकास र समृद्धिको लागि ठोस पहल गर्न सफल हुनुहोस् भन्ने आशीर्वाद मतदाताहरुले दिनुभएको छ ।

तर, अहिले सामाजिक सञ्जालबाट नयाँ दल र स्वतन्त्र उम्मेदवारले पुरानाले केही गरेनन् भन्ने छ नि ?

हेर्नुस्, सामाजिक सञ्जाल भनेको स्वतन्त्र ढङ्गले आफ्ना विचारहरु राख्ने ‘भर्चुअल प्लेटफर्म’ हो । यसमा व्यक्त भएका विषयहरु पूरै सही वा गलत हुन्छन् भन्ने पनि होइन । जहाँसम्म एमाले वा पुराना पार्टीले केही गरेनन् भन्ने छ त्यस्तो होइन । एमालेले के के ग¥यो भन्ने सबै कुरा यहाँ भनिरहन सम्भव पनि हुँदैन । छोटकरीमा भन्दा म्याग्दीको शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, सिँचाइ लगायतका क्षेत्रको विकासमा नेकपा एमालेले दूरगामी महत्वका साथ कामहरु गरेको छ । यसका साथै म्याग्दीलाई हिमाली जिल्लाको रुपमा सुचीकृत गर्नको लागि पनि हामीले नै पहल ग¥यौँ र त्यो सफल पनि भएको छ । अहिलेलाई यति भनौं, जिल्लाको विकासमा कुन पार्टीले के कति ग¥यो भन्नेबारे म सार्वजनिक रुपमा बहस गर्न तयार छु । म्याग्दीमा विकास निर्माणको जग बसालेको नेकपा एमालेले हो ।

तपाईं र तपाइँको पार्टीलाई म्याग्दीका जनताले भोट किन दिने ?

एकदम राम्रो प्रश्न गर्नुभयो । यसलाई दुइटा कोणबाट हेर्नुपर्छ । पहिलो कुरा, नेकपा (एमाले)लाई देशको सबैभन्दा ठूलो पार्टीको हैसियतमा जनतामा स्थापित गर्न र जनताको जनमत प्राप्त गर्नका लागि नै मेरो उम्मेदवारी हो । हामीले अँगालेको संसदीय व्यवस्थामा सरकार बनाउन संसदमा बहुमत सदस्यहरुको आवश्यकता पर्दछ । जुन दलसँग बहुमत सदस्यहरु हुन्छन् त्यसले मात्र सरकार गठन गर्न सक्छ । २०५१ सालमा गठन भएको मनमोहन अधिकारी नेतृत्वको सरकार होस् वा २०७२, २०७४ र ०८१ मा ओली सरकार, एमालेको नेतृत्वमा गठन भएका सरकारहरुले नै राष्ट्रियताको संरक्षण, आर्थिक समृद्धि र जनजीविकाका सवालहरुमा केन्द्रित भएर काम गरेका छन् । हामी सबैलाई थाहै छ, २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा अरु दलले त्यसलाई नाकाबन्दीसम्म पनि भन्न सकेनन् । तर, ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीको डटेर सामना गरेको थियो । त्यसैगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सालाई संविधानमा समेट्दा होस् वा चीनसँग पारवहन सन्धी र सम्झौता गरेर, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै अब नेपालविरुद्ध कहिल्यै नाकाबन्दी नहुने गरी नयाँ परिस्थिति सिर्जना गरेको छ । यसरी हेर्दा २०५१ सालदेखि २०८१ सालको बीचमा गठन भएका नेकपा एमालेको नेतृत्वका सरकारहरुले नै देश र जनताको पक्षमा दूरगामी महत्वका कामहरु गरेका छन् । हिँजो ओली सरकारले सुरु गरेका विकास निर्माणका कामलाई अझै रफ्तारमा अघि बढाउन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्न अब पनि एमालेकै नेतृत्वमा सरकार गठन हुनु अहिलेको आवश्यकता हो । त्यसका लागि म्याग्दीबाट हुने प्रतिनिधित्वले सहयोग गर्ने हुँदा मेरो उम्मेदवारीको विशेष महत्व छ । अर्को कुरा, विगत ४० वर्षमा म्याग्दीको विकासका लागि मैले जे जति काम गर्दै आएको छु, त्यसको मूल्याङ्कन गरेर पनि जनताले मलाई जिताउनुहुन्छ भन्ने विश्वास लिएको छु । खाइपाई आएको सरकारी जागिर छाडेर समाजसेवामा लागेको र जनताको सुखदुःखमा भिजेको हुनाले पनि मतदाताले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ भन्ने लागेको छ ।

म्याग्दीको विकासका लागि तपाईंका एजेन्डाहरु के–के रहेका छन् ? 

म्याग्दीलाई राष्ट्रिय राजनीतिको पहुँचमा पु¥याउने र जिल्लामा अहिलेको अवस्थालाई बदल्दै लैजाने हाम्रो प्रमुख एजेन्डा हो । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, जलविद्युत, खेलकुद, उद्योगधन्दा एवं सडक पूर्वाधार आदिको अभावमा म्याग्दी जिल्ला लामो समयसम्म पछाडि प¥यो । २०४६ सालपछि, अझ विशेष गरी २०५१ सालको नेकपा एमालेको ९ महिने सरकारले लागू गरेको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रमपछि मात्रै नेपालमा विकास बजेट विकेन्द्रित हुन थालेको हो । नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वकोे सरकारले सुरु गरेको ‘आफ्नो गाउँ आफै बनाऔं’, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा आदि नौ ‘स’ र सामाजिक सुरक्षाका कार्यक्रमहरूबाट देशव्यापी रुपमा विकासको लहर सुरु भयो । यसको प्रभावबाट म्याग्दीमा पनि विकास निर्माणले गति लिन थालेको हो । म्याग्दी जिल्लाको अहिलेको आवश्यकता भनेको योजनाबद्ध विकासको ठोस प्रक्रिया थाल्नु र जिल्लालाई अरु छिमेकी जिल्लासरह विकासको प्रक्रियामा अगाडि बढाउनु हो । यिनै एजेन्डालाई समेटेर हामीले जनतासमक्ष प्रतिबद्धतापत्र सार्वजनिक गरेका छौं । त्यसमा म्याग्दी जिल्लाको विकासका लागि नेकपा (एमाले)को स्पष्ट दृष्टिकोण समेटिएको छ । प्रतिबद्धतापत्रमा हामीले उल्लेख गरेका विषयहरुको कार्यान्वयन नै हाम्रो मुख्य एजेन्डाहरु हुन् । वास्तवमा हामी धेरै ठूल्ठूला कुरा गर्नेभन्दा पनि योजनाबद्ध, व्यवस्थित र दूरगामी महत्वका स–साना कामहरु गर्दै अघि बढ्न चाहन्छौं । स–साना कामबाट सुरु गरेर आम म्याग्दीवासीको हकहितमा योगदान गर्नु हाम्रो मूल उद्देश्य हो । म्याग्दीको सामाजिक आर्थिक क्षेत्रको विकास गरी अन्य जिल्लाको दाँजोमा पु¥याउनको लागि जिल्लावासीको माग, सल्लाह र सुझावबाटै हाम्रो विकासको यात्रा अघि बढ्नेछ ।

अहिलेको निर्वाचनमा महाविर पुन पनि म्याग्दीको उम्मेदवार हुनुहुन्छ, धेरैको महाविर पुनले जित्ने कुरा सुनिन्छ त ?

हो, महाविर पुन पनि स्वतन्त्र ढङ्गले निर्वाचनमा उम्मेदवार बनेर आउनुभएको छ, म उहाँलाई सम्मान गर्न चाहन्छु । तर उहाँ गएको भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्नभुएको थियो । अन्तरिम सरकारको मुख्य काम भनेको निर्वाचनसम्पन्न गरेर नयाँलाई सत्ता हस्तान्तरण गर्नु हो, तर उहाँ एकाएक राजिनामा दिएर म्याग्दीमा निर्वाचन लड्न आउनुभयो । महाविर पुनका लागि राजनीति क्षेत्र भन्दा पनि जुन उहाँले गर्दै आइरहेको समाजसेवा छ, त्यो नै उहाँका लागि सबैभन्दा राम्रो क्षेत्र हो । त्यसैले पनि उहाँ राजिनामा दिएर निर्वाचनमा उम्मेदवार बन्न आउनुभन्दा आफ्नो क्षेत्रमा लाग्दा ठिक थियो । अब निर्वाचनमा आइसकेपछि हामी एकअर्कामा प्रतिस्पर्धी बनेका छौं । निर्वाचन त सबैले जित्ने भनेरै नै लाग्ने हो, त्यसैले यदि उहाँले निर्वाचन जितेहाले पनि उहाँ स्वतन्त्र व्यक्तिले के गर्न सक्ने हो र यो दलीय व्यवस्थामा । स्वतन्त्रबाट निर्वाचन जितेर गएकाहरुको अवस्था पनि विगतमा हामी सबैले देखेकै छौं ।

निर्वाचन जित्ने तपाईंहरुको अङ्कगणित के हो ?

कारणहरु मैले यसअघि नै बताएँ । अङ्कगणितकै कुरा गर्ने हो भने म्याग्दीमा यसअघि भएको निर्वाचनमा अरु दलभन्दा नेकपा एमाले अगाडि छ । चुनावको आँकडाकै कुरा गर्ने हो भने पनि हामी ०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक मतमा म्याग्दीमा नेकपा एमालेले १८ हजार २ सय ७३ मत ल्याएको थियो भने म आफैले पनि पार्टीले भन्दा १९ सय बढी अर्थात् २० हजार १ सय ८९ मत ल्याएको थिएँ । त्यतिबेला नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीलगायत पाँचदलीय गठबन्धन बनेको थियो । तर अहिले हामी सबै दल एक्लाएक्लै निर्वाचन लडेका छौं । अर्को कुरा २०४८ सालदेखि यता भएका सबै निर्वाचनहरुमा हामी हार्दा पनि एकदमै झिनो मतान्तर रहेको छ । उम्मेदवारकै कुरा गर्नुहुन्छ भने पनि म ४७ वर्षदेखि जिल्लाको राजनीतिमा सक्रिय छु । साढे चार दशकदेखि जनताको सुखदुखमा भिजेको व्यक्ति र अन्य उम्मेदवारमध्ये कसलाई भोट दिने भन्नेबारे मतदाताले राम्रो विवेक प्रयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास हो । त्यसकारण उम्मेदवारको रुपमा म र मेरो पार्टीले धैरै महत्व दिएको पनि छैन । कुन उम्मेदवार कस्तो हो र कसलाई मत दिनुपर्छ भन्ने म्याग्दीका मतदाताले बडो महत्वका साथ हेरेका छन् ।

अन्त्यमा, भन्नुपर्ने बाँकी केही छ ?

म हिँजो पनि जनताको बीचमा थिएँ, भोलि पनि जनताको सुखदुःखमा साथमै हुनेछु । निर्वाचनले जस्तो परिणाम दिए पनि मैले म्याग्दी छाड्ने कुरा कल्पना बाहिरको कुरा हुनेछ । नेकपा एमालेको कार्यकर्ता भएको नाताले म जनताको बीचमा जाने कुरालाई स्वभाविक प्रक्रिया ठानेको छु । पञ्चायती शासन व्यवस्थाका विरुद्ध टोल वस्तीस्तरमै पुगेर सङ्गठन निर्माण गरेको अनुभव मसँग छ । सशस्त्र द्वन्द्वको समयमा जनप्रतिनिधि भएर जनताको पक्षमा काम गरेको सबैलाई थाहै छ । त्यसैले पनि जनताको बहुदलीय जनवादको मार्गदर्शन अनुसार यहाँसम्म आइपुगेकाले जनता जनार्दन हुन्, उनीहरुलाई रिझाउनुपर्छ । उनीहरुको माग र चाहनाअनुसार काम गर्नुपर्छ । जनताको आदेश र आशीर्वादले मात्रै राजनैतिक जिम्मेवारीहरु प्राप्त गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । बाँकी निर्णय गर्ने जिम्मा आम मतदाताहरुको हो ।