• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेकपा एमाले म्याग्दीबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठले महावीर पुनलाई बधाई दिनुभएको छ । शनिवार बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पुन प्रतिनिधि सभामा विजयी भएपछि एमाले केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेदवार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई र शुभकामना दिनुभएको हो ।

उम्मेदवार श्रेष्ठले आफ्नो फेसबुक वालमा महावीर पुनलाई लक्षित गरेर बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘म्याग्दी जिल्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएका महावीर पुनज्यूलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्दछु ।’ प्रतिनिधि सभाको निर्वाचनमा विजयी पुनसँग एमाले उम्मेदवार श्रेष्ठ पराजित हुनुभएको थियो ।

यसैगरी नेता श्रेष्ठले फेसबुक वालमार्फत नै पार्टीका नेता, कार्यकर्ता र आफूलाई निर्वाचनमा अमूल्य मत दिने मतदाताहरुलाई हार्दिक आभारसहित धन्यवाद दिनुभएको छ । उहाँले आफूलाई दोस्रोपटक निर्वाचनको लागि टिकट दिने पार्टी तथा नेतागण, निर्वाचनमा खटिएका पार्टीका नेता, कार्यकर्ता, आफन्तजन, समर्थकलगायत मतदाताहरुलाई धन्यवाद दिनुभयो । साथै उहाँले निर्वाचनबाट आएको परिणामलाई स्वीकार गर्दै, कमीकमजोरीहरु सच्याएर आगामी दिनमा जिल्लाको समृद्धि, विकास–निर्माण र जनसेवामा लागिरहने बताउनुभयो ।

फेसबुकमा उम्मेदवार श्रेष्ठले हार्दिक आभार तथा धन्यवाद दिँदै यस्तो लेख्नुभएको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को निर्वाचनमा मलाई दोस्रोपटक टिकट दिने श्रद्धय नेतागण, निर्वाचनमा दिनरात नभनी अहोरात्र खट्ने जिल्लाका प्रिय नेता तथा कार्यकर्ता कमरेडहरु, परिवार, आफन्तजन र आफ्नो अमूल्य मत प्रदान गर्ने श्रद्धय मतदाताहरु सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

निर्वाचनमा अपेक्षित परिणाम नआए पनि जनताले अभिव्यक्त गरेको मतलाई स्वीकार गर्दछु । निर्वाचनमा मेरो तर्फबाट भएका कमी कमजोरीप्रति क्षमाप्रार्थी छु । यो निर्वाचनमा भएको हारले मेरो मनोवल गिरेको छैन र पार्टीप्रतिको मेरो निष्ठा तथा जिम्मेवारीबाट पछि हट्ने छैन । साथै जिल्लाको समृद्धि, विकास र जनसेवाको लागि सबैसँग सहकार्य हुने विश्वास पनि व्यक्त गर्दछु ।’

नेता श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामबारे फेसबुकमार्फत दिएको बधाई तथा शुभकामना र हार्दिक आभारमा समर्थक, शुभेच्छुक, शुभचिन्तकलगायत मतदाताहरुले सुहानुभूति प्रकट गर्नुका साथै बधाई ज्ञापन गरेका छन् ।