• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

हिमाली जिल्ला म्याग्दीमा समानुपातिकतर्फको मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । गएको बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत म्याग्दीमा समानुपातिकतर्फको मतगणनाको अन्तिम मतपरिणाम अनुसार रास्वपाले पहिलो स्थान हासिल गरेको हो ।

जिल्लामा समानुपातिकतर्फ खसेको कुल मतमध्ये १९ हजार ९ सय ५७ मत प्राप्त गरी रास्वपा पहिलो दल भएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी नेकपा एमाले ९ हजार ४ सय ५७ मतसहित दोस्रो, नेपाली कांंग्रेसले ७ हजार ५ सय ९४ मतसहित तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ४ हजार १ सय ६२ मत प्राप्त गरी चौथो भएको उहाँले बताउनुभयो ।

यसैगरी समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले १ हजार ७ सय १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले ७ सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले १ सय ७७ मत पाएका छन् । जिल्लामा जम्मा मतदाता ८८ हजार २ सय ९८ जना रहेकोमा समानुपातिकतर्फ ४७ हजार ६ सय १६ मत खसेकोमा १ हजार ७ सय १० मत बदर तथा ४५ हजार ९ सय ६ मत सदर भएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । समानुपातिकतर्फको मतगणनामा जिल्लाका सबै पालिकाहरुमा रास्वपाले अग्रता लिएको थियो ।

पुराना राजनीतिक दलहरुले प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ पनि राम्रो मत पाउन सकेनन् । यसपटक दलको कोर एरिया भनिएका वडाहरुमै प्रत्यक्षमा स्वतन्त्र र सामानुपातिकमा रास्वपाले लोकप्रिय मत प्राप्त गर्न सफल भएका छन् । प्रत्यक्षतर्फ २२ हजार ८ सय ५० मतसहित स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ । रास्वपाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेको भए पनि प्रत्यक्षतर्फ चुनाव चिह्न रहेकाले मत खसेको थियो । समानुपातिकको मतगणना सकिएसँगै जिल्लामा निर्वाचनसँग सम्बन्धित सबै कामले पूर्णता पाएको छ ।

दुवैतर्फको मतगणना सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृत थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सहयोग गर्ने जिल्लास्थित राजनीतिक दल, उम्मेदवारहरु, सुरक्षा निकाय, आम मतदाता, पत्रकार, नागरिक समाजलगायत जिल्लावासीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट धन्यवादज्ञापन गरिएको छ ।