२५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका ७८ वर्षीय कृष्णबहादुर गुरुङले सामूहिक जिम्मेवारीमा पर्ने रकम आफ्नो पेन्सन रकमबाट तिर्न तयार रहेको बयान दिएका छन् ।
आफ्नो शेयर रकम पनि निकालेर बेलायत गएको, सञ्चालक समिति सदस्य रहेकोसमेत पक्राउ परेपछि मात्र जानकारी पाएको भन्दै उनले १/२ लाख रुपैयाँ तिर्न तयार रहेको बयान दिएका हुन् ।
कास्की जिल्ला अदालतमा दायर भएको पुरक अभियोजनको आधारमा बेलायत उड्न लाग्दैगर्दा २० मंसिरमा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
सहकारीको २७ भदौ ०६५ मा बसेको पहिलो वार्षिक साधारण सभाबाट १७ मंसिरसम्म सञ्चालक समिति सदस्य निर्वाचित भएकोबारे पनि आफूलाई पक्राउ परेपछि मात्रै जानकारी पाएको उनले बयानका क्रममा भनेका छन् ।
२५ हजार रुपैयाँ हालेको शेयर पनि सन् २०१३ मा नेपाल फर्किएपछि सहकारीको रकम हिनामिना भएको जानकारी पाएपछि फिर्ता गरेको र त्यसपछि कहिल्यै सहकारीमा नफर्किएको गुरुङले बयानमा भनेका छन् ।
ज्ञानबहादुर बम्जन संस्थापक अध्यक्ष रहेर उनकै छोरी मीनाकुमारी गुरुङ उपाध्यक्ष र कृष्णबहादुर सञ्चालक समिति रहेका बखत ५३ लाख ७६ हजार ३०८ रुपैयाँ लगानी भएको रकम अहिलेसम्म पनि नउठेको भन्दै उनीहरूसहित ११ जनालाई सामूहिक बिगो दाबी गरिएको छ ।
बेलायती गोर्खा सैनिकबाट अवकाशप्राप्त पोखरा–११ रानीपौवाका कृष्णबहादुरले आफू सहकारीको अपचलनमा संलग्न नरहेको बताएका छन् ।
‘मलाई ५३ लाख ७६ हजार ३ सय ८ रुपैयाँ २२ पैसाको बारेमा केही पनि जानकारी छैन । मैले कुनै पनि सहकारीको रकम अपचलन गरेको छैन । तर सामूहिक जिम्मेवारीको हिसाबले मेरो पेन्सनबाट आउने रकमबाट एक दुई लाख सहयोग गर्ने हो भने त्यसको लागी तयार छु,’ कृष्णबहादुरले बयानमा भनेका छन्, ‘तर मैले सहकारी संस्थाका बचतकर्ताहरूको कुनै पनि रकम हिनामिना तथा ठगी गरेको छैन ।’
कृष्णबहादुरलाई मुटुको समस्या भएका कारण पोखराको फिस्टेल अस्पतालमा उपचारका लागि राखेर त्यहीँबाट बयानका लागि अदालत लगिएको थियो । मुटुको चालको समस्या भएका कारण शरीरमा पेसमेकर राखिएको र नियमित उपचारको प्रबन्ध मिलाउन पनि उनले अनुरोध गरेका छन् ।


